काठमाडौं,१४ माघ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज र भोलि तेह्रथुम जिल्लाको भ्रमणमा रहेका छन्। सैनिक हेलिकप्टरमार्फत उनीसँगै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ पनि सहभागी हुनेछन्।
प्रचण्डले आज लालीगुराँस नगरपालिका–७ स्थित शहीद धनरुपा पार्कको उद्घाटन गर्नेछन्। त्यसपछि उनी प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीको जन्मथलो आठराई जानेछन्।
आठराई गाउँपालिका–३ ह्वाकु बगालेमा शहीद स्मृति पार्क र जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। उक्त स्थानमा २०५८ साल माघ २४ गते सुरक्षाकर्मीको गोली प्रहारबाट १८ माओवादी लडाकु र ३ सर्वसाधारण मारिएका थिए।
प्रचण्डले आठराई–२ मा रहेको पर्यटकीय झाँक्री गुफा पार्कको अवलोकन र आठराई–६ चुहानडाँडामा बास बस्ने कार्यक्रम छ। मङ्गलवार बिहान स्थानीय पार्टी कार्यकर्ता, स्थानीय जनता, र माओवादी नेता स्वर्गीय भक्तराज कन्दङवाका परिवारसँग भेटघाट गरी कन्दङवाको सालिक अनावरण गर्नेछन्।
तेह्रथुम बहुमुखी क्याम्पसमा हुने जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गरेपछि प्रचण्ड काठमाडौं फर्कनेछन्।
तेह्रथुमसँग प्रचण्डको पुरानो सम्बन्ध पनि छ। पञ्चायतकालमा उनी चुहानडाँडास्थित शारदा माध्यमिक विद्यालयमा शिक्षकका रूपमा नियुक्त भए पनि विद्यालय विकट स्थानमा रहेको थाहा पाएपछि काममा नजाने निर्णय गरेका थिए।


