असोज २३, काठमाण्डौ ।खड्ग ओलीको प्रतिगामी कदमविरुद्ध उभिएर संसदमा विपक्षमा हस्ताक्षर गरेका नेकपा (एकीकृत समाजवादी) अर्थात् माधवकुमार नेपाल पक्षधरहरुसँग कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्झौता थियो, अप्ठेरोमा साथ दिनेहरुलाई अर्को चुनावमा पनि जितेको भूगोलमा टिकट दिएर जिताउने । यही सम्झौता अहिले सबैलाई लागू भए पनि तनहुँमा लागु भएन । त्यहाँ नेपाली कांग्रेसको सभापति र प्रधानमन्त्रीको दौडमा लगातार असफल हुँदै संसदमा पनि हारेका रामचन्द्र पौडेलका लागि छाडिदिनु पर्ने भयो । त्यो पनि नेकपा हुँदा खड्ग ओलीका कट्टर पक्षधर बनेर प्रतिगमन सहन नसकी सर्लक्क माधवकुमार नेपालसँग उभिएका किसान श्रेष्ठ उर्फ कृष्णकुमार श्रेष्ठले ।
जसलाई हराइयो, उनैको पार्टीसँग आफ्नो नयाँ पार्टीको गठबन्धन भएपछि के लाग्यो र ? किसान श्रेष्ठलाई पनि यस्तै भयो । जितेको भूगोलमा फेरि टिकट र विजयी सुनिश्चितताको एकसरो सम्झौतामा अड्चन बने उनै रामचन्द्र पौडेल ।
कुनै एकदिन, पार्टी अध्यक्ष माधवकुमार नेपालले बोलाउनु भयो किसान श्रेष्ठलाई । मन्त्री रहनु भएका श्रेष्ठ पुग्नु भयो अध्यक्षले भनेको लोकेसनमा । त्यहाँ त भेटिनु भयो उनै रामचन्द्र पौडेल । अध्यक्षज्यूले भन्नुभयो, ‘उहाँको कुरा सुनिदिनुहोस् त ।’
‘रामचन्द्र पौडेलले नयाँ कुरा के नै भन्नुहोला र ?’ किसान श्रेष्ठको मनमा खेल्दै थियो यस्तै तर्कना । नभन्दै आयो अनुरोध, ‘एकपटकलाई बाबुले मलाई तनहुँ १ छाडिदिनु प¥यो ।’ किसान श्रेष्ठले अध्यक्षतिर हेर्नुभयो, भन्नुभयो, ‘हाम्रो सम्झौता त अर्कै थियो त, किन छाड्ने ?’
तर परिस्थिति बन्यो त्यस्तै । अध्यक्ष नेपालले भन्नुभयो, ‘तपाईंको कतै र सुरक्षित व्यवस्थापन हुन्छ, ढुक्क हुनुहोस् ।’
एकातिर अध्यक्षज्यूको आग्रह, अर्कातिर सामुन्ने रामचन्द्र पौडेल, त्यसमाथि गठबन्धनका तीन शीर्षनेता शेरबहादुर, प्रचण्ड र माधव नेपालका पनि संयन्त्र प्रमुख उनै पौडेल । किसान श्रेष्ठ चुपचाप बाहिरिनु भयो । कहाँ भन्ने, के भन्ने, कसलाई सुनाउने–नसुनाउने, विलखबन्द ।
असोज ३ गते काठमाडौँमा पार्टीनिकट मगर संघको राष्ट्रिय भेला भयो । त्यहाँ किसानले श्रेष्ठले नयाँ समाचार दिनु भयो पत्रकारहरुलाई, आफू गठबन्धनको उम्मेदवार भए पनि तनहुँ छाड्ने तयारीमा, रामचन्द्र पौडेललाई भूगोल छाडेर आफू बारा ४ मा उम्मेदवार हुने ।
मन्त्री छाडेपछि किसान श्रेष्ठको निरन्तर बसाइ बारामै रह्यो । बारा ४ मा जनता समाजवादी पार्टीलाई मनाएर कांग्रेस माओवादी किसान श्रेष्ठलाई उम्मेदवार बनाउन तयार थियो । जसपा पनि बिच्किएर हिँडेपछि किसान श्रेष्ठलाई झन सजिलो भयो । अहिले बारा ४ मा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट किसान श्रेष्ठ तनहुँ छाडेर फड्को मार्दै हुनुहुन्छ । दुनियाँको ध्यान चितवन छाडेर गोर्खा गएका माओवादी अध्यक्ष प्रचण्डतिर भएकाले किसान श्रेष्ठले कांग्रेस र त्यसमाथि रामचन्द्र पौडेलका लागि गरेको सेक्रिफाइस चर्चै भएन ।
फोन सम्पर्कमा श्रेष्ठ भन्नुहुन्छ, ‘गठबन्धन लागेको छ, कार्यकर्तामा उत्साह नै छ, दशैँ अघि नै म यहाँको उम्मेदवार भनेर चर्चा भएकाले सहज बनेको छ, नयाँ भूगोल र सम्प्रदायमा भए पनि सबैले मेरो उपस्थितिलाई उत्साहपूर्वक लिएर साथ दिएका छन्, एकसरो सबैसँग पुगिसकेको छु, उम्मेदवारी दर्ता भएपछि बाँकी ठाउँमा पुग्छु, दोहो¥याएर पुग्छु, तनहुँका जनताले मिस गरे पनि नयाँ संसदले किसान श्रेष्ठलाई मिस गर्दैन, म सधैँ तनहुँ र बाराका जनताकै साथमा रहनेछु ।’


