दलीय राजनीतिमा व्यक्ति जेठो–कान्छोकाे कुनै अर्थ छैन -बालाराम शर्मा

प्रकाशित मिति :2017-05-07 15:09:08


उम्मेदवार, नेकपा (एमाले)

१. चुनाव लड्दै हुनुहुन्छ कस्तो महसुस गर्नुभएको छ ?
– अधिकार सम्पन्न स्थानीय तहको निर्वाचन वैशाख ३१ गते हुँदै छ । त्यसमा नेकपा (एमाले) को तर्फबाट प्रदेश नम्बर ६ को सम्भावित राजधानी वीरेन्द्रनगरको मेयरको उम्मेदवार बनेको छु । गर्वको महसुस गरेको छु । झन्डै २० वर्षपछि फेरि एकपटक वीरेन्द्रनगरवासी जनताको घरआँगनमा बसेर सुखदुःख बाँड्दै सेवा गर्ने अवसर मिल्नेछ भन्नेमा विश्वस्त छु ।
२. तपार्इं लामो राजनीतिक पृष्ठभूमि भएको त्याग तपस्या गरेको एउटा सिनियर नेता माथिल्लो तहको निर्वाचनमा जानुपर्ने फेरि किन स्थानीय तहमै ? त्यसमा केही आकर्षण भएरै हो कि ?
– मेरो राजनीतिक जीवनको यात्रा अरू साथीहरूको भन्दा लामो छ । झन्डै पाँच दशकको अविछिन्न राजनीतिक यात्रामा नथाकेर यात्रारत एक राजनीतिक कार्यकर्ता हुँ । मुलुकमा लोकतन्त्रको स्थापना गर्न मैले त्याग, तपस्या र योगदान गरेको छु । जनताको सेवा जुन ठाउँमा र जुन जिम्मेवारीमा बसेर पनि गर्न सकिन्छ भन्ने मेरो मान्यता रहेको छ । त्यसैले, तल र माथिको पदले तार्किक भिन्नता राख्दछ मलाई त्यस्तो लाग्दैन ।
३. तपार्इं दुईपटक माननीय र एकपटक मेयरका उम्मेदवार भइसकेको मान्छे फेरि यसपटक पनि तपाईं नै किन ?
– हो, अलि बढी चुनाव लडेको मान्छे हुँ । २०४२ सालको पञ्चायतको निर्वाचनमा म पार्टीको तर्फबाट जनपक्षीय उम्मेदवार बनेको थिए । त्यसबेलाको मेरो उद्देश्य चुनाव जित्नेभन्दा पनि व्यवस्थाको भण्डाफोर गर्ने थियो । दोस्रोपटक २०४८ मा माननीयको उम्मेदवार पनि भए र पराजित भए । २०५४ सालमा मलाई वीरेन्द्रनगरवासी जनताले विजय गराएर जनताको सेवा गर्ने अवसर प्राप्त गरेका हुँ । तर, पाँच वर्षको कार्यकाल सोचेजति काम गर्न पर्याप्त समय भएन । त्यस कार्यकालमा थालनी गरेका र गर्न बाँकी रहेका काम पूरा गर्नका लागि नै मेरो यसपटकको उम्मेदवारी हो ।
४. तपाईंले पहिलो कार्यकालमा गरेका र गर्न बाँकी रहेका उल्लेखनीय काम के–के हुन् त ?
– मैले मेरो पहिलो कार्यकालमा सम्पन्न गरेको एउटा महत्वपूर्ण कार्य पानीको अभावमा छटपटाइरहेका वीरेन्द्रनगर उपत्यकावासी जनतालाई जनताको साथ समर्थन र सहयोगमा बृहत् झुप्रा खानेपानी आयोजना सफलतापूर्वक सम्पन्न गरे र थोरै भए पनि जनताले पानीको सेवा पाउनुभयो । यद्यपि, त्यो अहिलेको अवस्थामा प्राप्त छैन । अहिले पुनः खरी खोला बोरी खोलाको थप आयोजना सम्झौता भयो र त्यो अन्तिम चरणमा पुगेको छ । यसले पनि उपत्यकावासीको हालको जनसंख्यालाई पुग्ने अवस्था छैन । त्यसैले, अब भेरीको पानी लिफ्ट गरेर उपत्यकामा ल्याउने मेरो सोच रहेको छ ।
५. यो चुनावमा जित्ने तपाईंका आधार के–के हुन् ?
– म नेकपा (एमाले) पार्टीको उम्मेदवार हुँ । यो निर्वाचनमा नेकपा (एमाले) ले जित्नुपर्छ । जित्नका लागि पर्याप्त आधार छन् । पहिलो आधार मेरो पार्टीले लिएको नीति, सिद्धान्त र लोकप्रिय कार्यक्रम तथा राष्ट्रिय राजनीतिमा खेलेको महत्वपूर्ण भूमिका हो । पछिल्लो समय देशको अखण्डता, स्वाभिमान र जनजीविकाका निम्ति लडेको लडार्इंले आज देशको शिर उच्च भएको छ । आमजनताको प्यारो पार्टी बनेको छ । दोस्रो आधार बलियो सांगठिनका आधार हो । तेस्रो आधार भनेको मेरो व्यक्तिगत आधार हो ।
६. तपाईंलाई अलि उमेर ढल्केको उम्मेदवार र एमालेले युवा उम्मेदवार नपठाएर पुरानै अनुहार दोहोरियो भन्ने पनि सुनिन्छ नि ?
–हो, मैले पनि मेरा प्रतिद्वन्द्वीबाट मेरो उम्मेदवारीबारे टिप्पणी पाएको छु । मेरो विचारमा दलीय राजनीतिमा व्यक्ति–जेठो कान्छो र राम्रो–नराम्रोले कुनै अर्थ राख्दैन । प्रमुख कुरा दलको नीति, सिद्धान्त र कार्यक्रम हो । राष्ट्रिय राजनीतिमा दलले खेलेको भूमिका जनता र राष्ट्रप्रतिको उसको इमानदारीपूर्ण समर्पण प्रमुख कुरा हो । लोकतान्त्रिक आन्दोलनमा मैले खेलेको भूमिका सुर्खेती जनताप्रतिको इमानदारीपूर्ण समर्पण र मेरो लोकप्रियताप्रति चुनौती दिने सामथ्र्य र ल्याकत नभएकाहरूले नै मेरो उमेरको प्राविधिक टिप्पणी गरेका हुन् । यसमा कुनै दम छैन ।
७. चुनावी अभियान कसरी चलाउँदै हुनुहुन्छ ?
– चुनावी अभियान प्रभावकारी बन्दै गएका छन् । घरदैलो, ¥याली र सभाहरू प्रभावकारी बनेका छन् । जनताको न्यानो माया र समर्थन हामीले दिनहुँ प्राप्त गरिरहेका छौं ।
८. अन्त्यमा मतदातालाई केही भन्नु छ कि ?
– आदरणीय वीरेन्द्रनगरवासी मतदातासँग मेरो व्यक्तिगत र राजनीतिक सामाजिक जीवन पुस्तकका पानाझैं खुला छ । पार्टीको नीति, सिद्धान्त र कार्यक्रम तपाईंहरूले बुझ्नुभएको छ । म पार्टीको इमानदार सिपाही हुँ । मेरो जित नेकपा (एमाले) को जित हो र सुर्खेती लोकतन्त्रप्रेमी र न्यायप्रेमी जनताको जित हो । त्यसैले, एकपटक फेरि सूर्यमा मतदान गरी वीरेन्द्रनगर नगरपालिकामा सेवा गर्ने अवसर दिनुहुन्छ भन्ने विश्वास लिएको छु ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula