अस्मिता श्रेष्ठ /भक्तपुर , ४ माघ । भक्तपुरको चाँगुनारायण नगरपालिकाको १२औँ नगरसभाले कच्चा इँटाको उत्पादन र निकासीमा कर लगाउने निर्णय गरेको छ । वर्षौंदेखि कर नतिरी इँटाभट्टा व्यवसायीले व्यवसाय सञ्चालन गर्दै आएको समस्यालाई सम्बोधन गर्ने उद्देश्यले नगरपालिकाले यस्तो कदम चालेको हो । इँटा उद्योगले यस क्षेत्रको प्रदूषणमा ठूलो योगदान पुर्याएको र केही समयदेखि स्थानीयले यसलाई हटाउन माग गर्दै आएका छन्।
मेयर जीवन खत्रीका अनुसार नगरपालिकाले निश्चित स्थानमा व्यवसाय सञ्चालन गरेवापत प्रतिस्थान रु १० हजार र काँचो इँटा तयार गर्ने जग्गाले चर्चेको प्रतिरोपनी रु पाँच सयका दरले कर असुली गर्ने निर्णय गरेको छ ।
भक्तपुर र आसपासका क्षेत्रका धेरैको आम्दानीको मुख्य स्रोत इँटा उद्योग हो । तर, वातावरणमा उद्योगको नकारात्मक असर स्थानीय र स्थानीय तहका लागि चिन्ताको विषय बनेको छ ।
भक्तपुरमा सञ्चालनमा रहेका ६१ इँटा भट्टामध्ये ४१ चाँगुनारायणमा रहेका छन् । यसले उद्योगबाट हुने प्रदूषणलाई नियन्त्रण गर्न नगरपालिकाले पहल गर्नुपर्ने आवश्यकता थपिएको छ । कच्चा इँटा उत्पादन र निकासीमा कर लगाउने निर्णयले प्रदूषण नियन्त्रण र नगरपालिकालाई राजस्व उठाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
तर, यो कर लागेपछि इँटा उद्योग र त्यसमा आश्रित मजदुरहरूको जीवनयापनमा समेत असर पर्न सक्छ । इँटा भट्ठा व्यवसायीले करको मूल्य उपभोक्तालाई तिराउने हुँदा इँटाको मूल्य बढ्न सक्छ । यसले इँटामा धेरै निर्भर रहेको निर्माण उद्योगमा असर पार्न सक्छ। कुनै पनि नकारात्मक असरलाई न्यूनीकरण गर्ने उपाय खोज्न नगरपालिकाले इँटाभट्टा व्यवसायीहरूसँग मिलेर काम गर्नु महत्त्वपूर्ण हुनेछ।


