रास्वपाको प्रधानमन्त्रीप्रति असन्तुष्टि, दोस्रो चरणको आन्दोलनको घोषणा

Categories:

-

काठमाडौँ,२ मङ्सिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीप्रति खिसिटिउरी गरेको गुनासो गर्दै, आफ्ना सभापति रवि लामिछानेको गिरफ्तारीको विषयलाई लिएर नयाँ आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। रास्वपाका सहायक प्रवक्ता मनिष झाका अनुसार, पार्टीले लामिछानेको मुद्दामा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन पाँच मिनेटको समय मागे पनि, प्रधानमन्त्रीले समय नदिई उल्टै खिसिटिउरी गरेको आरोप लगाएका छन्।

आइतबार आयोजित पत्रकार सम्मेलनमा झाले भने, “हामीले पाँच मिनेट समय लिएर पार्टीका मागहरू प्रस्तुत गर्न चाह्यौं, तर प्रधानमन्त्रीले समय दिनुभएन। बरु, विभिन्न सार्वजनिक कार्यक्रममा गएर हामीलाई खिसिटिउरी गर्नुभयो।” प्रधानमन्त्रीको अस्वीकारपछि रास्वपाले आन्दोलनको कार्यक्रम पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।

कान्तिपुरले आयोजना गरेको कार्यक्रममा, प्रधानमन्त्री ओलीले लामिछानेको पत्रकारिताको सुरुवातको प्रसंग उठाउँदै, उनलाई एनटिभीमा कार्यक्रम चलाउन दिएको र पछि उनको अभिव्यक्तिलाई व्यंग्य गरेका थिए। यसले रास्वपामा थप असन्तुष्टि बढाएको छ।

रास्वपाले मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। यो आन्दोलनले सभापति लामिछानेलाई हिरासत बाहिर राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन माग गरेको छ। साथै, रास्वपाले विगत दुई दशकका उच्च ओहोदाका भ्रष्टाचारीहरूको न्यायिक छानबिनका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न माग गरेको छ।

प्रवक्ता झाले कानूनी संरचना सुधारको आवश्यकता औंल्याउँदै भने, “हामीले रवि लामिछानेलाई हिरासत बाहिर राखेर अनुसन्धान गर्न जोडदार माग गरेका छौं। भविष्यमा कानूनी प्रावधानको दुरुपयोग गरेर कुनै पनि नागरिकलाई प्रतिशोधको शिकार बनाउन नदिन, कानूनी तथा संरचनागत प्रणालीमा सुधारको माग गर्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छौं।”

रास्वपाले यस आन्दोलनलाई सरकारप्रतिको जनदबाबको रुपमा लिँदै, न्यायपूर्ण छानबिन र कानूनी सुधारको मागलाई प्राथमिकता दिने योजना बनाएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य