भदौ ५,काठमाडौँ। नेकपा ( एकीकृत समाजवादी ) काठमाडौँ जिल्ला कमिटीको अध्यक्षमा एलपी श्रेष्ठ र सचिवमा धुर्वराज न्यौपाने चयन भएका छन् ।
शनिवार आयोजित पूर्ण बैठकले अध्यक्ष श्रेष्ठको नेतृत्वमा दुई सय ७१ सदस्यीय कमिटी चयन गरेको हो । बैठकको उद्घाटन गर्दै पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनले देशैभर साझा उम्मेदवार उठाउने बताए ।
गठबन्धनको सहयोगबाट स्थानीय तहको निर्वाचनमा सबै पार्टी लाभान्वित भएको बताउँदै उनले मुलुकको समृद्धिका साथै राजनीतिक स्थिरताका लागि गठबन्धनको खाँचो औँल्याएका थिए । अध्यक्ष नेपालले न्यायपूर्ण समाज तथा समानता र सहअस्तित्वको समाज कायम गर्ने समाजवादको उद्देश्य रहेको प्रष्ट पारे ।
मुलुकमा युवा बेरोजगारी अन्त्य गर्न सीपयुक्त जनशक्तिको विकास गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले त्यसले जनताको सामाजिक तथा आर्थिक रूपान्तरण गर्ने विश्वास व्यक्त गरेका थिए । मुलुकमा भित्रिएको विप्रेषणलाई राष्ट्रिय पूँजी निर्माणमा उपयोग गरी देशलाई औद्योगिकरण गर्न आवश्यक रहेको उनको भनाई थियो ।
समान विचार भएका पार्टीसँग एकताको सम्भावना रहेको भए पनि नेकपा ( एमाले ) सँग तत्काल एकता नहुने भन्दै अध्यक्ष नेपालले देशभर जनतालाई राजनीतिक रुपमा सङ्गठित गर्न अहिले सात सय ५३ पालिकामा पार्टीको सङ्गठन विस्तार भइरहेको जानकारी दिँदै जनताको चेतना भर्न र उनीहरूलाई जागृत गर्न कम्युनिष्ट पार्टीको भूमिका उल्लेखनीय रहेको विचार व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा जिल्ला कमिटीका निवर्तमान अध्यक्ष कुसुमकुमार कार्कीले स्थानीय तहको निर्वाचनको समीक्षा र आगामी निर्वाचनको कार्ययोजना प्रस्तुत गरेका थिए । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले कमिटीलाई सशक्त रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचन लक्षित कार्ययोजना तयार गरी प्रचारप्रसारमा कमिटी क्रियाशील हुने बताए ।

