महाभियोग विरुद्ध आम नागरिक

प्रकाशित मिति :2017-05-01 05:02:56

प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध कांग्रेस र माओवादी मिलेर छापामार शैलीमा महाभियोग दर्ता गरेपछि राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ भने नागरिक आक्रोश कांग्रेस र माओवादी विरुद्ध सोझिएको छ ।

स्वतन्त्र न्यायपालिका विरुद्ध षडयन्त्र गर्ने र उच्चतम न्यायिक सिद्धान्त कायम गर्दै आएकी प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध षडयन्त्रमुलक ढंगले महाभियोग प्रस्ताव दर्ता भएकोप्रति विभिन्न संघ संगठनले विरोध जनाएका छन् । आइतबार नै सामाजिक सञ्जालमा महाभियोगको विपक्षमा नागरिक अभिब्यक्तिको बाढी सुरु भयो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तत्काल महाभियोगको विरोध गर्यो र त्यसलाई असफल पार्ने घोषणा गर्यो । उसले महाभियोग अधिनायकवाद तर्फको यात्रा सुरु गर्ने सत्तारुढ दलहरुको चाल भएको वतायो । त्यस्तै राप्रपा अध्यक्ष कमल थापाले महाभियोग दुर्भाग्यपूर्ण भएको भन्दै आफ्नो दल सरकारबाट बाहिरिने वताए ।

आइतबार बेलुकी एमाले निकट अनेरास्ववियुले महाभियोग विरुद्ध काठमाडौंमा मसाल जुलुश प्रदर्शन गर्यो भने सोमबार एमालेका भातृ संगठनहरुले ३ बजे विरोध प्रदर्शन आयोजना गरेका छन् । नयाँ खुलेको साझा पार्टीले पनि माइतीघर मण्डलामा सोमबार विरोध प्रदर्शन गर्ने त्यसका संयोजक रवीन्द्र मिश्रले वताए ।

अर्काेतिर महाभियोग प्रस्ताव दर्ता गर्ने कांग्रेसका नेता तथा गृहमन्त्री बिमलेन्द्र निधिले त्यसप्रति असहमति भएको भन्दै राजीनामा दिएका छन् । त्यस लगत्तै कांग्रेस नेतृ सुजाता कोइराला र सांसद राधेश्याम अधिकारीले आफूहरुको हस्ताक्षर महाभियोग लगाउन दुरुपयोग गरिएको भन्दै त्यसप्रति समर्थन नभएको वताएका छन् । महाभियोगको विरुद्ध आम नागरिकको तर्फबाट ब्यापक विरोध आएपछि कांग्रेसका सांसदहरु लोकलाज धान्न पनि आफूहरुको हस्ताक्षर अर्कै प्रयोजनका लागि लिइएको भन्दै हस्ताक्षर फिर्ताको घोषणा गरिरहेका छन् ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula