काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले २ अर्ब २० करोडको बजेट सार्वजनिक गरेको छ । बिहीबार बसेको १० औं नगरसभामा उपप्रमुख अनिता लामाले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरेकी हुन् । बिहीबार नगरपालिकाको वडा नं ७ मा रहेको अमुप्रस्थ इभेन्टमा भएको नगर सभामा बजेट पेश गरिएको हो ।
विनियोजित बजेटमध्ये केन्द्र सरकार समानीकरण अनुदानबापत प्राप्त २९ करोड ३९ लाख, केन्द्र सरकारबाट सशर्त अनुदानबापत प्राप्त ३५ करोड ६५ लाख, केन्द्र सरकारबाटै विशेष अनुदानबापत प्राप्त २ करोड, प्रदेश सरकारबाट समानीकरण अनुदानबापत प्राप्त ३ करोड ७३ हजार, प्रदेश सरकारबाट सशर्त अनुदान बापत प्राप्त २ करोड ७ लाख , प्रदेश सरकारबाट समपूरक अनुदानबापत प्राप्त २ करोड ९९ लाख, प्रदेश सरकारबाट विशेष अनुदानबापत प्राप्त ७५ लाख र अन्य आय ३३ करोड २२ लाख ९९ हजार हुने अनुमान गरिएको छ ।
नगरपालिकाले आन्तरिक राजस्वबाट २९ करोड २५ लाख, मालपोत रजिस्ट्रेसन शुल्क ६५ करोड, प्रदेश सरकार सवारी साधन करबापत ५ करोड १० लाख र मुल्य अभिवृद्धि कर तथा अन्तशुल्क १३ करोड १६ लाख ४१ हजार रुपैयाँ प्राप्त हुने उल्लेख गरेको छ । साथै, वनबाट रोयल्टी बापत १० लाख रुपैयाँ प्राप्त हुने पनि नगरपालिकाले जनाएको छ ।


