३,साउन काठमाडाैं।शहरी विकासमन्त्री मेटमणि चौधरीले मन्त्री पदबाट हट्दा पनि आफू हाँसेरै जाने टिप्पणी गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाअन्तरगतको विकास तथा प्रविधि समितिको बैठकमा चौधरीले मन्त्री भएर आउँदा आफू हाँसेर आएको र जाने बेलामा त्यो भन्दा अझ बढी हाँसेर जाने बताए ।
बैठकमा सांसदहरूले निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयबाट बिदाइ हुँदा रोएकोतर्फ संकेत गर्दै मन्त्री चौधरीलाई हाँसेरै जान शुभकामना दिएका थिए । त्यसको जवाफ दिने क्रममा उनले जाने बेलामा आफू अझ बढी हाँसेर जाने बताए ।
चौधरीले मन्त्रीको रूपमा आफू सधैँ नरहने कुरा प्रष्ट्याउँदै पदमा रहुन्जेल सांसदहरूले दिएको सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
‘माननीयजीहरूले शुभकामना दिने बेलामा धेरै महत्वपूर्ण सुझावहरू दिनुभएको छ । आउँदा खुसी भएर आउने, जाने बेला रुने कुरा पनि भन्नु भएको छ । मलाई क्लियर के छ भने मन्त्री हुने कुरा रेगुलर प्रोसेसको कुरा हो । म सधैँभरि रहिरहदिनँ,’ चौधरीले भने, ‘त्यसै म आउँदा खेरी जसरी हाँसेर आएको छु जाँदाखेरी यो भन्दा बढी हाँसेर जान्छु ।’
सरकारले एक हप्ताभित्र ‘शहरी विकाससम्बन्धी नीति’ सार्वजनिक गर्ने उनको प्रतिबद्धता थियो । विगत १५ वर्षदेखि ल्याउने भनिएको सो नीति अन्तिम चरणमा पुगेको र त्यसलाई अब सार्वजनिक गर्ने उनको भनाइ छ ।
यसअघि शहरी विकासमन्त्रीबाट बिदा हुँदैगर्दा रामकुमारी झाँक्रीले भावुक भन्दै आँसु झारेकी थिइन् ।


