‘भताभुङ्ग माओवादीको लथालिङ्ग ताल’

प्रकाशित मिति :2017-07-20 09:06:36

काठमाडौं ।

सत्तारुढ दल माओवादी केन्द्रभित्र अहिले पार्टीले अवलम्बन गर्ने वैचारिक(राजनीतिक कार्यदिशादेखि सांगठनिक संरचनासम्ममा भाँडभैलो छ । पार्टी संगठनात्मक कार्यविधिबमोजिम बनाउनुपर्ने संरचना बनेको छैन भने सबैभन्दा माथिल्लो निकाय केन्द्रीय समितिकै कति नेता अहिले कुन अवस्थामा छन् भन्ने नेतृत्वलाई नै थाहा छैन ।
पार्टीको केन्द्रदेखि जिल्लास्तरसम्म कहाँ कति संख्याको कमिटी बनेको छ भन्ने तथ्यसमेत माओवादी केन्द्र सँग छैन । समावेशी र समानुपातिक प्रतिनिधित्वको नारा सबैभन्दा बढी उठाउँदै आएको उसले भद्दा र ठूलो आकारका संगठन निर्माण गरेको छ । ठूलो आकारका संगठन बनाएपछि माओवादी आफैंले भन्दै आएको ‘जनवादी केन्द्रीयताु को अभ्यास उसका सदस्यले कमिटीमा बसेर गर्न पाएका छैनन् । जसले गर्दा पार्टी संगठनमा निर्णय गर्ने अधिकार सीमित व्यक्तिमा केन्द्रित छ । त्यसमाथि नेतैपिच्छेको गुटले पार्टी संगठनलाई कमजोर बनाएको छ ।
पार्टी सचिवालय बैठकमै अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र ‘जोवन ढल्काउनेु र ‘गुटबन्दीु गर्ने नेताहरू देखिएको भन्दै कि गुटबन्दी रोक्न अन्यथा घोषित गुटबन्दी गर्न चुनौती दिनुपरेको छ । पार्टी हेडक्वार्टरमै रहेका नेता ‘सनकु का भरमा कहिले राजीनामा दिन्छन्, कहिले निष्क्रिय बसिदिन्छन् । पार्टी केन्द्रमै उसको ४ हजारको संगठन बनेको छ ।
जनवर्गीय संगठन र जातीय क्षेत्रीय मोर्चाभित्र झनै भाँडभैलो छ । कतिपय भ्रातृसंगठन र मोर्चाको वर्षौंदेखि सम्मेलन नै हुन सकेको छैन भने एकताका नाममा कतिपय संगठनका पदाधिकारी मात्रै पनि सयभन्दा बढीको संख्याको बनाइएको छ । मूल पार्टीको केन्द्र्रमा देखिएको भद्रगोल र अस्तव्यस्तताको प्रत्यक्ष असर भ्रातृसंगठन र जातीय-क्षेत्रीय मोर्चामा परेको छ ।
भ्रातृसंस्थाका कमिटी पनि जम्बो छन् । उसका विद्यार्थी, मजदुर, महिलालगायत २५ जनवर्गीय संगठन छन् । त्यस्तै, योङ कम्युनिस्ट लिगलगायत आठवटा सहायक संगठन, नेवाः, तामाङ, किराँतजस्ता ३४ वटा जातीय,क्षेत्रीय मोर्चा छन् । केही वर्षयता यी संगठनका कमिटी ठूलो बन्ने तर संगठनका गतिविधि, बैठक भने कहिल्यै नबस्ने अवस्थाले विघटित स्थितिमा छन् ।
सबैभन्दा सशक्त मानिएको वाईसीएलको अधिवेशन नै दर्जन बढी पल्ट मिति तोकिने र स्थगन हुने भइरहेको छ । अहिले पुनः ५ भदौका लागि मिति तय भएको छ । विद्यार्थी संगठन अखिल
(क्रान्तिकारी )को केन्द्रीय समिति ९ सय ९९ सदस्यीय छ । अध्यक्ष नरेन्द्र न्यौपाने कोहलपुरमा निर्वाचन लड्न गएपछि अहिले त्यहाँ कार्यवाहक अध्यक्ष को बन्ने ? भन्नेमा विवाद चुलिएको छ ।

समावेशी र समानुपातिक प्रतिनिधित्वको नारा उठाउँदै आएको माओवादी केन्द्रभित्र वैचारिक काम शून्य अवस्थामा पुगेको छ ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) ३२५ सदस्यीय केन्द्रीय समिति छ । शिक्षक संगठन ३५१, बुद्धिजीवी संगठन ३२५, दलित मुक्ति मोर्चा ४५१ सदस्यीय सम्मको केन्द्र छ । यी संगठनमा लामो समयदेखि एकै व्यक्तिले नेतृत्व लिइरहेका छन् । मजदुर संगठनमा मात्रै अन्य जवसमोर्चाको तुलनामा सानो कमिटी बनेको छ । अखिल नेपाल ट्रेड युनियन महासंघको भने १९९ सदस्यीय केन्द्रीय कमिटी छ ।
माओवादी केन्द्र यतिसम्म लथालिंग छ कि आफ्नै पार्टीको सदस्य संख्या कति छ भन्ने जानकारीसमेत उसलाई छैन । सदस्यता नवीकरण गर्ने र सदस्यताको अध्यावधिक विवरण केन्द्रीय कार्यालयसँग छैन । यद्यपि, उसले कुल तीन लाख हाराहारीमा पार्टी सदस्यता रहेको बताउँदै आएको छ ।
पार्टीको संगठनात्मक संरचना निर्माणका लागि नेता वर्षमान पुन नेतृत्वको समितिले बनाएको संगठनात्मक कार्यविधि पार्टी हेडक्वाटर्रदेखि पोलिटब्युरो सम्मले अनुमोदन गरे पनि कार्यान्वयनमा आएको छैन । पुनले संगठनलाई समानुपातिक समावेशी बनाउने गरी जनसंख्याका आधारमा कमिटीमा सहभागिता गराउने गरी कार्यविधि तयार पार्नुभएको थियो ।
माओवादीको संगठनभित्र अहिले सबैभन्दा माथिल्लो निकाय ‘हेडक्वार्टरु छ । ३५ सदस्यीय उक्त कमिटी नै व्यावहारिक नभएको स्वयं माओवादी नेताहरू नै बताउँछन् । हेडक्वार्टरमा नेताहरूको पदीय सन्तुलन छैन । वैचारिक÷राजनीतिक प्रस्टता नभएका र विषयको बुझाइमा कमजोरी भएका नेतासमेत अहिले माओवादीको हेडक्वार्टरमा छन् । जसकारण वैचारिक बहस पार्टी कमिटीमा हुन छाडेको माओवादीका एक वरिष्ठ नेता बताउँछन् ।
‘हेडक्वार्टरमै छलफलको वातावरण छैन भने अन्य कमिटीमा झन् हुने कुरै भएनु, ती नेताले भने, ‘त्यसपछि अध्यक्षलाई नै निर्णयका लागि सर्वोपरी अधिकार दिनुको विकल्प रहँदैन ।ु हेडक्वार्टरभन्दा तल्लो तहमा सचिवालय र त्यसभन्दा तल पोलिटब्युरोको संरचना माओवादीको छ । यी दुवै कमिटी पनि जम्बो छ । सचिवालय ९९ र पोलिटब्युरो ४ सय ९९ को संख्यामा छ ।
केन्द्रीय समिति नै ‘जम्बोु बनेपछि यति ठूलो केसको बैठक बस्नै व्यावहारिक समस्या छ । बैठक बस्न नसक्दा माओवादी पार्टी कार्यक्रमविहीन र कार्यकर्ता बेरोजगार छन् । आयोजक समितिको बैठक नै १४ महिनायता बस्न सकेको छैन । स्थानीय तहको निर्वाचन पार्टी बैठकविनै उसले लडेको छ । महाधिवेशन हुन सकेको छैन । उसले गत वर्ष पुस २३ गते महाधिवेशन गर्ने मिति तय गरेको थियो । तर, पार्टी अध्यक्षले नै सरकारको नेतृत्व गर्नुपरेको भन्दै महाधिवेशनको सट्टा राष्ट्रिय भेला गर्ने निर्णय गर्‍यो । तर, उसले राष्ट्रिय भेलासमेत अहिलेसम्म गर्न सकेको छैन ।
नेताहरू सहरकेन्द्रित छन् । लाभको पद प्राप्त गर्न जनता र कार्यकर्तामा जानेभन्दा नेताको वरिपरि घुम्ने प्रवृत्ति छ । संगठन कमजोर छ । माओवादी युवा नेता लेखनाथ न्यौपानेका अनुसार वैचारिक-राजनीतिक काममा माओवादी अहिले शून्यताको स्थितिमा छ । ‘पार्टी संगठन भद्दा भएकाले कमिटीभित्र छलफल हुने क्रम लगभग शून्य छ, वैचारिक÷राजनीतिक काम शून्य छ,ु न्यौपानेले भन्नुभयो, ‘नयाँ भर्ती हुने क्रम रोकिएको छ । पछिल्लो पुस्ता विचार आदर्शले आकर्षित हुनेभन्दा भौतिक सुख सुविधामा आकर्षित हुने अवस्था छ ।ु
कार्यकर्तामा आधारित पार्टीमा हुनुपर्ने नियमित भेला प्रशिक्षण शून्य छ । नेताको वरिपरि कार्यकर्ताभन्दा व्यापारीको पहुँच छ । पार्टीको स्कुलिङ विभागको गठन भएयता अहिलेसम्म बैठक नै बस्न सकेको छैन । अन्य शक्तिशाली मानिएका विभागको अवस्था पनि उस्तै छ । माओवादीमा अध्ययन तथा अनुसन्धान, संगठन तथा अनुगमन, अन्तर्राष्ट्रिय, आर्थिक, सदन विभाग र उत्पादन विभागजस्ता शक्तिशाली विभाग छन् । तर, ती प्रायः निष्क्रिय छन् ।

                                                                                                                                                -रामकृष्ण अधिकारी

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula