न्यायालय सिध्याउन ओनसरीको ‘छापामार’ शैली

प्रकाशित मिति :2017-05-08 16:02:36


काठमाडौं 

चैत २७ गते आफ्ना नियमित काम सम्पन्न गरेपछि सभामुख ओनसरी घर्तिमगर सिंहदवारबाट सरकारी निवास बालुवाटार नगई पाटनतर्फ लागेको सूचना संसद सचिवालयमा आइपुग्यो । एकछिन अघिसम्म सभामुखलाई हँसिलो मुद्रामा देखेका संसदका कर्मचारी सभामुख एकाएक विरामीको खबरले तनावमा परे ।

भोलिपल्ट संवैधानिक परिषदको बैठक, अघिल्लो दिन सभामुख विरामी । संवैधानिक परिषदको एजेण्डा थियो– प्रधानन्यायाधीशमा सुशीला कार्कीको नियुक्तिको सिफारिस । राजनीतिक वृत्तमा चर्चा चल्यो, सभामुख विरामी भएपछि अव के गर्ने ? खासखुस चल्यो– ‘सभामुख स्वाभाविक नभई कृत्रिम विरामी हो ।’

भोलिपल्टै तत्कालीन प्रधानमन्त्री केपी ओली सभामुख भर्ना भएको सुमेरु अस्पताल पुग्नुभयो, संवैधानिक परिषदको एजेण्डामा सभामुखको सहमति खोज्न । त्यतिबेलासम्म सभामुखले सहमति दिनुभयो । तर सभामुखका पति वर्षमान पुनले रातारात केही पत्रकारलाई संवैधानिक परिषदको निर्णयप्रति सभामुखको सहमति नरहेको खबर पठाउनुभयो । तर भोलिपल्ट अस्पताल पुग्ने जो कोही पनि अचम्मित हुन्थे, सभामुखको हाउभाउले । त्यहाँ पुग्ने जो कोहीलाई पनि वास्तविक नभई कृत्रिम विरामी हो भन्ने निष्कर्षमा पुग्न कुनै कठिनाइ थिएन ।

प्रधानन्यायाधीशमा सुशीला कार्कीलाई रोक्न अन्तिम अस्त्रको रुपमा कृत्रिम विरामीको नाटक रच्नुभएको थियो, सभामुख घर्तिले । संवैधानिक परिषदले कार्कीको नाम सिफारिस गर्ने निश्चितजस्तै देखिएपछि सभामुख विरामी हुनुभयो भने के हुन्छ ? भन्दै उहाँ निकटका मान्छेले केही दिन पहिलेदेखि नै कार्कीको सिफारिस रोक्न घुमाउरो पाराले सरकारलाई चेतावनी दिइसकेका थिए । सभामुख घर्तिको जिद्धिका कारण संवैधानिक परिषदको अर्को बैठक बसी कार्कीको नाम पुन : सिफारिस गर्नुप¥यो ।

माओवादी नेता देव गुरुङ्ग कानूनमन्त्री भएको बेला सर्वोच्चको न्यायाधीशमा कार्कीलाई सिफारिस गरिएको थियो । न्यायाधीश भएपछि सुशीलाको तटस्थता, निष्पक्षता, निडरता, माओवादीको आज्ञापालक नहुने तथा अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई बचाउ गर्ने माओवादीको भित्री खेलमा सहयोग नपुग्ने देखेपछि कार्कीलाई जसरी पनि रोक्ने दाउमा लागेको थियो, माओवादी । त्यसको भित्री षडयन्त्र रचयिता हुनुहुन्थो– सभामुखका पति वर्षमान पुन । पुनको भित्री डिजाईनमा साथ दिनेमा हुनुहुन्थ्यो– कांग्रेसका अमरेश सिंह, जो भारतीय गुप्तचर संस्था ‘रअ’का एजेण्ट मानिनुहुन्छ ।

