बझाङका आठ तहको परिणाम आउँदा एमाले पाँच स्थानमा विजयी

प्रकाशित मिति :2017-07-01 11:35:10

बझाङ ।
कूल १२ वटा स्थानीय तह रहेको बझाङमा अहिलेसम्म ८ वटा स्थानीय तहको परिणाम आइसकेको छ । जसमध्ये ५ स्थानमा नेकपा एमालेले जित हासिल गरेको छ । देशभरमै यही जिल्लाको मस्टा गाउँपालिकामा जितेर एमालेले विजयकोे खाता खोलेको थियो ।

शुक्रवार घोषणा भएका थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका भूवनेश्वर उपाध्यायले २ हजार ७ सय ७८ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काङग्रेसका राम खातीले २ हजार ५६ मत ल्याउनुभएको थियो ।

थलाराको उपाध्यक्ष पदमा एमाले कै गंगु देवी खडायत निर्वाचित हुनुभएको छ । उहाँले २ हजार ६ सय ६३ मत ल्याउनु भएको थियो भने उहाँको प्रतिद्धन्द्धी नेपाली काङग्रेसकी पिंकी भण्डारीले २ हजार ३५ मत प्राप्त गर्नुभएको छ ।

तल्कोट गाउँपालिकाको अध्यक्षमा एमालेका लालबहादुर विष्टले नेपाली काँग्रेसका राजेन्द्रबहादुर सिंहलाई ६४ मत अन्तरले पराजित गरेको एमाले जिल्ला कमिटीका अध्यक्ष डिलबहादुर सिंहले बताउनु भयो । उपाध्यक्ष पनि एमालेले नै जित हासिल गरेको छ ।

वित्थडचिर गाउँपालिकाका पनि एमालेले कब्जा गरेको छ । नेकपा एमालेका प्रेम बोहरा २ हजार ७ सय ११ मत ल्याएर विजयी हुनुभएको छ । काङग्रेसको गढ मानिएको यस गांउपालिकामा काङग्रेसको तर्फ बाट अध्यक्षका उम्मेदवारले भने २ हजार २ सय ५२ मत प्राप्त गर्नुभएको थियो । यस्तै उपाध्यक्षमा पनि एमालेकी जानकी बोहराले २ हजार ८ सय २६ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाँको प्रतिद्धन्द्धी काङग्रेसकी कमला जोशीले २ हजार ३ सय ३० मत प्राप्त गर्नुभएको छ ।

यस्तै दुर्गाथली गांउपालिकामा पनि अध्यक्ष उपाध्यक्ष सहित बहुमत वडा नेकपा एमालेले जितेको छ । दुर्गाथलीमा एमालेका प्रयागराज जोशीले १ हजार ५ सय ९० मत प्राप्त गरेर विजय हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली काङग्रेसका जनक दौल्यालले १ हजार ४ सय ५३ मत प्राप्त गर्नुभएको छ । यस गांउपालिकाको उपाध्यक्ष पदमा एमालेकै पार्वती जप्रेलले १ हजार ६ सय १२ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँको प्रतिद्धन्दी नेपाली काङग्रेसकी शान्ति महत १ हजार ५ यस मत पाउनु भएको थियो ।

बिहीबार सार्वजनिक भएको मत परिणाममा मष्टा गांउपालिकामा एमालेका कर्णबहादुर कठायत र उपाध्यक्षमा एमालेकै भगवती बोहराले जित्नुभएको थियो ।
नेपाली काँग्रेसले बुङगल नगरपालिकाका साथै काडाँ र सुर्मा गाउँपालिकामा जित हासिल गरेको छ । मत गणना जारी रहेका बाँकी ४ स्थानीय तहमध्ये ३ वटामा एमालले अग्रता लिएको भने काँग्रेसले १ स्थानमा अग्रता लिएको छ ।

एमालेले अग्रता लिएका स्थानीय तहमा जयपृथ्वी नगरपालिका, छबिस पाथिभेरा र केदारस्यू ंगाउँपालिका छन् । काँग्रेसले खप्तडछन्ना गाउँपालिकामा अग्रता लिएको छ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula