प्रदेश २ बाट पहिलो शक्तिको छिनोफानो

प्रकाशित मिति :2017-09-10 14:10:34

 

– सूर्य थापा

प्रदेश नम्बर २ का ८ जिल्लामा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका, ५९ गाउँपालिका र १२७१ वडामा जनप्रतिनिधि छान्नका लागि असोज २ गते निर्वाचन हुन गइरहेको छ । स्थानीय तहको पहिलो र देस्रो चरणको निर्वाचन परिणाम आइसकेकाले पनि तेस्रो चरणको यो निर्वाचनमा बढी चासो छ।

नेकपा (एमाले) ले निर्वाचनका लागि उम्मेद्वारहरु एकमुष्ट रुपमा घोषणा गरी प्रभावकारी निर्वाचन अभियान थालनी गरिसकेको छ। मधेसी मोर्चा सम्मिलित भएर बनेको राजपासमेतले भाग लिने भएपछि यो निर्वाचन कम तनावपूर्ण हुने अपेक्षा गरिएको छ। उपेन्द्र यादव र विजय गच्छदारका पार्टी त पहिलो चरणदेखि नै निर्वाचनमा होमिएकै थिए।

मधेसकेन्द्रित दलहरु सबै निर्वाचनको प्रतिस्पर्धामा सरिक भएपछि संविधानको कार्यान्वयन र सर्वस्वीकार्यतासमेत बढ्न पुगेको छ। संविधान संशोधन प्रस्ताव प्रक्रियामा असफल भइसकेपछि सिर्जित यो नयाँ स्वीकारोक्ति र सकारात्मक माहोल हो। यस अवस्थामा प्रदेश नं २ मा मूलतः नेकपा (एमाले) र नेपाली काँग्रेसबीच नै तीब्र प्रतिस्पर्धा हुने स्थिति देखिएको छ।

प्रदेश २ मा अर्जुनदृष्टि
स्थानीय तहको दुई चरणमा सम्पन्न ६ वटा प्रदेशको निर्वाचन परिणामले धेरै प्रश्न र भ्रमहरुको छिनोफानो गरिसकेको छ। ‘लिम्बुवान’ को दुन्दुभी सिर्जना गर्नेहरू स्वयम् लिम्बुवानमा शून्यप्रायः हुन पुगेका छन्। ‘मधेसी’ समुदायका असली ‘मधेसवादी’ भन्नेहरूको ‘मधेस’ मा नै दयनीय अवस्था बन्न पुगेको छ। ‘टीकापुर’ जस्ता विगतमा रक्तरञ्जित षड्यन्त्रको मञ्चन भएका ठाउँ वा भैरहवा र शिवराज (चन्द्रौटा) वा खजुराजस्ता नगरपालिकाहरूमा एमालेले प्राप्त गरेको विजय अत्यन्तै अर्थपूर्ण रहेको छ। यसको सीधा सङ्केत हो– प्रदेश २ मा पनि एमाले अग्रणी शक्तिका रुपमा रहेको छ। त्यसको परिणाम प्रकट र सार्वजनिक गर्न नै एमालेको सम्पूर्ण ध्यान केन्द्रीत रहेको छ।जनमत भएर मात्रै पुग्दैन, त्यसलाई परिणाममा पु¥याउन र अभिव्यक्त गराउन सक्नुपर्दछ। त्यसका निम्ति सिङ्गो पार्टीपङ्क्तिको अर्जुनदृष्टि प्रदेश २ मा केन्द्रित गरिएको छ। पार्टी अध्यक्षदेखि केन्द्रीय कमिटी र निकायका सम्पूर्ण नेता–कार्यकर्तालाई यसै हिसावले प्रदेश २ मा परिलक्षित र परिचालित गरिएको छ। केन्द्रीय र प्रदेशस्तरीय योजना निर्माण तथा जिल्ला र स्थानीय तहस्तरीय परिचालन र कार्यान्वयनको ठोस प्रयास र जोडमार्फत नै तराई–मधेसमा विजयको सुनिश्चित माहोल सिर्जना गर्न सम्भव ठानिएको छ।

यद्यपि एमालेको लहरलाई बिथोल्न अनेकौं षड्यन्त्र, रक्तपात र तिकडमको मञ्चन गर्ने सम्भावना र खतरा पनि बढेका छन्। लाहानमा सूर्यध्वजाबाहक मेयरका उम्मेद्रवार मुन्नी साहलाई लक्षित गरी गराइएको बम बिस्फोट त्यसको एक दृष्टान्त हो। देशी–विदेशी तथा अलगाववादी र विखण्डनकारी शक्तिहरूले मूलतः एमालेविरुद्ध प्रहार केन्द्रित गर्न आफ्नो सम्पूर्ण बुता लगाउने निश्चित छ। त्यसको प्रतिवाद गर्दै ठोस योजना एवम् रणनीतिद्वारा विजय हासिल गर्नु आजको आवश्यकता हो।

तराईमा पहिलो हैसियत
दोस्रो चरणको निर्वाचन तराई–मधेसमा अवस्थित झापा, मोरङ, सुनसरी, उदयपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी १२ जिल्लामा सम्पन्न भैसकेको छ। यो तराई–मधेसका कूल जिल्लाहरूको बहुसङ्ख्या थियो। परिणाम हेर्दा यी १२ वटै जिल्लामा एमालेले सबभन्दा बढी स्थानीय तहमा नेतृत्व र वर्चस्व कायम गरेको छ। आफूलाई ‘मधेसवादी’ भनेका दलहरू अत्यन्त सानो सङ्ख्यामा विजयी भएको परिणाम सबैका सामुन्ने छ। यो परिणाम तेस्रो चरणका लागि समेत एउटा महत्पूर्ण सूचक हो।

अन्तिम चरणका लागि तराई–मधेसका आठ जिल्लाअन्तर्गत १ सय ३६ वटा स्थानीय तहको निर्वाचन हुन गइरहेको छ। पहिलो र दोस्रो चरणको निर्वाचन परिणामले के स्पष्ट गरेको छ भने १ सय ३६ वटा स्थानीय तहको बाँकी निर्वाचनमा पनि एमालेकै अग्रता र वर्चस्व कायम गर्न सम्भव छ। तराई–मधेसमा फैलाइएका भ्रमजालहरू तोड्दै अन्योल र भ्रमका तुवाँलो हटाउँदै एमालेले योजनाबद्ध रूपमा निर्वाचनको तयारी, परिचालन र परिणाम हासिल गर्ने क्रम जारी छ। कतिपय स्थानीय अन्तरविरोधहरू हल गर्दै राष्ट्रिय माहोल र लहरलाई प्रदेश २ सम्म विस्तार गर्न ध्यान केन्द्रित गरेर नै प्रतिकूलताका बीचमा अनुकूलता सिर्जना गरी सफलता हासिल गर्न सम्भव छ। मेची–महाकाली राष्ट्रिय अभियानमा अवरोध गरेर पूर्वनिर्धारित योजनामुताबिक सफल पार्न सम्भव नभएपनि २ नम्बर प्रदेशमा जनमतको समस्या होइन। यो समय योजनावद्ध जनपरिचालन र नेतृत्वको हो। यस हिसाबले पार्टीको सिङ्गो देशको ताकत प्रदेश २ मा केन्द्रित गरेर नै पार्टीले विराट सफलता हासिल गर्नसक्ने निश्चित छ।

दुई चरणको पहिलो विजेता
दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न सरकारले ‘कब्जियत’ शैली र किस्ता–किस्तामा अत्यन्तै अप्ठ्यारो र द्विविधा प्रदर्शन गरेको विदितै छ। पहिलो चरणमै एकसाथ सम्पन्न हुन सक्ने सम्भव स्थिति हँदाहुँदै जेठ ३१, असार ९ र असार १४ का मिति तय गर्दै/सार्दै अन्ततः रोपाइँ दिवसको अघिल्लो दिन असार १४ गते दोस्रो चरणको निर्वाचन गरियो। यो हरहिसाबले निर्वाचनका लागि उपयुक्त मौसम, समय र दिन थिएन। नागरिकको घरमा बिरामी वा मृत्युको स्थिति हुँदासमेत ‘शव ढाकेर रोपाइँ गर्ने बेला’ मा सरकारले निर्वाचनको दिन तोकेको थियो। तैपनि मतदाताहरू अत्यन्तै जागरुक बनेर २० वर्षपछि भएको निर्वाचनमा सक्रिय सहभागी हुन पुगे। ७० प्रतिशत हाराहारीमा मतदान हुनु आफैंमा ऐतिहासिक दृष्टान्त थियो।

