काठमाडौं,२ माघ ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि अदालत परिसरमै भएको हातपात घटनाप्रति एमाले नेता महेश बस्नेतले गम्भीर आपत्ति जनाएका छन्। सहकारी पीडितको पक्षमा वकालत गरेकै कारण त्रिपाठीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले कुटपिट गरेको दाबी गर्दै बस्नेतले यस घटनाको निन्दा गरेका हुन्।
बस्नेतले यो घटनालाई लोकतन्त्र, कानुनी शासन, र स्वतन्त्र न्यायपालिकामाथिको हस्तक्षेपका रूपमा व्याख्या गर्दै संलग्नमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन्। उनले आफ्नो फेसबुकमा लेखेका छन्, “रवि लामिछानेको सहकारी ठगी मुद्दाविरुद्ध पीडितको पक्षमा वकालत गरेको बहानामा अधिवक्ता त्रिपाठीमाथि अदालत परिसरमै गरिएको आक्रमण निन्दनीय छ। यो लोकतन्त्र र कानुनी शासनमाथिको गम्भीर प्रश्न हो।”
के भएको थियो?
काठमाडौँ जिल्ला अदालत परिसरमा स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा बहस सकेर बाहिर निस्कने क्रममा त्रिपाठीमाथि हातपात भएको थियो। पीडित जाहेरकर्ताका तर्फबाट बहस गरेका त्रिपाठीले रास्वपाका कार्यकर्ताले उनलाई अश्लील गालीगलौज गर्दै आक्रमण गरेको बताएका छन्।
बस्नेतको माग
बस्नेतले यो घटना कानुनी प्रक्रिया र लोकतान्त्रिक मूल्यविपरीत भएको भन्दै सरकारलाई छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न आग्रह गरेका छन्। उनका अनुसार यो घटना स्वच्छ न्याय प्रणालीलाई कमजोर बनाउन खोज्ने प्रयासको हिस्सा हो।
यो घटनाले कानुनी क्षेत्रको सुरक्षामाथि थप प्रश्न उठाएको छ भने लोकतन्त्र र स्वतन्त्र न्यायपालिकाको संरक्षणमा सरकारको भूमिकाबारे चासो बढाएको छ।