२०७९ असार २७ गते ,काठमाडौं । सरकारले संघ र प्रदेशसभाको निर्वाचन घोषणा तयारी गरेको छ । सरकारले निर्वाचन आयोगको प्रस्ताव अनुसार मंसिरको पहिलो साता संघ र प्रदेशसभाको निर्वाचन एकैपटक हुने गरी तयारी गरेको हो ।
सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउन पहिलो साता निर्वाचन घोषणा हुन सक्ने जानकारी दिनुभएको छ ।महामन्त्री थापाले सोमबार ललितपुरमा आयोजित कांग्रेस क्रियाशील सदस्यहरुको भेला तथा जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रममा निर्वाचनको तयारीबारे जानकारी दिनुभएको हो । पहिलो साता बस्नेत मन्त्रिपरिषद् बैठकबाट निर्वाचन मिति घोषणा हुने महामन्त्री थापाको भनाई छ ।
‘सम्भवतः साउन ४ वा ५ गते बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्छ,’उहाँले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको छलफलबारे जानकारी भन्नुभयो, ‘मंसिर ४ वा ५ गते हुने गरि निर्वाचनको घोषणा हुन्छ।’
थापाले निर्वाचन मिति घोषणापछि नयाँ मतदाता थप्न नपाइने भन्दै मिति घोषणा अगावै नयाँ मतदाताको नाम दर्ताका लागि खटिन कार्यकर्तालाई निर्देशन पनि दिनु भएको छ । ‘अब हामीसँग ५–७ वा ८ दिन बाँकी छ। नयाँ मतदाता त्यसपछि लेखाउन पाइँदैन,’ उहाँले भन्नुभयो, ‘अबको ७–८ दिन सम्पूर्ण ध्यान नयाँ मतदाता थप्नमा लगाउनुस्।’
निर्वाचन आयोगले आगामी मंसिर २ गते प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सिफारिस गरिसकेको छ।


