समृद्ध धादिङको निर्माण, एमालेको सपना

प्रकाशित मिति :2017-05-10 14:31:37

धादिङ, २७ वैशाख – मतदानको दिन नजिकिदै जादा धादिङमा राजनीतिक दलहरुको प्रचार कार्यपनि तिब्र रुपमा संचालन भइरहेको छ । धादिङ जिल्लामा २ नगरपालिका र ११ गाउँपालिका सहित १३ वटा स्थानीय तह रहेका छन । धादिङमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र, नयाँ शक्ति, राप्रपा र केही व्यक्तिहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

धादिङमा २०७० को निर्वाचनमा तीनवटै क्षेत्रमा एमालेले जीत हासिल गरेको थियो । एमालेको जीतपछि ग्रामीण क्षेत्रमा बाटो निर्माण, त्रिशुली नदिमाथि पक्की पुल निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विकासका विभिन्न कामहरु भएका छन् । त्यसैले पनि एमालेको पक्षमा मतदान गर्ने सर्वसाधारण बताउछन् । नेकपा एमाले धादिङका अध्यक्ष भुमी त्रिपाठीले धादिङको १३ वटै स्थानीय तहमा एमालेको जीत सुनिश्चित रहेको बताए । सबै ठाउँमा एमालेको व्यापक प्रचारप्रसार भईरहेको र युवा, बृद्ध, बृद्धाहरु एमालेको लहर देखेर हौसिएको उनले बताए ।हरेक गाऊँपालिका र नगरपालिकाहरुमा स्पष्ट योजनाका साथ अगाडि बढ्ने र त्यहाँ भौतिक रुपमा यातायात, विद्युत, खानेपानी, स्वास्थ्य, शिक्षाको सुविधा लगायतका कुरामा ध्यान दिंदै ५ वर्षमा गाउँको मुहार परिवर्तन गर्ने बताए । उनले भने– “यो निर्वाचन मुलुकमा राजनीतिक परिवर्तन स्थानीय निर्वाचनमा नेकपा एमालेको मुख्य एजेण्डा रहेको त्रिपाठीले बताए । त्रिपाठीले आफनो पार्टी आर्थिक समृद्धिको अभियानमा जुटेको चर्चा गर्दै नेकपा एमालेले विजय हासिल गरिसकेपछि हरेक गाउँपालिका र नगरपालिकाहरुमा स्पष्ट योजनाका साथ आफूहरुले काम गर्ने बताए । उनले वास्तविक भुकम्प पीडितहरुलाई न्याय दिलाउने कुरामा आफूहरु लाग्ने बताए । उनले भूकम्पबाट ध्वस्त भएका बस्तीहरुको सुन्दर पुनर्निर्माणमा ध्यान दिइने बताए । अध्यक्ष त्रिपाठीले भौतिक रुपमा यातायात, विद्युत, खानेपानी, स्वास्थ्य, शिक्षाको सुविधा लगायतका विविध कुरामा हामी ध्यान दिने बताए । उनले पाँच वर्ष मा स्थानीय सरकार, गाउँ सरकार, वडा सरकार चलाइसकेपछि त्यो स्थानको तस्वीर कस्तो हुन्छ भनेर जनतालाई देखाउने र गाउँको अनुहार परिवर्तन गर्ने बताए । उनले जननेता मदन भण्डारीको भनाईलाई स्मरण गरे – हामी जनतालाई भगवान ठान्दछौं, देवता मान्दछौं र जनताको सेवालाई हामी धर्म ठान्दछौं । र यही विश्वासका साथ हामी निर्वाचन लड्नेछौं, जित्नेछौं र जितिसकेपछि ५ वर्षभित्र गाउँको मुहार फेर्नेछौं । ” उनले दृढता ब्यक्त गरे ।

नीलकण्ठ नगरपालिका
नीलकण्ठ नगरपालिकाको मेयरमा नेकपा एमालेको तर्फबाट अर्जुनकुमार श्रेष्ठ र उपमेयरमा गंगादेवी श्रेष्ठ उम्मेदवार छन् । नेपाली कांग्रेसबाट मेयरमा भीम ढुङगाना र उपमेयरमा माओवादी केन्द्रबाट मनराज भण्डारी शैलेस उम्मेदवार बनेका छन् ।

नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार श्रेष्ठले हारिने डरले काँग्रेस र माओवादी केन्द्र मिलेपछि हामी एक्लै मैदानमा उत्रेर जीत हासिल गर्न आतुर रहेको बताएका छन् । एमालेको जीत सुनिश्चित हुने देखिएपछि काँग्रेसले अत्तालिदै माओवादी केन्द्रसँग भिख मागेको उनको भनाई छ । आफुले जितेपछि नीलकण्ठ नगरपालिकालाई उदाहरणीय र उत्कृष्ट नगरपालिका बनाउने उनले बताए । संविधानले दिएको हक अधिकार जनताको घरदैलोमा पु¥याउनको निमित्त आफ्नो उम्मेदवारी भएको श्रेष्ठले बताए । नगरपालिकालाई व्यवस्थित नगर बनाउने, शिक्षा, स्वास्थ्य, युवाहरुलाई रोजगारी लगायतका सेवासुविधा हरेक नागरिकसमक्ष पुर्याउने उनले प्रतिबद्धता जनाए ।

धुनीबेसी नगरपालिका
धुनीबेसी नगरपालिकामा नेकपा एमालेले मेयरमा बालकृष्ण आचार्य र उपमेयरमा निरु खरेल, काँग्रेसबाट मेयरमा माधवराज पाण्डे र उपमेयरमा अप्सरा कोइराला, माओवादी केन्द्रबाट मेयरमा दिपक लामिछाने र उपमेयरमा सावित्री आचार्यलाई उम्मेदवार उठाएको छ ।

यो नगरपालिकामा एमालेको लहर छाएको छ । एमालेबाट मेयरका उम्मेदवार बालकृष्ण आचार्यले व्यवस्थित रुपमा कलकारखाना, उद्योगधन्दा संचालन गर्नेदेखि युवाहरुलाई स्वदेशमै रोजगारी, खेलकुद मैदान निर्माणमा जोड दिएका छन् । निर्वाचन जति नजिकिदै गयो त्यति जनता उत्साहित भएर एमालेको पक्षमा माहोल सिर्जना गरेको उनले बताए । एमालेको राम्रो पकड रहेको यस ठाउँमा काँग्रेस माओवादी केन्द्र तालमेल हुने भनिए तापनि भागबण्डा नमिल्दा एक्लाएक्लै लड्ने भएका छन् ।

गाउँपालिकामा एमालेका उम्मेदवार
रुबीभ्याली गाउँपालिकामा एमालेबाट अध्यक्षमा जीवन तामाङ र उपाध्यक्षमा डिलमाया तामाङ, खनियावास गाउँपालिकामा एमालेबाट अध्यक्षमा प्रदिप फ्युवा तामाङ, उपाधयक्षमा शुष्मा तामाङ, गंगाजमुना गाउँपालिकामा एमालेबाट अध्यक्षमा बलबहादुर अधिकारी, उपाध्यक्षमा एन्जिला तामाङ, नेत्रावति गाउँपालिकामा एमालेबाट अध्यक्षमा दुर्गाकुमार शाक्य नारायण, उपाध्यक्षमा मीना तामाङ, त्रिपुरासुन्दरी गाउँपालिकामा एमालेबाट अध्यक्षमा शम्भुकुमार थापा, उपाध्यक्षमा कृष्णकुमार थापा, ज्वालामुखी गाउँपालिकामा एमालेबाट अध्यक्षमा रामप्रसाद अधिकारी, उपाध्यक्षमा जानुका सिम्खंडा उम्मेदवार छन् ।

सिद्धलेक गाउँपालिकामा एमालेबाट अध्यक्षमा प्रेमनाथ सिलवाल, उपाध्यक्षमा कमला शर्मा, दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिकामा एमालेबाट अध्यक्षमा गिरीराज कंडेल, उपाधयक्षमा मायादेवी शर्मा उम्मेदवार छन् । गजुरी गाउँपालिकामा एमालेबाट अध्यक्षमा राजेन्द्रविक्रम बस्नेत र उपाध्यक्षमा सीता ढुङगाना उम्मेदवार छन् । गल्छी गाउँपालिकामा एमालेबाट अध्यक्षमा कृष्णहरी श्रेष्ठ र उपाध्यक्षमा राधा तिमिल्सीना उम्मेदवार छन् । थाक्रे गाउँपालिकामा एमालेबाट अध्यक्षमा रामकुमार आचार्य र उपाध्यक्षमा अम्बिका रुपाखेती उम्मेदवार छन् ।

जिल्ला निर्वाचन कार्यालयको तथ्याङक अनुसार धादिङमा कुल २ लाख ६ हजार २ जना मतदाता मध्ये १ लाख ३ हजार १ सय २४ पुरुष, १ लाख २ हजार ८ सय ७७ महिला र एक जना तेश्रोलिङ्गी छन् ।

  • – नवराज छत्कुली

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula