चौतारीको दार्चुला बैठकमा कोरम पुगेन

‘समाजवादी चौतारी’ माथि अर्कै व्यवहार

Categories:

-

धनगढी, १४ असोज । ठूलै होहल्लाको बीचमा प्रेस चौतारीले दार्चुलामा केन्द्रीय कमिटीको बैठक गरेको छ, तर कोरम नपुगेर समस्यामा परेको उक्त संगठनका केन्द्रीय नेताहरुले बताएका छन् ।

सांकेतिक रुपमा दार्चुलामा बैठक बस्नु राम्रो कुरा भए पनि प्राविधिक र आर्थिक रुपमा कष्टकर हुने भन्दै बैठकअघि काठमाडौंमा बसेको सचिवालय बैठकमा चर्काचर्की भएको थियो । सुदूरपश्चिम प्रदेशकी इञ्चार्ज लोग्शरी कुँवरले यदि दार्चुला बैठकबारे निर्णय नभए सुदूरपश्चिमले चौतारीका सम्पूर्ण गतिविधि वहिष्कार गर्ने चेतावनी दिएकी थिइन् । उनको यस्तो चेतावनी सुनेपछि अध्यक्ष गणेश बस्नेतसहितका पदाधिकारी चूपचाप भए । त्यहाँ बैठक आयोजना गर्नुहुँदैन भन्नेहरु पनि बैठक छाडेर निस्किए । फलस्वरुप १ सय ९९ सदस्यीय केन्द्रीय कमिटीका ४० भन्दा कम पदाधिकारी तथा केन्द्रीय सदस्यमात्रै त्यहाँ पुगे । काठमाडौं उपत्यकाले त पूरै वहिष्कार नै ग¥यो । उपत्यकाबाट प्रदेश अध्यक्ष विष्णु आचार्य र लेखा आयोग सदस्य रामचन्द्र प्रजापतिमात्रै गए । उनीहरु दुबै केन्द्रीय कमिटीका पदेन सदस्य हुन् । जबकी काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला गरी उपत्यकाबाट दुई दर्जन केन्द्रीय सदस्य छन् ।

व्यक्तिगत खर्र्चमा काठमाडौंबाट दार्चुला पुग्दा प्रतिव्यक्ति ५० हजार खर्च हुने र त्यत्तिका रकम एउटा श्रमजीवी पत्रकारले महिनाभरिमा कमाउन मुस्किल हुने कारण त्यहाँ बैठक नगर्ने कुरा उठेको थियो । तर, दार्चुलाका पत्रकार काठमाडौंमा राखिएका बैठकमा आउने गरेको भन्दै आफूहरु पनि जान तयार हुनुपर्ने अर्कोथरि तर्क गरिएको थियो । तर, दार्चुलाबाट काठमाडौं आउने पत्रकारले संगठनको बैठकमात्रै नभ्याएर आफ्ना विभिन्न आयमूलक काम पनि गर्ने र आतेजाते खर्च उठाएएर फर्किने दृष्टान्त उक्त बैठकमा एक केन्द्रीय सदस्यले पेश गरेका थिए ।

अरु त गएनन् नै, संगठनका पूर्वअध्यक्षहरुलाई एक बचन निम्तो पनि गरिएन । चौतारीका नेताहरु दार्चुला पुग्दा पूर्वअध्यक्ष तथा पार्टी प्रचार विभागका सचिव गगन विष्ट काठमाडौंमै हल्लिरहेका थिए । अर्का पूर्वअध्यक्ष वालकृष्ण चापार्गं बुटवलमै र राजेन्द्र  अर्याल  गुल्मीमा थिए । केन्द्रीय कमिटीमा रहेकामध्ये संगठनकै जोडबलमा राससमा बढुवा खाने प्रकाश सिलवाल, उपत्यका इञ्चार्ज हेमराज सिलवाल, संगठनको बलमा रेडियो नेपालमा जागिरे रहेकी यशोधा अधिकारी, भर्खरै प्रेस काउन्सिलको अधिकृतमा नाम निकालेकी सञ्चिता घिमिरे, संगठनले नै गोरखापत्रमा जागिर लगाएकी कविता थापा, राससमा जागिर खाने भगवती थापाहरु पनि संगठनको गुन सम्झेर बैठकमा गएनन् ।

बैठकमा धेरैजसो प्रदेशका इञ्चार्जहरु नपुगेपछि महासंघ र संगठनको विषयमा अपुरो र काल्पनिक रिपोर्टिङ गरियो । मधेस प्रदेशको रिपोटिङ गर्ने श्याम बञ्जाराले उक्त प्रदेशमा समाजवादी प्रेस संगठनको स्थिति निराशाजनक भनी कुरा राखे । जबकी, उनकै जिल्ला पर्सामा आधा चौतारी समाजवादीमा छ । रौतहट र बाराको महासंघमा चौतारीका १० प्रतिशत सदस्यमात्रै छन्, बाँकी समाजवादी भइसके ।

चौतारीको बैठकस्थल सुदूरपश्चिममै अहिले प्रेस युनियनपछिको दोस्रो ठूलो संगठनका रुपमा समाजवादी प्रेस संगठन र चौतारी बराबरीमा छन् भने तेस्रो संगठन प्रेस सेन्टर रहेको छ । बाहिरबाट मान्छे चौतारीको, भित्रबाट समाजवादीतिर झुकाव राख्ने करिव १६ जना पत्रकार दार्चुला पुगेका थिए । ती पत्रकारसँग गोप्य कुरा खोल्नुहुँदैन भनी नेतृत्व सचेत देखिन्थ्यो । त्यसो त जिल्ला जिल्लामा पनि विभिन्न कारणले पत्रकारहरु चौतारी हुँ भन्न बाध्य छन्, जो भित्री रुपमा समाजवादीसँग सघन सम्पर्कमा रहने गरेका छन् ।

दार्चुला बैठककै क्रममा पनि चौतारीको एकथरि केन्द्रीय टोलीलाई ओलीपक्षीय एमाले पत्रकारहरुले मात्रै धनगढी र दार्चुलामा स्वागत गरे भने विगतमा समाजवादीसँग सम्बन्धित र हाल चौतारीमा फर्किएकाहरुलाई समाजवादी प्रेस संगठनका नेताहरु स्वागत, सत्कार गरिरहेका थिए । समाजवादीसँग निकट सम्बन्ध भएका ती नेतालाई कतिपय ठाउँमा गाडी, होटल र खानपानसमेतको व्यवस्थापन गरिदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य