काठमाडौँ, मङ्सिर १८ । बुढानिलकण्ठ–६, गणेशचोकमा रहेको होटल सब्रिना लिमिटेडले सर्वसाधारणका लागि आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) जारी गर्ने तयारी गरेको छ। सोमबार बसेको छैटौं साधारण सभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गरेको अध्यक्ष निराजन थापाले जानकारी दिए।
१५ करोड रुपैयाँ बराबरको सेयर जारी
कम्पनीको ९० करोड रुपैयाँ अधिकृत पुँजी, ५३ करोड रुपैयाँ जारी पुँजी, र ३५ करोड ६५ लाख रुपैयाँ चुक्तापुँजी रहेको छ। सर्वसाधारणका लागि न्यूनतम १५ लाख कित्ताको १५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गरिनेछ।
स्तरोन्नति र कर्जाचुक्ताका लागि आईपीओ
होटल सब्रिनाले आफ्नो सेवा पाँचतारे स्तरमा स्तरोन्नति गर्न र कर्जाको दायित्व चुक्ता गर्न आईपीओ आवश्यक रहेको जनाएको छ। हाल ६० कोठासहित अपार्टमेन्ट सेवा दिइरहेको होटलले कोठा थप गर्दै सेवा विस्तार गर्ने योजना बनाएको छ।
बिक्री प्रबन्धक एनएमबी क्यापिटल
आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउन होटलले एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ। अबको केही दिनभित्रै धितोपत्र बोर्डमा आवेदन दिइने अध्यक्ष थापाले बताए।
उत्कृष्टताको पहिचान
तीन वर्षको सञ्चालनमै होटल सब्रिनाले २०२१ मा होटेल क्रिटिक एण्ड ब्लगर्स एशोसिएसन तथा होटेल डट कमबाट नेपालको सर्वोत्कृष्ट होटलको उपाधि प्राप्त गरेको थियो। हाल होटलको व्यवस्थापन “रिजेन्टा प्लेस” ब्राण्डमार्फत रोयल अर्किड होटलले गर्दै आएको छ।
होटल सब्रिनाको आईपीओ निष्कासनले लगानीकर्ताहरूका लागि नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।