काठमाडौ,३१ भदौ । नेकपा (एमाले) बूढानीलकण्ठ नगर कमिटीको आव्हानमा भाद्र २६ देखि २९ गतेसम्म बूढानीलकण्ठ नगरपालिकाका १ देखि १३ वटै वडाका विभिन्न चोकचोकमा नागरिकको मौलिक हकको रक्षा गर्न जनस्तरबाट हस्ताक्षर संकलन अभियान सम्पन्न भएको छ। यो अभियान काठमाडौं उपत्यकाका नदी, खोला, र नालाको किनाराबाट थप २०/२० मिटर छोड्न सर्वोच्च अदालतले गरेको निर्णयको पुनरावलोकनका लागि आयोजित थियो।
अभियानमा नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो, जसले आफ्नो सम्पत्तिमाथि भएको असरप्रति गहिरो चिन्ता व्यक्त गर्दै हस्ताक्षर गरेका थिए। स्थानीय वडाका पार्टी कमिटीहरूले सक्रियतापूर्वक सहभागिता जनाउँदै हस्ताक्षर संकलन गरेका थिए।
हस्ताक्षर संकलन पश्चात् भाद्र ३० गते नगर प्रमुख, उपप्रमुख, र प्रशासकीय प्रमुखलाई हस्ताक्षर एकमुष्ट रूपमा बुझाइएको छ। यो हस्ताक्षर बुझाउने कार्यक्रम बूढानीलकण्ठ नगरपालिकाको कार्यालयमा सम्पन्न भयो, जसमा नेकपा (एमाले) बूढानीलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदिप डंगोलसहित अन्य पार्टीका नेताहरू, स्थानीय प्रतिनिधिहरू, र नागरिकहरूको उपस्थिति रहेको थियो।
अध्यक्ष प्रदिप डंगोलले हस्ताक्षर बुझाउने क्रममा सर्वोच्च अदालतको निर्णयले नागरिकको मौलिक हकमा असर पारेको र त्यसको पुनरावलोकन गरी नागरिकको सम्पत्तिको सुरक्षाका लागि आवश्यक कदम चाल्नुपर्ने माग गरे।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै डंगोलले नागरिकको आवाजलाई सशक्त रूपमा प्रतिनिधित्व गरेको बताए। “हामीले जनताको हकको लागि लडिरहनेछौं, र हाम्रो अभियान न्यायका लागि जारी रहनेछ,” उनले भने।



