गौर नगरको विकास नै शम्भु साहको अठोट

प्रकाशित मिति :2017-09-14 12:03:44

रौतहट ।

मधेश आन्दोलनको केन्द्रविन्दु रहेको रौतहटको गौर नगरपालिका क्षेत्र अहिले स्थानीय निर्वाचनले रंगिएको छ र एमालेमय बनेको छ । आउँदो असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट गौर नगरपालिकाको नगर प्रमुखका लागि स्थानीय समाजसेवी शम्भु साहले उम्मेदवारी दिएपछि गौर एमालेमय बनेको हो ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालको गृह नगर गौर नगरपालिकामा एमालेले जित्ने पक्कापक्की देखिएको यहाँका मतदाता नै बताउँछन ।
यता एमालेका गौर नगर प्रमुख उम्मेदवार साहले आफू ‘गौर नगरको समग्र विकास मेरो अभियान’ भन्ने मूल नाराका साथ आम मतदाता बीच गएको बताउनुुभएको छ ।
रौतहटको पुरानो नगरपालिका भएर पनि गौरमा ढल निकासको व्यवस्था नगरिंदा दुर्गन्धित र कुरुप अवस्थामा रहेको औल्याउँदै नगर प्रमुखका उम्मेदवार साहले सबैभन्दा पहिला ढल निकासलाई प्रथामिकताका साथ व्यवस्थित गर्ने आफ्नो योजना रहेको बताउनुभयो ।
साहले भन्नुभयो, “ गौर नगरकको मुटुमा रहेको गौर राइस मिलको जग्गालाई नगरपालिकाको स्वामित्वमा ल्याएर सुविधायुक्त र राम्रो रंगशाला निर्माण गर्ने मुख्य एजेण्डा हो, यसका लागि आम नगरबासीले सहयोग गर्नुपर्छ ।”

गौर नगरका अधिकांश सडक जिर्ण र भत्किएका छन्, जसका कारण आम गौरवासीलाई हरेक किसिमको समस्या भएको कुरा अवगत नै छ, यसको समाधानका लागि आफूलाई मतदाताले जिताउने कुरामा विश्वस्त हुनुहुन्छ एमाले उमेदवार साह ।

साह भन्नुहुन्छ,“विगत लामो समयदेखि नै एउटा सामाजिक व्यक्तिको हिसाबले पनि समाजका विभिन्न विकास निर्माणदेखि बिपत्तिमा समेत म सहयोगका लागि सक्रिय रहें । त्यसैले पनि यो निर्वाचनमा गौर नगरवासीले मलाई आप्mनो अमूल्य मत दिएर जिताउनु हुने छ ।”  जनता जनार्दन भएको बताउँदै एमाले उमेदवार साहले भन्नुभयोे “गौर नगरको मुहार फेर्नका लागि कुनै पनि बाधा अबरोधलाई हटाएर डटेर काम गर्ने मेरो इच्छा छ, जुन इच्छा जनताले पूरा गरिदिने मलाई विश्वास छ ।”
गौर नगरपालिका रौतहटको निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत पर्ने र सो क्षेत्र नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पटक पटक जितेको क्षेत्र पनि हो ।

-रमेश तिमलसिना

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula