‘सिंगो जुम्लालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना छ’

प्रकाशित मिति :2017-05-04 15:20:28

काठमाडौं । विकट हिमाली जिल्ला जुम्लाको चन्दननाथ नगरपालिकालाई पर्यटकीय स्थलको रुपमा विकास गरी यहाँको वासिन्दाको आयस्रोत अभिवृद्धि गर्ने योजना नगरपालिका प्रमुखका एमाले उम्मेदवार शान्तिलाल महतको रहेको छ ।
यही बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट चन्दननाथ नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिनुभएका महतले चन्दननाथलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नेे योजना सार्वजनिक गर्नुभएको छ ।
‘चन्दननाथ नगरपालिकाभित्र रहेका मठ, मन्दिर, गुम्बा, स्तुपा लगायतको संरक्षण गर्दै यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्छौ’ महतले भन्नुभयो, ‘एमालेको सरकार निर्माणपछि हामीले पर्यटकीय क्षेत्रको रुपमा विकास गरी यहाँका वासिन्दाको आयस्रोतमा बृद्धि गर्ने छौं ।’
चन्दननाथ नगरपालिकाका १० वटै वडामा मोटरबाटो, खानेपानी, माध्यमिक बिद्यालय स्थापना गर्ने, ईन्टरनेटको सुबिधा पुर्याउने योजना एमालेले अगाडि सारेको छ ।
एमालेको तर्फबाट चन्दननाथ नगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिनुभएका मेनका रेग्मीले बृद्ध र एकल महिलाको भत्तामा बढाउने, गरिब, निमुखा, दलित छात्रछात्रालाई छात्रबृत्ति सहित अन्य व्यवस्था गर्ने योजना रहेको बताउनुभयो । धौलीगाड बृहत खानेपानी योजना सम्पन्न गर्न बिशेष जोडदिईने र सबैलाई स्वच्छ खानेपानीको व्यस्था गर्ने रेग्मीले बताउनुभयो ।
एमालेका नेता, सांसद एवं पुर्व राज्यमन्त्री समेत रहनुभएका बलवहादुर महतले एमालेको सरकार निर्माणसंगै जुम्लाको चन्दननाथ नगरपालिका सहित यस जिल्लाका सातवटै गाउँपालिकामा बेरोजगार युवालाई उद्योग खोली रोजगारी दिने योजना रहेको जानकारी गराउनुभयो ।
सांसद महतले विद्युत उत्पादन गरी एमालेले जुम्लाबासीलाई सहुलियत दरमा विद्युत सेवा उपलब्ध गराउने योजना एमालेको रहेको बताउनुभयो ।
‘एमालेको सरकार निर्माणका लागि म सबै मतदातामा सूर्य चिन्हमा मतदान गरौं भन्ने आग्रह गर्छु’ सांसद महतले भन्नुभयो, ‘एमालेको सरकार बनेसंगै जुम्लाको बृहत विकास गर्नेछांै, यहाँका सबैखाले समस्या एमालेले समाधान गर्छ ।’
एमालेका उम्मेदवारद्वय महत र रेगमी योग्य, शिक्षित, क्षमतावान् र जनतामा स्थापित लोकप्रिय नेताको रुपमा रहेकाले उहाँहरुको जित सुनिश्चित रहेको महतको दावी छ । यता नेपाली काँग्रेसबाट चन्दननाथ नगरपालिकामा प्रमुख पदमा उम्मेदवारी दिने तयारी गरेका राजुसिंह कठायतले काँग्रेसबाट टिकट नपाएपछि बिद्रोह स्वरुप चन्दननाथ नगरपालिकाको वडा नं. ५, ७, ८ र ९ मा वडा अध्यक्ष सहित सदस्यमा काँग्रेसको तर्फबाट उम्मेदवारी नै परेन ।

 

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula