काठमाडौँ — नेपाली लोकजीवनमा प्राचीनकालदेखि रहँदै आएका जनविश्वासहरूलाई समेटेर पुस्तक प्रकाशन भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘नेपाली लोकविश्वास’ प्रकाशित गरेको हो । प्रतिष्ठानको साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको अनुसन्धान परियोजनाअन्तर्गत उक्त पुस्तक षडानन्द पौड्यालले तयार गरेका हुन् ।
११ अध्याय रहेको पुस्तकको पहिलो अध्यायमा लोकविश्वासको सैद्धान्तिक स्वरूप प्रस्तुत गरिएको छ । दोस्रोदेखि नवौं अध्यायसम्म मानव शरीर, खाना, यात्रा, व्यवहार, शास्त्रीय विधान, संस्कृति र सपनासँग सम्बन्धित आठ सयभन्दा बढी लोकविश्वासहरूलाई सूचनात्मक तथा विश्लेषणात्मक ढाँचामा प्रस्तुत गरिएको विभागीय प्रमुख प्राज्ञ देवी नेपालले बताए ।
‘यो कृतिको दसौं अध्याय प्राज्ञिक महत्त्वका दृष्टिले उल्लेखनीय छ,’ उनले भने, ‘यसमा नेपाली साहित्यमा लोकविश्वासको प्रयोग के कसरी गरिएको छ भन्ने कुरालाई अनुसन्धानमूलक ढाँचामा प्रस्तुत गरिएको छ ।’ उनका अनुसार नेपाली कथा, कविता, उपन्यास, नाटक, निबन्ध र लोकगीतमा नेपाली लोकविश्वासको प्रयोग कसरी गरिएको छ भन्ने कुराका बारेमा गहिरो खोजी पुस्तकमा छ ।
यो कृति विभिन्न विश्वविद्यालयमा नेपाली लोकसाहित्य र लोकजीवनको अध्ययन, अध्यापन र अनुसन्धान गर्नेहरूका साथै पाठकका लागि पनि अत्यन्त उपयोगी रहेको नेपालले सुनाए । नेपाली लोकजीवनसँग जोडिएका साहित्य, संस्कृति, धर्म, समाजशास्त्र, अर्थशास्त्र आदि सबै कुराको अध्ययन गर्न मिल्ने सामग्रीहरू एकै ठाउँमा भएकाले पुस्तक सबैका लागि बौद्धिक तथा मनोरञ्जनात्मक खुराक बन्ने उनको भनाइ छ ।
विभागले अनुसन्धान तथा प्रकाशन परियोजनाअन्तर्गत यसभन्दा अगाडि नै ‘लोकसाहित्य सिद्धान्त’, ‘प्रज्ञा नेपाली लोककथा’ ‘युद्धबन्दी गोर्खालीका लोकभाका र कथा’, ‘नेपाली लोक रामायणका विविध रूप’ जस्ता ऐतिहासिक महत्त्वका कृतिहरू प्रकाशन गरिसकेको छ ।