काठमाडौँ , १७ पुष । कैलाली क्षेत्र नं २ बाट निर्वाचित सांसद अरुण चौधरीलाई सिद्धार्थ बैंकले आफ्नो सम्पत्ति लिलामी गर्न १५ दिनको सूचना दिएको छ । चौधरीले बैंकबाट लिएको ऋणको साँवा, किस्ता र ब्याज तिर्न नसकेपछि बैंकको कैलालीस्थित बौनिया शाखाले उक्त सूचना जारी गरेको हो । कैलालीको साविक बलिया जीभीएस–३ मा रहेको कुल १६९.३२ वर्ग मिटर क्षेत्रफल भएको घर र जग्गा लिलामीमा पर्न लागिएको हो ।
बैंकका शाखा प्रबन्धक धिमन्तराज गिरीका अनुसार चौधरीले कैलालीको लम्कीमा रहेको एरोम टकरेडर्स नामक कम्पनीको नाममा ऋण लिएका थिए । बैंकले पटकपटक मौखिक र लिखित निर्देशन दिए पनि चौधरीले ऋण तिर्न वा सम्पर्क गर्न सकेनन् । नतिजास्वरुप बैंकले चौधरीलाई बक्यौता रकम बुझाउन ३५ दिनको सूचना जारी गर्यो । अझै कुनै प्रतिक्रिया नआएपछि बैंकले धितो लिलामी प्रक्रिया अगाडि बढायो।
सूचना जारी भएको १५ दिनभित्र बक्यौता रकम बुझाएमा लिलामी रोक्न सकिने सूचनामा उल्लेख छ । तर, सूचना जारी भएको नौ दिन बितिसक्दा पनि चौधरीले बैंकमा सम्पर्क नगरेको देखिन्छ । बैंकले लिलामी मार्फत रकम असुल गर्न नसकेमा ऋण असुली गर्नको लागि ऋण असुली न्यायाधिकरणमा जान सक्नेछ। चौधरीलाई बैकले कालोसूचीमा राखे उनको सांसद पद पनि गुम्न सक्छ । अहिले चौधरीको फोन अफ छ ।



