काठमाडौँ,२५ वैशाख । नेकपा एकीकृत समाजवादी पार्टीले वैशाख २८ गतेबाट सुरु हुने वर्षे अधिवेशनमा पार्टीका सांसदहरूले प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।
सोमबार बसेको सो पार्टीको संसदीय दलको बैठकले बजेट अधिवेशनमा पार्टीको भूमिका संसद्मा प्रभावकारी बनाउने निर्णय गरेको सांसद शेरबहादुर कुँवरले बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा जानकारी दिनुभयो।
‘अधिवेशनमा संसदीय भूमिका प्रभावकारी बनाउने र सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटका बारेमा सरकारलाई रचनात्मक सुझाव दिने निर्णय गरेको छ’, कुँवरले भन्नुभयो ।
साथै बैठकले संसद् बैठकमा जनसरोकारका विषय सशक्त ढङ्गले उठान गर्दै कानुन निर्माण प्रक्रियामा सशक्त भूमिका निर्वाह गर्ने बैठकले निर्णय गरेको छ।
त्यस्तै एकीकृत समाजवादीले जसपा विभाजनपछि पार्टी फुटको हल्ला निराधार रहेको र सबै सांसदहरू कतै नगएको भन्दै पार्टी एक ढिक्का भएको ठहर गरेको छ।