काठमाडौं,२८ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धनको सरकारमा आफू सहभागी नहुने बताएका छन् ।
आइतबार आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू वर्तमान सरकारमा मन्त्री नबन्ने र बन्न पनि नमिल्ने भन्दै आफ्नो पार्टी सरकारमा जाँदा सरकारलाई सफल बनाउन लाग्ने बताए ।
आफू सरकार कति दिन टिक्यो भन्ने आधारमा सरकारको सफलताको मापन नगर्ने भन्दै सरकारबाट कति परिणाम निस्कियो भन्ने आधारमा सरकारको काम हेर्ने उनले बताए ।
“मैले पाँच वर्षको लागि पाएको भनेको सांसदको जिम्मेवारी हो । यो सबै कामहरू मैले नेपाली कांग्रेसको महामन्त्री भएर काम गर्ने हो, त्यो कामहरू गर्छु,” उनले भने, “सांसद भएर प्रधानमन्त्रीकोमा, संसद्मा उठाउनुपर्ने विषय उठाउँछु ।”
महामन्त्री थापाले राजनीतिक दलहरु खुसी हुँदैमा जनता खुसी हुन्छन् भन्ने भ्रम नपाल्न पनि आग्रह गरे । उनले सरकार बन्नेकुरा प्राथमिकतामा नराखी सरकारले जनतासमक्ष परिणाम दिन सक्नुपर्ने बताए ।


