चितवनका सातै तहमा एमाले बलियो : अध्यक्ष पोख्रेल

प्रकाशित मिति :2017-05-08 11:16:06

चितवन
नेकपा (एमाले) चितवनका अध्यक्ष कृष्णभक्त पोख्रेलले निर्वाचनको पूर्वसन्ध्यामा पार्टीले अघि सारेका उम्मेदवारहरूको पक्षमा जिल्लाका सातवटै स्थानीय तहमा देखिएको जनसमर्थनले सबै ठाउँमा जित हासिल हुने दाबी गर्नुभएको छ ।

निर्वाचन प्रचारका क्रममा आइतबार पश्चिम चितवनको पार्वतीपुर, पूर्वी चितवनको रत्ननगर, कालिका, राप्ती र खैरहनी नगरपालिका पुग्नुभएका जिल्ला अध्यक्ष पोख्रेलले सबै ठाउँमा अवस्था मजबुत रहेको बताउनुभयो । कालिका नगरपालिकामा आयोजित कोणसभामा बोल्दै अध्यक्ष पोख्रेलले समृद्धि, राष्ट्रियता, सामाजिक सुरक्षा र सुशासनको पक्षमा पार्टीले अघि सारेका ऐजेन्डा जनताले मन पराएको बताउनुभयो । ‘राष्ट्रिय स्वाभिमानका खातिर अटल रहने पार्टी एमाले नै हो, लोकतन्त्रको रक्षा र स्थानीय तहको विकास पनि एमालेबाटै मात्र सम्भव छ भनेर जनताले बुझिसकेका छन्,’ पोख्रेलले भन्नुभयो, ‘अब जितलाई कसैले रोक्नछेक्न सक्दैन ।’ जिल्लाको समानुपातिक विकासलाई मध्यनजर गर्दै पूर्वी चितवन क्षेत्रको समृद्धिका लागि एमालेले विशेष योजनाहरू ल्याउने उहाँले स्पष्ट पार्नुभयो ।

भरतपुर महानगरमा एमाले उम्मेदवारका खास प्रतिस्पर्धीले अन्यायपूर्ण ढंगबाट फिर्ता हुनुपरेकाले अब प्रतिस्पर्धी नै बाँकी नरहेको जिकिर गर्दै जित निश्चित रहेको दाबी गर्नुभयो । लोकतन्त्रप्रेमी जनता एमालेसँग पूर्ण रूपमा विश्वस्त रहेकाले कुनै पनि अधिनायकवादी तत्वले हराउन नसक्ने पोख्रेलको भनाइ छ ।

एमालेको सांगठनिक अवस्था र आमजनताले गरिरहेको समर्थन उल्लेख्य रहेकाले जिल्लामा कसैसँग तालमेल नगरिने अध्यक्ष पोख्रेलले प्रस्ट पार्नुभयो । ‘तालमेल नगरी हामी सातवटै तहमा चुनाव जित्दै छौं । त्यो हिम्मत र ताकत हामीसँग छ,’ पोख्रेलले भन्नुभयो ।

माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा पनि अहिले सञ्चालन भइरहेका प्रचार अभियान र जनताको सहभागिताले एमालेका उम्मेदवारहरू उत्साहित भएको पोख्रेलले जानकारी दिनुभयो । ‘आफ्नो गाउँ आफैं बनाऔं’ र नौ ‘स’को एमाले अभियानलाई जनताले कहिल्यै भुल्न नसकेको उहाँको भनाइ थियो ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula