रौतहट, ७ मङ्सिर । सर्वसाधारणलाई जुत्ताको माला लगाएर घुमाएको आरोपमा गढीमाई नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हरिश्चन्द्र सहनी सहित चार जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। घटना इलाका प्रहरी कार्यालय गरुडामा उजुरी परेपछि दर्ता गरिएको हो।
घटनाको विवरण अनुसार, गरूडा नगरपालिका ३ मलाही बस्ने परिक्षण सहनीले आफ्नो १८ वर्षीय छोरालाई मोटरसाइकलमा घर लैजाँदै गर्दा गढीमाई नगरपालिका वडा नम्बर ९ बस्ने वडा अध्यक्ष सहनी सहित सोनेलाल सहनी, सनम सहनी, र शैलेन्द्र सहनीले मोटरसाइकल रोकी अपमानजनक व्यवहार गरेका थिए।
मंगलबार चाँदीपुल नजिक उनीहरूले परिक्षण सहनी र उनका छोराको घाँटीमा जुत्ताको माला लगाई सार्वजनिक रूपमा अपमानजनक तथा अमानवीय व्यवहार गरेको प्रहरी प्रमुख डिएसपी राजन कार्कीले बताए।
घटनामा संलग्न वडा अध्यक्ष हरिश्चन्द्र सहनी हाल फरार छन् भने अन्य तीन जनालाई सोही दिन पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान अघि बढाएको छ। रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अपमानजनक तथा अमानवीय व्यवहार सम्बन्धी कसूरमा मुद्दा दायर गरिएको प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए।
पक्राउ परेका तीनैजना इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा छन् भने फरार रहेका वडा अध्यक्षको खोजी र थप अनुसन्धान जारी छ।