काठमाडौं, १२ मंसिर । भर्खरै संसदीय तथा प्रदेश निर्वाचन सम्पन्न भएको छ । विजयी बनेका प्रतिनिधिले धन्यवाद र्याली पनि गर्न पाएका छैन । आफ्ना उम्मेद्वार डा. राजन भट्टराई, ईश्वर पोखरेल एवं दीपक निरौलाले नराम्रो पराजय भोगेको घडीमा निर्वाचनको समीक्षा समेत नगरी नेकपा एमालेको बूढानीलकण्ठ नगर कमिटी अध्यक्ष प्रदिप डङ्गोल देश छोडेर विदेश पलायन भएका छन् ।
विवादित छवि भएका डङ्गोल नेकपा विभाजन भएर नेकपा एमाले ब्युँतिएपछि नगर कमिटी अध्यक्ष भएका थिए । एकलौटी ढंगबाट गठन गरिएको नगर कमिटीले पार्टी भित्र प्रजातान्त्रिक विचार राख्ने एक दर्जन भन्दा धेरै पार्टीका इमानदार कार्यकर्तालाई भिन्नखाले आरोप लगाउँदै कारबाही गरेको थियो ।
योसँगै पार्टीका शुभेच्छुकहरूले पटक पटक सुध्रिन दबाब दिएका तर, विभिन्न खाले काण्ड घटाइ एमाले पार्टीलाइनै बदनाम गराएका प्रदिप डङ्गोलले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ र ५ को निर्वाचन परिणामको ‘पोस्टमोर्टम’ गम्भीर हुने देखेपछि कुलेलाम ठोकेका हुन् ।
कार्यवाहक अध्यक्षमा शम्भु प्रसाद भट्टराई
तीन दशकदेखि बूढानीलकण्ठ क्षेत्रमा एमालेबाट राजनीति गर्दै आएका एमाले नेता एवम् बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष शम्भु प्रसाद भट्टराईले नेकपा एमाले बूढानीलकण्ठ नगर कमिटीको कार्यवाहक अध्यक्षको जिम्बेवारी पाएका छन् । “मेरो नेपाल आउने त्यति ठेगान छैन श्रीकृष्ण र तपाईँ भएर पार्टीमा निर्याण गर्नु भन्दै कार्यवाहक अध्यक्षको जिम्मा दिएर अध्यक्ष प्रदिप डङ्गोलले देश छोडेको बताए ।”
कावा अध्यक्ष भट्टराईले १५ दिन पछि नगर कमिटीको बैठक बोलाउने बताए उनले चुनाव परिचालन कमिटीले निर्वाचन समिक्षा गरे पछि नगर कमिटीले समीक्षा गर्ने गरि बैठक बोलाउने तयारी गरिरहेको बताए ।
उनले पार्टी भित्र प्रजातान्त्रिक विचार राखेकै भरमा विभिन्न आरोप लगाएर कारबाही गरिएका पार्टीका इमान्दार कार्यकर्ताको कारबाही फुकुवा गर्न कार्यदल बनाउने एवं डा. राजन भट्टराई हराउन भूमिका खेलाहरूलाई कारबाही समेत गर्ने बताए ।


