काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादीले सबै पालिकामा उम्मेदवारी दिएको भए आफूहरुले २० लाख मत ल्याउने दाबी गर्नुभएको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपालले सोमबार पार्टीको केन्द्रीय परिषद बैठकमा त्यस्तो दाबी गर्नुभएको हो ।
निर्वाचनमा २८ प्रतिशत स्थानीय तहमा उम्मेदवारी दिँदा पनि एकीकृत समाजवादीले ९ लाख मत ल्याएको उहाँको भनाई छ । ‘हामीले यसपटक झण्डै २८ प्रतिशत उम्मेदवार मात्रै खडा गरेका थियौं, उहाँले भन्नुभयो ‘यसमा ९ लाख मत पायौं । यदि हामीले सबै ठाउँमा उम्मेदवारी दिएको भए यो भन्दा दोब्बर मत पाउने थियौं । कम्तीमा पनि २० लाखको सेरोफेरोमा मत पाउने थियौं । २० लाख मत पाउने हो भने प्रतिनिधिसभामा हाम्रो केही सिट सुरक्षित हुनेछ ।’
अध्यक्ष नेपालले पार्टीको सबै नेता तथा कार्यकर्ताले अब सम्पूर्ण ध्यान आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा लगाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो अब हामीले हाम्रो ध्यान एउटै कुरामा केन्द्रित गर्नुपर्छ । त्यो हो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन । अब हाम्रो सम्पूर्ण ध्यान त्यसमै राख्नुपर्छ ।


