काठमाडौ,३० भदौ ।नेकपा (एमाले) बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ कमिटीले काठमाडौं उपत्यकाका नदी तथा खोलानालाको किनाराबाट २०/२० मिटर क्षेत्र खाली गर्न सर्वोच्च अदालतले गरेको निर्णयको विरुद्ध हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको छ। पार्टीले यो निर्णयले नागरिकको सम्पतिमाथि आघात पुर्याएको दाबी गर्दै जनस्तरबाट हस्ताक्षर संकलन गरेको हो।
वडा कमिटीका अध्यक्ष शङ्कर भट्टराईका अनुसार हालसम्म करिब ४०० जना प्रभावित नागरिकहरूले हस्ताक्षर गरेका छन्। यसमध्ये चखुन्चा क्षेत्रबाट १०० घरधुरी र यज्ञमती खोला किनाराका ४०० घरधुरी प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। यस क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो सम्पत्तिमाथि कानुनी अधिकार गुम्ने डरले यो अभियानमा उत्साहपूर्वक सहभागिता जनाएका छन्।
एमाले नगरकमिटीका सदस्य विष्णु भट्टराईले बताएअनुसार एमालेले एक हप्तासम्म खोला पीडितहरूसँग प्रत्यक्ष सम्पर्कमा रहेर हस्ताक्षर संकलन गरेको थियो। उनका अनुसार सर्वोच्च अदालतको निर्णयले नागरिकहरूको मौलिक हकमा प्रतिकूल असर पर्ने भएकाले यसको पुनरावलोकनको माग गरिएको छ। “नागरिकको सम्पत्तिमाथि यस्तो हस्तक्षेप जनताको मौलिक हकको उल्लङ्घन हो,” उनले भने।
सङ्कलित हस्ताक्षर र अन्य आवश्यक कागजातहरू नगरपालिकामा नगर प्रमुख, उपप्रमुख, र प्रशासकीय प्रमुखलाई एकमुष्ट बुझाउने कार्यक्रम तय गरिएको छ।