‘चाँगुनारायणलाई नमुना सहर बनाउँछु’

प्रकाशित मिति :2017-05-08 13:51:49


२०३७ सालदेखि नेकपा (एमाले) को पार्टी सदस्य भई राजनीतिमा होमिनुभएका सोम मिश्र भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयर पदका उम्मेदवार हुनुहुन्छ । उहाँले पार्टी राजनीतिकै क्रममा २०३९ सालमा एक वर्ष जेल जीवन बिताउनुभएको थियो । यस्तै, २०४३ सालको स्ववियु निर्वाचनमा पिपुल्स क्याम्पसमा स्ववियु सभापति भई काम गर्नुभएको थियो । यस्तै, २०४६ सालको जनआन्दोलनताका भक्तपरबाट आन्दोलनमा सहभागिता जनाउनुभएका मिश्रले २०४७ सालबाट नेकपा (एमाले) जिल्ला कमिटी भक्तपुरको सदस्यका रूपमा पार्टीमा काम गर्न थाल्नुभएको हो ।

२०५४ सालको स्थानीय निर्वाचनमा जिल्ला विकास समिति भक्तपुरको सदस्य विजयी हुनुभएको थियो । २०६० सालमा पार्टीको जिल्ला कमिटी उपसचिवका रूपमा काम गर्नुभएका मिश्रले २०६३ सालमा जिल्लाको प्रमुख भई काम गर्नुभएको अनुभव उहाँसँग रहेको छ । लामो समय भक्तपुरमै रही काम गरिराख्नुभएकाले जिल्लाको विकासका लागि गर्नुपर्ने विकास निर्माणका कामबारे उहाँ जानकार हुनुहुन्छ । २०६८ सालमा पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य र नवौं महाधिवेशनबाट पार्टीको वैकल्पिक केन्द्रीय सदस्यका रूपमा उहाँले काम गरिरहनुभएको छ ।
अहिले चाँगुनारायाण नगरपालिकामा सडक सञ्जालले विस्तारका लागि कामलाई आफूले अग्र भागमा राख्नुभएको छ । यस्तै, पर्यटकीय क्षेत्र भएकाले यसलाई विस्तारका लागि भ्यु टावर निर्माणका साथै पदमार्ग पहिचानका साथै त्यसलाई निरन्तरता दिने कामलाई अगाडि बढाउने उहाँको सोच छ । त्यसक्षेत्रको शिक्षाको अवस्था अन्य भागभन्दा अलि कमजोर अवस्थामा रहेकाले त्यसको विकासका लागि प्रतिस्पर्धात्मक र गुणस्तरीय शिक्षा उपलब्ध गराउन त्यहाँको सरकारी स्कुललाई पुनर्ताजगी गराउने उहाँको योजना रहेको छ । यस्तै, त्यहाँ एउटा तालिम केन्द्रको स्थापना गर्ने उहाँको योजना रहेको छ । ‘एक घर एक प्राविधिक’ को नारा लिएर अगाडि बढ्नुभएका मिश्रले पर्यावरणका लागि ‘एक घर दुई रूख’ को अवधारणालाई सशक्त रूपमा अगाडि बढाउने विचार रहेको छ ।
यस्तै, वीर अस्पताललाई चाँगुनारायणमा सार्ने कुरा अगाडि नै सरकारले अघि बढाइसकेको हुँदा त्यसलाई मूर्तरूप दिन उहाँ लाग्नुहुनेछ । यसका साथै ज्येष्ठ नागरिकलाई राज्यले दिने गरेको वृद्धभत्ता घरघरमा पु¥याउने योजना रहेको छ । यस्तै त्यस क्षेत्रमा सामाजिक हेल्प डेस्कको स्थापना गरी आम सर्वसाधारणलाई आवश्यकीय सहयोग गर्ने उहाँको सोच रहेको छ । यसलाई मूर्तरूप दिन आफूलाई निर्वाचित गराउन उहाँले सम्पूर्ण नगरपालिकावासीमा अनुरोध गर्नुभएको छ । आफू विजयी भइयो भने चाँगुनारायण नगरपालिकालाई भक्तपुरकै एक नमुना सहरका रूपमा विकास गर्न चाहेकाले यस योजनालाई सफल बनाउन आवश्यक सहयोगको अपेक्षा उहाँको नगरवासीसँग रहेको छ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula