ठाउँ ठाउँमा बागीले कांग्रेस-माओवादीमा भाँडभैलो

प्रकाशित मिति :2017-05-04 18:31:06

बागी उठाएकाे अाराेपमा निलम्वित माअाेवादी सांसद याेगेन्द्र घिसिङ र जाजरकाेटमा बागी उठेकी माअाेवादी नेतृ पार्वती थापा

काठमाडौँ: वैशाख ३१ मा हुन लागेको पहिलो चरणको स्थानीय निर्वाचनका लागि नेताहरूले आफ्ना आसेपासे र नातागोलार्इ टिकट बाँडेको विरोधमा ठाउँ ठाउँमा बागी उठेका छन् ।

कांग्रेसले बागी उठेमा पार्टीबाट निष्काशन गर्ने भनी दिएको चेतावनीका बाबजुत बागी उम्मेदवारी दर्ता भएका हुन् । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति सार्वजनिक गर्दै उम्मेदवारी फिर्ता नलिए बागी उम्मेदवारसँगै प्रस्तावक र समर्थकलाई कांग्रेसको विधान अनुसार कारबाही गर्ने निर्णय चेतावनी दिएका थिए ।

सुन्दर बजारमा प्रमुखसहित प्यानलै कांग्रेसको बागी

कांग्रेसको शीर्ष नेतृत्वले जिल्लामा गरेको योगदानको मूल्याङ्कन नै नगरी अर्कैलार्इ मेयरको टिकट दिएपछि लमजुङको सुन्दर बजारमा पार्टीका नगर सभापति द्वारिका मिश्र आधिकारिक उम्मेदवारविरूद्ध प्यानलै बनाएर बागीमा उठेका छन् ।

नगर सभापति मिश्रले नगरप्रमुखमा प्यानल निर्माण गरेर स्वतन्त्र उम्मेदवारी दिएपछि त्यहाँको कांग्रेसभा भाडभैलो मच्चिएको छ ।

नगरप्रमुखका लागि आफूले टिकट नदिर्इ बद्रीमान श्रेष्ठलाई छनौट गरेको भन्दै मिश्रले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

उनीसँगै उपप्रमुखमा रामचन्द्र अधिकारी, वडाध्यक्षका लागि १ नम्बरमा भुवनराज गौली, २ मा परशुराम केसी, ३ मा मुक्तिनाथ अधिकारी र ४ मा सुकबहादुर गुरुङले मनोनयन दर्ता गराएका छन् ।

४ नं वडा सदस्यमा विमला न्यौपाने, कृष्णविलास न्यौपाने, ज्ञानराज खनिया र शोभा परियारले उम्मेदवारी दर्ता गराएका छन्। यसैगरी ५ नं वडाध्यक्षका लागि सूर्यकुमार गुरुङ, ६ मा रामजी भट्टराई, ७ मा चन्द्रप्रसाद पोख्रेल, सदस्यमा सुदीप श्रेष्ठ र ९ नं अध्यक्षमा रामजी कँडेलले बागी उम्मेदवारी दिएका छन् ।

त्यसैगरी सदस्यहरुमा बासुदेव कँडेल र मंगली तामाङले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जानकारी दिएको छ ।

ललितपुर महानगरमै कांग्रेसलार्इ बागीको पीडा

ललितपुर महानगरपालिकामा कांग्रेसका बागी उम्मेदवार प्रेमलाल महर्जन

यता राजधानी सहर ललितपुरमै कांग्रेसले बागीको सामना गर्नुपरेको छ । ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका पुराना नेता प्रेमलाल महर्जनले बागी उम्मेदवारी दिएका छन्।

पार्टी केन्द्रले आधिकारिक उम्मेदवारको टिकट प्रमुख चिरीबाबू महर्जन र उपप्रमुख गीता सत्याललाई दिएको छ । आफ्नो योगदानको कदर नगरी अरूलार्इ टिकट दिइएपछि महर्जनले बागी दिएका हुन् ।

पार्टीले रोक्न कोशिश गरेपनि महर्जनले ललितपुर महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका हुन्। त्यहीँ एमालेले मेयरमा हरिकृष्ण व्यञ्जनकारलार्इ उठाएको छ । माओवादीले दिनेश महर्जनलाई मेयरको उम्मेदवार बनाएको छ ।

जाजरकोटको कुशे गाउँपालिकामा माओवादीका बागी

राजधानी सहरमा मात्रै होइन, बागीको पीडाले ६ नम्बर प्रदेशस्थित भेरीको जाजरकोटमा माओवादीले पनि ब्यहोर्नुपरेको छ। त्यहाँको कुशे गाँउपालिकामा माओवादी केन्द्रकी नेतृ पार्वती थापाले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । आफ्नो योगदानको बेवास्ता गरेको भन्दै उनले गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेद्वारी दिएकी हुन् ।

माओवादीनिकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय सचिव थापाले गाँउपालिका प्रमुखमा पार्टीले आफूलाई टिकट नदिएर अन्याय गरेछि बागी उम्मेदवारी दर्ता गराएको बताएकी छन् । महिला भएकै कारण पार्टीले टिकट नदिएको आरोप लगाउँदै उनले त्यहाँ जितेर देखाइदिने दाबी गरेकी छन् ।

माओवादी केन्द्रले पहुँचका भरमा जनकराज गौतमलाई टिकट दिएपछि थापाले बागी हालेकी हुन् ।

रसुवाको नौकुण्डमा कांग्रेसबाट बाबुछोरा नै बागी

बागीलार्इ सत्तारूढ दल नेपाली कांग्रेसले धेरै झेल्नुपरेको छ। रसुवाको नौकुण्डमा नेपाली कांग्रेसका लक्षिन नुर्पु तामाङले गाँउपालिकाको प्रमुखमा बागी उम्मेद्वारी दिएका छन्र । नुर्पुकै छोरा सुरेश तामाङले वडा नम्बर १ मा वडा अध्यक्षका लागि पनि कांग्रेसबाटै बागी उम्मेदवारी दिएका छन ।

ललितपुरमा माओवादी सांसद नै  निस्कासित

बागी उठाउन भूमिका खेलेको भन्दै ललितपुरमा नेकपा माओवादी केन्द्रले एकजना सांसदलार्इ नै पार्टीबाट निष्काशनको निर्णय गरेको छ।

ललितपुर माओवादी केन्द्रले समानुपातिक सांसद योगन्द्र घिसिङलाई साधारण सदस्य पनि नरहने गरी पार्टीबाट निस्कान गरेपछि त्यहाँ भाडभैलो भएको छ।

ललितपुर जिल्ला समिति सदस्यसमेत रहेका घिसिङलाई पार्टीको निर्देशनविपरित आफूनिकटकालाई टिकट दिन भूमिका खेलेको आरोपमा कारबाही गरेको हो ।

बुधबार बसेको ललितपुर जिल्ला कार्यसमितिको बैठकले उनलाई पार्टीबाटै निस्कान गर्ने निर्णय गरेको हो ।

आफूलार्इ निष्काशनको निर्णय गरिएपछि घिसिङले तीब्र रोष प्रकट गरेका छन् । ‘अमुक नेताको खल्तीको कागज र सनकबाट यो पार्टी चल्दै आएको छ’, घिसिङले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक दलभित्रको लोकतान्त्रिक प्रणालीको धज्जी उडाउँदै जंगबहादुर शैलीबाट पार्टी चल्दै आएको कुरामा गम्भीर आपत्ति र मतभेद राखेकै थिएँ ।’

घिसिङले  आफूलार्इ २०७० को दोश्रो संविधानसभा निर्वाचनमा उम्मेदवारको गाडी जलाउने र बम हान्ने अराजक गिरोहदले निष्कासन गरेको सुन्दा आश्चर्य नलागेको पनि उनले बताएका छन् ।  घिसिङमाथि ललितपुर पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध दुईजना पूर्व लडाकुलाई बागीमा उठाएको आरोप लागेको छ ।

रत्ननगरमा उपमेयरमै कांग्रेसका बागी

अर्कातिर चितवनको रत्ननगर नगरपालिकामै कांग्रेसविरूद्ध बागी उम्मेदवारी परेको छ । त्यहाँ उपमेयर र वडा अध्यक्षमा बागी उम्मेदवारी परेको हो । नेपाली कांग्रेसकी नेतृ लक्ष्मी चौधरीले उपमेयरमा बागी उम्मेदवारी दिएकी हुन् । त्यसैगरी कांग्रेसबाटै बन्धुराम चौधरीले वडा नं.९ मा वडा अध्यक्षमा बागीमा उम्मेदवारी दिएका छन् ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula