काठमाडौँ, ७ मङ्सिर ।हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने भारतको उत्तर प्रदेशमा रहेको कमजोर निम्न चापीय प्रणालीको प्रभावले नेपालमा पनि मौसममा परिवर्तन ल्याएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले (शुक्रबार बिहान) कोसी, बागमती, र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली देखिएको छ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी क्षेत्रमा मौसम सफा रहने अनुमान गरिएको छ। साथै, कोसी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका पहाडी भागहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
शनिबार र आइतबार पनि यस्तै मौसम रहने अपेक्षा छ। महाशाखाले पहाडी र हिमाली क्षेत्रहरूमा सम्भावित हल्का वर्षा र हिमपातका कारण कृषि, स्वास्थ्य, पर्यटन, र यातायातमा सतर्कता अपनाउन सुझाव दिएको छ।