काठमाडौँ, १६ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले )का अध्यक्ष केपी ओली र वामदेव गौतमबीच आगामी राष्ट्रपतिको निर्वाचनबारे छलफल भएको छ । भैंसेपाटीस्थित गौतम निवासमा भएको भेटमा एमालेको तर्फबाट राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ्लाई भोट माग्न अपरान्ह गौतम निवास भैंसेपाटी पुगेका ओली र वामदेवबीच पछिल्लो राजनीतिक अवस्थाका विषयमा पनि छलफल भएको बताइएको छ ।
एमाले छोडेर स्वतन्त्र वामपन्थी भूमिकामा रहेका गौतम राष्ट्रियसभा सदस्य पनि हुन् । त्यसकारण एक भोट निश्चित गर्न भैंसेपाटी पुगेका ओलीले गौतमलाई एमालेमा फर्किन आग्रह गरेको बुझिएको छ ।एकीकृत समाजवादीसँग निकटता देखाउंदै आएका गौतमले भने एमालेको विधानमा रहेको ७० वर्षे उमेर हद हटाए त्यसबारे सोच्न सकिने जवाफ दिएको बताइन्छ ।
गौतमले नेम्वाङ्लाई समर्थन गर्ने कि नगर्ने भन्ने प्रष्ट भइसकेको छैन, उनले आफ्नो निर्णयबारे कुनै घोषणा गरेका छैन् । तर, उमेर हद हटाउने उनको सुझावले राष्ट्रपतिको निर्वाचनमा प्रभाव पार्न सक्छ ।
हालैका वर्षहरूमा सरकार परिवर्तन र राजनीतिक दलहरूबीचको सत्ता संघर्षसँगै नेपालको राजनीतिक अवस्था उथलपुथल भएको छ। नेकपा एकीकृत समाजवादी पार्टीले राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेललाई भोट दिने निर्णयले पनि देशको राजनीतिक भविष्यमा ठूलो प्रभाव पारेको राजनीतिक विश्लेषकहरूको दाबी छ ।