निर्वाचन परिणाम अपेक्षाअनुरूप नै नभए पनि एमालेको पक्षमा आएको छ। राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सरकारमा हुँदा या नहुँदा हरेक भूमिकामा नेतृत्वदायी र खरो रूपमा उत्रिएको हुनाले यसपालि जनलहर एमालेको पक्षमा देखापरेको थियो। त्यसलाई बिथोल्न र बिगार्न अनेकथरी गठबन्धन र अवरोध, षड्यन्त्र र धाँधली अनि हिंसा र आक्रमणको सहारा लिएर सत्ताधारी गठबन्धन कसिलो मोर्चाबन्दीका साथ मैदानमा उत्रियो। तर जनता/मतदाता साथमा दृढ भएपछि अरू कसैको केही लागेन। एमालेले पहिलो चरणमा कायम गरेको पहिलो विजेताको हैसियतलाई निरन्तरता दिँदै दोस्रो चरणमा आइपुग्दा पुनः पहिलो शक्तिका रूपमा आफ्नो हैसियतलाई निरन्तर कायम गरिछाड्यो। अनेकौं प्रतिकूलता, घेराबन्दी र षड्यन्त्रका बाबजुद तिनको सामना गरेर छिचोल्दै र असफल पार्दै एमालेले आफूलाई जनलहरको संबाहक, पहिलो विजेता र राष्ट्रको पहिलो शक्तिका रूपमा स्थापित गरेको छ। २०७० सालको निर्वाचन परिणामको तुलनामा यो अत्यन्त महत्वपूर्ण सफलता, जनमतको हेरफेर र शक्ति सन्तुलनमा परिवर्तन नै हो।

प्राप्त मतमा पहिलो
दुवै चरणको निर्वाचन परिणाम हेर्दा प्राप्त मतमा समेत एमाले पहिलो लोकप्रिय पार्टी बन्न पुगेको छ। कुल मतमध्ये एमालेले २६ लाख ९८ हजार ७ सय ३६, नेपाली काङ्ग्रेसले २६ लाख ५६ हजार २ सय ७५ र माओवादी केन्द्रले १२ लाख ७५ हजार ३५ मत प्राप्त गरेका छन्। यसरी काङ्ग्रेसभन्दा एमाले कुल ४२ हजार ४ सय ६१ मतले अग्रस्थानमा रहेको छ र मुलुकको पहिलो पार्टीका रूपमा स्थापित हुन पुगेको छ। २०७० को संविधानसभा निर्वाचनमा प्रष्ट मतको तुलनामा ६ वटा प्रदेशमा मात्रै यो करिब ५ लाख मतको बढोत्तरी हो। प्रदेश नम्बर २ मा प्राप्त हुने मतपछि मात्र प्राप्त मतको कूलयोग आउने अपेक्षा गरिएको छ।

२९ जिल्लाको नेतृत्व
दुई चरणका निर्वाचन परिणामलाई हेर्दा ३९ वटा जिल्ला समन्वय परिषद्मा एमालेको नेतृत्व र वर्चस्व भएको छ । खासगरी ताप्लेजुङ, इलाम, पाँचथर, झापा, मोरङ, धनकुटा, खोटाङ, भोजपुर, सङ्खुवासभा, उदयपुर, तेह्रथुम, सोलुखुम्बु, सिन्धुली, मकवानपुर, चितवन, काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक, भक्तपुर, काठमाडौं, रसुवा, धादिङ, दोलखा, रामेछाप, पर्वत, म्याग्दी, मुस्ताङ, कास्की, लमजुङ, स्याङ्जा, पाल्पा, गुल्मी, रुपन्देही, दैलेख, मुगु, डोल्पा, कैलाली, डोटी, बझाङ र कञ्चनपुर जिल्लाहरुमा एमालेको सूर्य उदाएको छ। पहिलो चरणको तुलनामा दोस्रो चरणका जिल्ला समन्वय परिषद्को नेतृत्वमा वर्चश्व केही न्यून संख्या अवश्य हो। तर के स्पष्ट छ भने पहिलो चरणमा भन्दा दोस्रो चरणमा आइपुग्दा गठबन्धन/घेराबन्दी अत्यन्त चर्को थियो। त्यसका बाबजुद थप सात जिल्लामा एमाले पहिलो शक्तिका रुपमा उपस्थित भएको छ। यो सफलता चानचुने होइन।