महाभियोगको रचनास्थल पनि सभामुखकै कक्ष

प्रधानन्यायाधीश कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता हुनुभन्दा केही दिन अघिदेखि सभामुख ओनसरीको कार्यकक्षमा महान्यायाधिवक्ता रमण श्रेष्ठको बाक्लै आउजाउ हुन्थ्यो । ‘सरकारको मात्र नभई राज्यका सबै अंगको कानूनी सल्लाहकार भनेको महान्यायाधिवक्ता हो’ भन्दै कसैले पनि कानूनी सल्लाहकार राख्न नपाउने अभियान सञ्चालन गरिरहेका श्रेष्ठको बाक्लो आउजाउले ‘भित्र भित्र केही षडयन्त्र हुँदैछ’ भन्ने अनुमान लगाउन गाह्रो थिएन । भयो पनि त्यस्तै । सरकारी गाडी चढेर न्यायपालिका प्रमुखविरुद्धको महाभियोगको प्रस्ताव तयार पार्नेदेखि, दर्ता नहँुंदै प्रधानन्यायाधीश कार्की निलम्वनको चिठी एक दिन अगावै तयार पार्ने काम सभामुखकै कक्षमा गर्नुभयोे, महान्यायाधिवक्ता श्रेष्ठले । अर्को रोचक पक्ष त, महाअभियोगको प्रस्तावको सूचना संसदको महासचिवलाई दिनुपर्ने संसद नियमावलीको स्पष्ट व्यवस्था विपरीत सभामुखकै कक्षमा कार्कीविरुद्ध महाभियोग दर्ता भयो । सभामुखकै कक्षमा छापामार शैलीमा सबै षडयन्त्र रचिए ।
न्यायाधीश रोक्न पनि छापामार शैली

न्यायपरिषदले सर्वोच्चका न्यायाधीशका लागि ११ जनाको नाम संसदीय सुनुवाईका लागि संसदमा पठाएको थियो । तर सभामुख घर्तिले पत्र फिर्ताको चिठी बाहिरबाटै तयार पार्न लगाउनुभयो, संसदका महासचिव मनोहरप्रसाद भट्टराई फटके किनारामा साक्षी बसेर पत्रमा हस्ताक्षर गर्नुभयो । ‘यो मेरो अधिकार हो, म यो मान्दिन’ भन्दै सभामुखले दवाव दिएपछि भट्टराईले हताक्षर गर्दै बाध्य भएर न्यायपरिषदमै पत्र फिर्ता गर्नुभएको थियो ।

एमालेविरुद्ध गलत हल्ला
सभामुख घर्तिले पछिल्लो पटक एमालेविरुद्ध गलत हल्ला फिंजाउनुभएको छ – ‘आफुविरुद्ध महाभियोग ल्याउन एमालेले गरेको प्रयास असफल भयो’ भन्दै । केही आफु निकटका सञ्चारकर्मीलाई बोलाएर टिकाटिप्पणी पनि लेख्न लगाउनुभयो, सभामुखले । तर कस्तो टिठलाग्दो तर्क, एमालेले सभामुखविरुद्ध महाभियोग ल्याउनैका लागि हस्ताक्षर संकलन गरेको भए बानेश्वरस्थित संसद भवनमा हस्ताक्षर संकंलन गथ्र्यो होला र ? त्यो पनि सत्तापक्षकै अगाडी ? ‘चोरको खुट्टा काट् भन्दा चोरले खुट्टा उचाले’ झैं सभामुखले किन त्यस्तो हल्ला फिंजाउनुपरेको होला ? बानेश्वारमा बसेको संसदीय दलमा को को सांसद उपस्थित छन् भनेर एमालेले गरेको हस्ताक्षर संकलनले सभामुख घर्तिलाई यति धेरै चिटचिटाहट किन ? या त न्यायपालिकाविरुद्ध जति षडयन्त्र गरेपनि असफल भएँ भन्ने निष्कर्षमा ओनसरी पुगेको हुनुपर्छ वा कार्की विरुद्धको महाभियोग पनि असफल भएपछि अव कुन मुखले जनतालाई के जवाफ दिने भन्ने छटपटी भएको हो, ओनसरीलाई ।

एउटा सत्य, तर तितो यथार्थ के हो भने जुन दिन ओनसरी घर्तिमगर पहिलो महिला सभामुख बन्नुभयो, अरु कुनै महिला त्यति ठूलो पदमा नपुगुन् भन्ने उहाँको भित्री चाहना देखिन्छ । पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीदेखि पहिलो महिला प्रधानन्यायाधीश बनेकोमा आफु ओझेलमा परेको महसुस गर्दै हुनुहुन्थ्यो ,घर्ति । सुवास नेम्वाङ्ग जस्तो संविधान, कानून र संसदीय राजनीति प्रणाली बुझेको व्यक्तिका अघि आफु सभामुख बन्नुपरेकोमा हिन भावनाबाट ग्रसित हुनुहुन्थ्यो, ओनसरी । नेम्वाङ्गलाई आफ्नो मुख्य प्रतिष्पर्धी र विरोधीका रुपमा व्यवहार गर्दै आएकी ओनसरीले पटक पटक न्यायाालिकामाथि षडयन्त्र रच्नु सभामुखजस्तो गरिमा र तटस्थ पदको दुरुपयोग हो भन्नेमा दुईमत छैन ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula