कैलालीमा राप्रपाका वडा अध्यक्ष उम्मेदवारसँगै सयौँ एमाले प्रवेश  

प्रकाशित मिति :2017-06-26 18:20:56

 

कैलालीमा राप्रपाका वडा अध्यक्ष उम्मेदवारसँगै सयौँ एमाले प्रवेश

१२ असार । दोस्रो चरणको स्थानीय निर्वाचन आउन दुई दिन मात्र बाँकी छ । १४ असारमा निर्वाचन हुने तीन वटै प्रदेशमा मौन अवधी सुरु भएको छ ।

तर, ती प्रदेशहरुमा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेको लहर भने थामिएको छैन । सोमबार मात्रै कैलालीका विभिन्न स्थानमा माओवादी, राप्रपा, कांग्रेससँगै अन्य विभिन्न पार्टी परित्याग गरी सयौँले एमाले प्रवेश गरेका छन् । एमालेका केन्द्रीय सदस्य झपट रावलले दिएको जानकारी अनुसार कैलालीको टिकापुरमा राप्रपा जिल्ला कमिटीको सदस्य तथा त्यही नगरपालिकाको वडा नं. ४ बाघमाराका वडाध्यक्ष उमेदवार फक्कू थारू नै एमाले प्रवेश गरेका छन् ।

उनीसँगै गोरखवहादुर कुँवर पनि एमालेमा प्रवेश गरेका छन् । त्यसैगरी लम्कीमा माओवादीका जिल्ला कमिटी सदस्य एवं वाइसीएलका केन्द्रीय सदस्य लोकबहादुर विष्ट पनि एमाले प्रवेश गरेका छन् । त्यसैगरी घोडाघोडी नगरपालिकामा माओवादी केन्द्रीय सदस्य खुशीराम चौधरी पनि एमाले प्रवेश गरेका छन् ।

उनीसँगै विभिन्न राजनीतिक दलका सयौँ नेता–कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन् । उनीहरुले एमाले राष्ट्रवादी पार्टी भएको र राष्ट्रियताका पक्षमा दह्रो गरी उभिएको भन्दै एमाले प्रवेश गरेको जनाएका छन् । उनीहरुलाई एमाले महासचिव ईश्वर पोख्रेल र केन्द्रीय सदस्य रावलले टिका लगाएर स्वागत गर्नुभयो । रावलले कैलालीका १३ मध्ये कम्तीमा १० स्थानमा एमाले विजयी हुने दाबी गरे ।

 

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula