काठमाडौँ,१४ माघ । माघ १८ गतेदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनका लागि समय तालिका तयार भएको छ। सोमबार सभामुख देवराज घिमिरेले प्रमुख पाँच राष्ट्रिय दलका सचेतकहरूसँग सिंहदरबारमा छलफल गरी माघ महिनाभरि संसद्को कार्यतालिका बनाउन दलहरू सहमत भएका हुन्।
सभामुखको पहलमा तय भएको तालिकाअनुसार अधिवेशनको पहिलो दिन राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। पहिलो बैठकमै सरकारको तर्फबाट ल्याइएका अध्यादेशहरू पेस हुने र ती अध्यादेश २२ गते निर्णयार्थ प्रस्तुत गरिनेछ।
माघ २३ र २४ गते संसद् बैठक बस्नेछ भने २५ देखि २७ गतेसम्म संसदीय समितिको बैठक बस्ने व्यवस्था मिलाइएको छ। त्यसपछि २८, २९, र ३० गते संसद् बैठक चल्नेछ। बैठकमा शून्य समय र विशेष समय पनि समावेश गरिने एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका छन्।
यस हिउँदे अधिवेशनले विभिन्न महत्त्वपूर्ण विधेयकहरू पारित गर्ने अपेक्षा राखिएको छ।


