काठमाडौँ,१६ माघ । नेपालकै अग्रणी वित्तीय संस्थामध्येको एक कामना सेवा विकास बैंकले हालै प्रहरीद्वारा पक्राउ पुर्जी जारी गरेपछि प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतलाई बर्खास्त गरेको छ । बैंकले विनय दाहाललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।
प्रवीण बस्नेतले झापामा नक्कली ऋणी खडागरि ऋण दिएको पाइएको थियो, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले घटनाको अनुसन्धान गरिरहेको छ । गैरकानूनी गतिविधि देखिएपछी राष्ट्र बैंकले प्रहरी अनुसन्धानको सिफारिस गरेको थियो भने बस्नेतसहित बैंकका ११ जनाको नाममा पक्राउ पुर्जी जारी भएको छ । बैंकले आफ्नो साख जोगाउन तत्काल कारबाही गर्दै बस्नेतलाई पक्राउ गर्नुअघि नै पदबाट हटाएको हो ।
हालैका वर्षहरूमा नेपालको बैंकिङ क्षेत्रले धेरै चुनौतीहरूको सामना गरेको छ, जसमा ठगीका गतिविधि र निष्क्रिय कर्जाका प्रवाहका घटनाहरु धेरै छन्। कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतलाई पदबाट हटाउनु यी चुनौतिहरूलाई सम्बोधन गर्न र देशको बैंकिङ क्षेत्रको अखण्डता सुनिश्चित गर्न महत्वपूर्ण कदम रहेको बैंकिङ क्षेत्रका विज्ञहरुको भनाइ छ ।
कामना सेवा विकास बैंकको नयाँ सीईओमा विनय दाहालको नियुक्तिले बैंकको व्यवस्थापनमा नयाँ परिप्रेक्ष्य ल्याउने अपेक्षा गरिएको छ । दाहाल बैंकिङ क्षेत्रमा बृहत् अनुभव भएका अनुभवी पेशागत व्यक्ति हुन् र उनको नियुक्तिले बैंकमा स्थायित्व ल्याउनुका साथै ग्राहक तथा सरोकारवालाहरूको विश्वास पुनर्स्थापित हुने अपेक्षा गरिएको छ ।