गठबन्धनको चुनौती
स्थानीय तहका दुवै चरणको निर्वाचनमा प्रमुख प्रतिपक्ष एमालेविरुद्ध पोखरा–लेखनाथ (कास्की) र भरतपुर (चितवन) देखि नै घेराबन्दी र गठबन्धनका चुनौती तेस्र्याइएको थियो। दोस्रो चरणमा आइपुग्दा बुटवल उपमहानगरपालिकालगायत धेरै नगर र गाउँहरूमा गठबन्धनलाई अझ बढी फराकिलो र कसिलो पार्दै एमालेलाई चौतर्फी घेराबन्दी गर्न लक्षित गरिएको अवगतै छ। अहिले मूलतः पूर्व–पश्चिम राजमार्गकेन्द्रित भएर माओवादी केन्द्र र कांग्रेसबीच एमालेविरोधी गठबन्धन कस्ने प्रयत्न भइरहेको छ। यस्ता तमाम चुनौती, निषेध, घेराबन्दी र षड्यन्त्रलाई छिचोलेर नै थप र उन्नतस्तरकोे सफलता हासिल गर्न सकिन्छ।

गठबन्धनविरुद्ध लड्न/भिड्न पार्टीले विगतमा पनि स्थानीय विशिष्टताअनुरूप विभिन्न सहयोगी शक्तिहरूको खोजी गर्न ध्यान दिएको थियो। अहिले पनि अवश्यमेव नै गर्छ । त्यसो गर्दा आफ्नो नेतृत्व र वर्चस्व कायम गर्न अन्य शक्तिलाई सहयोगी वा सहयात्रीका रूपमा लिने प्रयास असम्भव भएको हो। जहाँ यसो गरियो, त्यहाँ एक हदसम्म सफलता कायम भएको स्थिति रह्यो। तर जहाँ आफ्नो शक्तिको आँकलन, विश्लेषण र तालमेलमा उचित ध्यान पुगेन, त्यहाँ परिणामअनुकूल हुन सकेन। कतिपय ठाउँहरूमा त गठबन्धन वा तालमेल गरी छाडेका पद र स्थानमा पराजय हुने, अरू सबैजसो स्थानमा विजय हासिल गर्ने अवस्थासमेत बन्यो। मूलतः स्थानीय तहमा पार्टी कमिटीहरूको सक्रियता, पहलकदमी र कुशलता प्रदर्शन हुँदा/नहुँदा नै निर्वाचनमा विजय/पराजय कारक र परिणाम बन्न पुगे। नेतृत्व कुशल देखिँदा सफलता नै हासिल भएको देखिएको छ।

प्रदेश २ को परिणामले नै एमाले राष्ट्रको पहिलो शक्ति बन्ने कि नबन्ने अन्तिम छिनोफानो लाग्नेछ। किनभने, स्थानीय तहमा पहिलो शक्ति भइसकेपछि मंसिर १० र २१ गते हुने प्रदेश र केन्द्रमा पनि पहिलो बन्न अझ सहज हुनेछ। तसर्थ, एमालेका लागि यो अत्यन्तै महत्वपूर्ण परीक्षा हो। यसमा सफलता हासिल गरेर नै पार्टीले निर्णायक विजय हासिल गर्न सक्दछ। र, आगामी प्रदेश तथा केन्द्रीय तहको निर्वाचनमा समेत दिग्विजय हासिल गरेर प्रदेश र केन्द्रमा बहुमतको सरकार दिने स्थिति सिर्जना गर्न सम्भव हुनेछ।

लेखक सूर्य थापा एमाले केन्द्रिय सदस्य तथा प्रचार विभाग उपप्रमुख हुनुहुन्छ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula