काठमाडौँ,२ माघ। प्रतिपक्षी दलहरूले सरकारलाई स्वेच्छाचारी ढंगले अघि बढेको आरोप लगाएका छन्। माओवादी केन्द्रको आह्वानमा बुधबार सिंहदरबारमा बसेको बैठकले संसदलाई छलेर अध्यादेश ल्याउने सरकारको कदमको विरोध गरेको हो।
माओवादी उपमहासचिव बर्षमान पुनका अनुसार, बैठकमा सरकारको गलत रवैयाबिरुद्ध चासो र चिन्ता व्यक्त गरिएको थियो। बैठकले संघीय संसदको नियमित बैठक बोलाउन माग समेत गरेको छ। यदि सरकार संसद बैठक बोलाउन आलटाल गरेको खण्डमा विशेष अधिवेशन बोलाउन तयारी गर्ने निर्णय गरिएको पुनले बताए।
प्रतिपक्षी दलले सरकारको दुई तिहाई बलको प्रयोग र साना दलको आवाज कमजोर पार्ने प्रयासको विरोध गरेको छ। बैठकले देशलाई दुईदलीय व्यवस्था तर्फ लैजाने प्रयास बेठिक भएको निष्कर्ष निकालेको पुनले जानकारी दिए।
साझा धारणा बनाउन अनौपचारिक ड्राफ्ट कमिटी समेत बनाइएको छ। ६ प्रतिपक्षी दलका नेताहरूको उपस्थिति रहेको बैठकमा अन्य दलहरूको पनि सकारात्मक समर्थन रहेको जानकारी प्राप्त भएको छ।


