पहिलो निर्णय के गर्दैछन् काठमाडौँका मेयरले ?

प्रकाशित मिति :2017-05-28 12:09:33

काठमाडौँ ।

काँग्रेसका राजुराज शाक्यलाई पराजित गर्दै काठमाडौँ महानगरपालिकामा विजयी मेयर विद्यासुन्दर शाक्यले कार्यभार सम्हालेको पहिलो दिनदेखि नै आफ्ना प्रतिवद्धता पूरा गर्ने बताउनु भएको छ । सपथ लिएकै दिनदेखि लागु हुने गरी ८४ वर्ष उमेर भन्दा माथिका महानगरभित्रका जेष्ठ नागरिकलाई बार्षिक १५ हजार महानगरभत्ता दिने घोषणा गर्ने उहाँले बताउनुभयो ।

उहाँले ८४ वर्ष भन्दा माथिका महानगरभित्रका जेष्ठ नागरिकलाई प्रत्येक महिना घर–घरमै गएर निशुल्क स्वास्थ्य परीषण गर्ने व्यवस्था गर्ने घोषणा पनि त्यही दिनबाट लागु हुने गरी गर्ने उहाँले जानकारी दिनुभयो । महानगरभित्र धुलो–धुँवामुक्त नो माक्स सीटी बनाउन कार्यदल बनाएर तत्काल कार्य आरम्भ गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

भ्रष्टाचारमुक्त प्रशासनका लागि ‘इ–गर्भनेन्स’ पद्धतिको थालनी गर्न तत्काल आवश्यक सफ्टवेयर निर्माण गर्ने कामको व्यवस्था गर्ने, तत्काल वडा–वडामा फ्री वाइफाई जोनको व्यवस्था गर्ने, महानगरभित्रको अस्तव्यस्त यातायातलाई व्यवस्थित तथा अनुनिकीकरण गर्न मेट्रो रेल, सीटी बस आदिको निर्माण तथा सञ्चालन गरी व्यवस्थित यातायातको व्यवस्था गर्ने कार्यका लागि पहिलो दिनबाट कार्यदल बनाएर कार्य प्रारम्भ गर्ने पनि उहाँले जानकारी दिनुभयो । ‘भूकम्प पीडित महानगरवासीहरको समस्या समाधान गर्न तत्काल कार्य प्रारम्भ गर्ने पनि घोषणा गर्दछु,’ उहाँले भन्नुभयो, ‘नेपाली भाषा र नेपाल भाषालाई महानगरपालिकामा कामकाजको भाषाका रुपमा प्रयोगमा ल्याउने पनि घोषणा गर्न चाहन्छु ।’

सपथ र विजय जुलुस १६ गते
एमालेले काठमाडौँ महानगरको विजयी जुलुस १६ गते गर्ने भएको छ । न्युरोड गेटबाट दिउँसो एक बजे विजयी जुलुस सुरु हुने एमालेले जानकारी दिएको छ । निर्वाचित मेयर र अन्य पदाधिकारीहरुले सपथ पनि १६ गते नै लिने छन् ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula