यस्तो छ नेपाली काँग्रेसको पहिचान

प्रकाशित मिति :2017-05-13 17:47:13

– डा. गोविन्दबहादुर थापा

१. काँग्रेसीहरुको बिपन्न वर्गका सामान्य मान्छेलाई मान्छे नगन्ने, हेप्ने जन्मजात चरित्र छ । उनिहरुमा ठालु हुने, आफुलाई मै हुँ भनी ठान्ने प्रबृत्ति छ । उनिहरु सामान्य मानिस भन्दा आफुलाई अलग्गै र बिशेष देखाउन चाहन्छन् । सामान्य मानिसहरुसंग घुलमिल हुन आफ्नो जातै जाला जस्तों गर्दछन् । यो उनिहरुको जन्मजात बर्गीय चरित्र हो । त्यसैले समान्य मानिसहरु काँग्रेसीहरुको नजिकै पर्न चाहदैनन् । सामान्य मानिसहरुमा काँग्रेस हुँ भन्नेहरुबाट एक किसिमको डर त्रास हुन्छ । त्यसैले यस्ता सामान्य मानिसहरु काँग्रेसीहरुबाट टाढै रहन चाहन्छन् ।


२. केहि अपबाद बाहेक बहुसंख्यक काँग्रेसीहरुमा ईमान्दारिता नामको चिज नै हुदैन । आफ्ना निकटस्थहरुसंग समेत ढाँटछल, छलकपट, तिकदम, जालझेल, प्रपन्च रच्ने उनिहरुको खास बिशेषता हो । काँग्रेसहरु आफन्तहरुसंग पनि कहिल्यै सोझो बोल्दैनन् । झुठा मुद्धा लगाएर बिरोधिलाई दुख दिने, फँसाउने, होच्याउने उनिहरुको खास प्रबृत्तिहो । झुटा मुद्धाको प्रसङ्ग चल्दा काँग्रेसको नाम संगसंगै जोडिएर आउँछ । त्यसैले सामान्य मानिस सकेसम्म काँग्रेसीहरुसंग तर्केर हिड्दछन् ।

३. काँग्रेस भ्रष्टाचार, आर्थिक अनियमितता, घुस, कमिशन आदिप्रति अत्यन्त नरम दृष्टिकोण राख्दछ । उ जसरी र जे गरेर भएपनि सम्पत्ति थुपार्नु पर्दछ भन्ने मान्यता राख्दछ । त्यसैले ठग्ने, लुट्न,े धोखा दिने, बेईमानी गर्ने, घुस, कमिशन खाने उस्को लागि सामान्य कुरा हुन्छन् ।

त्यसैले त भनिन्छ—गरिब काँग्रेस हुदैन, काँग्रेस गरिब हुदैन । कोही गरिब परिबन्दमा परेर वा कुरा नबुझी काँग्रेसी भयो भने पनि उस्लाई अरु काँग्रेसीले दासलाई झै हेयको दृष्टिले हेर्ने र व्यवहार गर्ने गर्दछन् । जसरी कमाएको भएतापनि एउटा काँग्रेसीले अर्को काँग्रेसीको खोजिनीति र नकारात्मक टिका टिप्पणी गर्दैन । कहाँ मौका पाएछ मात्र भनेर छोडि दिन्छ । बरु भ्रष्टाचार गर्नेलाई अप्ठ्यारो पर्यो भने उल्टै सहयोग गर्न पुग्दछ ।

किनभने कुनै दिन उ आफै पनि त्यस्तो अप्ठ्यारोमा पर्न सक्ने सम्भाबना उसले देखिरहेको हुन्छ । नेपाली काँग्रेसले लोकमान सिंह कार्कीलाई यही कारणले संरक्षण गरेको हो । एकाध अपबाद बाहेक धेरै जसो काँग्रेसीहरु यस्तै हुन्छन् । २०४८ सालको चुनाव पछि ३० बर्षमा गठन भएको पहिलो काँग्रसी सरकारका कतिपय बरिष्ट मन्त्रीहरुलाई त्यतिखेर नै कमाउ धन्दामा लागेको आरोप लागेको थियो । धमिजा काण्ड त्यतिखेर नै घटेको काण्ड हो, जस्मा स्वयम गिरिजा प्रसाद कोईराला संलग्न भएका थिए । काँग्रेस सत्तामा रहँदा यस्ता अनगिन्ती काण्ड भएका छन् ।

भर्खरै उजागर भएको कर फस्र्योट आयोग काण्ड त्यो क्रमको पछिल्लो कडि हो । काँग्रेसका बरिष्ट मन्त्रीहरु भ्रष्टाचार मुद्धामा दोषि ठहरिनु यस कुराको अर्को ज्वलन्त उदाहरण हो । यसरी ३० बर्षसम्मको संघर्ष पछिको पहिलो सरकारको सुरुदेखि नै नेपाली काँग्रेसले यस्तो परम्परा बसाल्यो ।

४. नेपाली काँग्रेस आधारभूत रुपमा सामान्ती संस्कार र प्रबृत्ति भएको शोषक बर्गको प्रतिनिधित्व गर्ने पार्टी हो । गाउँका यस्तै प्रबृत्ति भएका मानिसहरु सबै त्यँहा काँग्रेस भएका छन् । उनिहरुको सामाजिक र धार्मिक रितीरिवाजमा यहि संस्कार र प्रबृत्ति प्रष्ट रुपमा झल्किन्छ । तिनले गाउँका सिधासाधा मानिसलाई, सताउने, बिरोध गर्नेलाई झुटा मुद्धा लगाई फसाउँने, दुख दिने गर्दछन् । काँग्रेसले देशभरीका यस्तै मानिसहरुको प्रतिनिधित्व गर्दछ । बिरोधिलाई झुटा मुद्धा लगाउने नेपाली काँग्रेसको पहिचान नै भएको छ ।

५. नेपाली काँग्रेस हामीले बिर्ता र जमिन्दारी प्रथा उन्मुलन गर्यौ भनेर गर्व गर्दछ । तर त्यो २०१६ सालमा बी.पी. को सरकारले गरेको काम हो । के अहिले शेरबहादुरको काँग्रेस बी.पी.को काँग्रेस जस्तो छ ? बी.पी. प्रजातान्त्रिक समाजबाद भन्दथे । तर देउवा काँग्रेस समाजबादको नाम सुन्दैमा मुण्टो बटार्छ । अहिलेको काँग्रेस राजनीतिक र सामाजिक रुपमा सहि अर्थमा यथास्थितिबादी र कतिपय सन्दर्भमा अझ प्रतिगामी पार्टी भई सकेको छ ।

उ कुनै पनि बिषयमा प्रगतिशील परिबर्तनको बिरोधि छ । कमैया र कम्लरी मुक्ति, हलियामुक्ति, सुकुम्बासी समस्याको समाधान, छुवाछुत प्रथाको उन्मुलन आदिको घोषणा गर्न नेकपा (एमाले) ले काँग्रेससंग कत्रो लडाई लड्नु पर्यो भन्ने कुरा दुनियालाई थाहा छ । उल्टै यी काम हामीले गरेका हौं भन्दा उसलाई रत्तिभर लज्जाबोध हुदैन ।

यसले पनि उसको प्रबृत्ति जाहेर गर्दछ । संसदीय प्रणालीको कारणले देशमा राजनीतिक स्थिरता नभएको कुरा महसुश गरेर पनि त्यही यथास्थिति र सामन्तबादी संस्कारको कारणले संबिधान निर्माणको क्रममा काँग्रेसले यो प्रणालीको पक्षमा अडान लिई रह्यो, त्यसको बिकल्पमा जान मानेन । र, नयाँ संबिधान आईसकेपछि पनि राजनीतिक अस्थिरताले निरन्तरता पायो । त्यसैले बिगतमा झैं यस पटक पनि नेपालको राजनैतिक अस्थिरताको कारक नेपाली काँग्रेस नै भएको छ ।

६. नेपाली काँग्रेस बिदेशीहरु प्रति दास मानसिकता भएको, बिदेशीहरुको दलाली गर्ने प्रबृत्ति भएको पार्टी हो ।

जनतालाई भन्दा बिदेशी शक्तिलाई रिझाएर सत्तामा जान खोज्ने र सत्तामा टिक्न खोज्ने पार्टी हो । यहि भएर त त्यस पार्टीका हालका सभापति ‘हामीलाई बिदेशीले पत्याउँछन्’ भन्दछन् । कोशी र गण्डक योजना, टनकपुर सन्धि उसको यही नीति अन्तर्गत भएका सम्झौता हुन् ।

कर्णाली र अरुण तेश्रो जलबिद्युत आयोजना भारतीय कम्पनिलाई दिने काम पनि उसले यही नीति अन्तर्गत गरेको हो ।

सत्तामा जानको लागि उसले बिदेशी शक्तिलाई जे मागे पनि दिने गर्दछ । बिगतमा पटक पटक उसले गरेका यस्ता कामबाट यस कुराको पुष्टि हुन्छ । यसरी नेपाली काँग्रेस राष्ट्रियताको सवालमा अत्यन्त कमजोर अडान भएको पार्टी हो । यसबाट उसको नेतृत्वमा नेपालको स्वाभिमान र सार्बभौमिकता सुरक्षित हुदैन भन्न हच्किनु पर्दैन ।

७. नेपाली काँग्रेस आफु लोकतन्त्रको मसिहा भएको दावी गर्दछ तर उसको लोकतन्त्र सतहमा मात्र हुन्छ, केन्द्रीय स्तरमा मात्र हुन्छ, जनस्तरमा हुदैन, जनताको घरदैलोसम्म पुग्दैन । किनभने जनस्तरमा लोकतन्त्र पुगेमा जनताको चेतनाको स्तर माथि उठ्छ र गाउँठाउँमा उसको शोषण, दमन र उत्पीडन चल्न छोड्छ । उसले भ्रम छरेर हैकम चलाउन पाउँदैन । उसको लोकतन्त्र जनताको आर्थिक, सामाजिक अबस्थासंग सरोकार राख्दैन । उसको लोकतन्त्रमा केन्द्रीय स्तरका नेताहरुले भाषण गर्न पाए पुग्छ । जनताको गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, शोषण, उत्पीडन आदि समस्यालाई सम्बोधन गर्नु उसको लोकतन्त्रको परिभाषाभित्र पर्दैन । जनतालाई अधिकार दिने कुरा सुन्ने बित्तिकै काँग्रेसलाई कामज्वरो आउँछ । तर मुखले चाहिं उत्पीडित जनताको मुक्तिदाता आफै भएको दावी गर्न बेर लगाउदैन ।

८. नेपाली काँग्रेस बिकासको सन्दर्भमा मौलिक सोच र चिन्तनको मरुभूमि भएको पार्टी हो । उसले जानेको कुरा केवल उदारीकरण, निजीकरण र बिश्वव्यापीकरण, बजार र निजी क्षेत्र मात्र हो । यी कुरा पनि उसका आफ्ना होईनन् र हुने पनि कुरै भएन ।

उसले यी कुरा अन्तर्राष्ट्रिय मुद्रा कोष, बिश्व बैंक, बिश्व व्यापार संगठन र एशियाली बिकास बैंकबाट सिकेको हो । त्यसैले देशका विपन्न र सीमान्तकृत वर्ग, पछाडि परेको क्षेत्र, भूमिहीन किसान, सुकुम्बासी, मजदुर, दलित आदिको आर्थिक तथा सामाजिक उत्थान गर्ने उसंग न कुनै दृष्टिकोण छ न चाहना नै । साच्चै भन्ने हो भने यदि नेपालमा नेकपा(एमाले) नउदाएको भए उसले अहिलेसम्म पनि ती वर्ग र तप्काका जनताको उत्थानको निमित्त अहिले भनिए जति कुरा भन्नसम्म पनि सक्ने थिएन ।

उसले यी सबै कुरा बिगतमा एमालेले बजेट मार्फत ल्याएका कुरा सुनेर, जानेर, सिकेर भन्न र लेख्न थालेको हो । यदि यसो हुदैनथ्यो भने २५ बर्षमा २० बर्षभन्दा बढी सत्तामा रहेको र त्यति नै संख्यामा बजेट पेश गरेको काँग्रेसले गरिबसंग बिश्वेश्वर भन्ने बाहेक अरु कुनै नयाँ जनमुखी कार्यक्रम ल्याएको भए काँग्रेसीहरुले भनुन् । काँगे्रसमा बिकासको सोच, दृष्टिकोण र चिन्तनको यस्तो अभाव छ ।

९. नेपाली काँग्रेसले जनताको सेवा गर्ने भन्ने कुरा जानेकै छैन । उ त समाजको ठालु हो, ठालुले त जनताबाट सेवा लिन्छ, आफुभन्दा तल्लो वर्गका निम्सरा जनताको सेवा गर्न उसलाई कहाँ सुहाउँछ ? त्यसैले चुनाव नआईन्जेल काँग्रेस गाउँ फर्कदैन, जनता कँहा जादैन, सहर बजार तिर, सदरमुकामतिर गफ हाँकेर, मोज मस्ती र एैयाश गरेर बस्छ ।

जब चुनाव घोषणा भई उमेदवारी दर्ता हुन्छ तव साम, दान, दण्ड, भेदको नीति अँगाल्दै, पैसा बाँडेर, प्रहरी प्रशासन र गुण्डाहरुको सहयोगमा बुथ कव्जा गरेर चुनाव जित्न खोज्दछ । उसले अहिलेसम्म जितेका चुनाबमा यस्ता करतुतको निर्णायक भुमिका रहेको कुरामा काँग्रेसी जनले मात्र बिमति जनाउलान् । जनता यस कुराका भलिभाँति जानकार छन् ।

१०. नेपाली काँग्रेसको अर्को चरित्र कस्तो छ भने उसले देशमा प्रचलित ऐन कानुन मान्ने होईन त्यसलाई छल्ने, त्यसको अबज्ञा गर्ने कुरा हो भन्ने ठान्दछ । अर्थात आफु कानुनभन्दा माथि रहेको र कदाचित कानुनको नजर परि हाल्यो भने पनि त्यसलाई भनसुन गरेर, अनेक तरिकाले दबाव दिएर, पैसा खुवाएर, धमकी दिएर तर्काउने कोशिश गर्दछ र धेरैजसो घटनामा उ सफल पनि हुन्छ ।

नेपालमा लामो समयदेखि कायम रहेको र बढ्दै गएको दण्ड हिनताकोे कारण त्यहि हो । उ जतिसुकै ठुलो अपराधि, कानुन बिपरित काम गर्ने वा भ्रष्टाचारी भएतापनि म काँग्रेसी हुँ वा अब हुन्छु भन्दै काँग्रेसको जुनसुकै नेताको शरणमा गयो भने पनि उसले त्यस्तो व्यक्तिलाई जोगाउने, बचाउने र संरक्षण गर्ने काम गर्दछ । र, त्यस्तो व्यक्ति अझ अगाडि बढेर कानुनलाई आफ्नो हातमा लिने काम गर्दछ ।

यी सबै कुराहरुको आधारमा ढुक्कसंग के निष्कर्ष निकाल्न सकिन्छ भने नेपाली काँग्रेसको लोकतन्त्रबाट जनता लाभान्वित हुन पाउँदैनन, उसबाट सामाजिक भेदभाव हट्दैन, आम जनता शोषण र उत्पीडनमा परिरहन्छन्, कुशासनमा कमी आउनुको सट्टा झन् बढ्दै जान्छ, भ्रष्टचार बढ्दै जान्छ र देशको अस्मिता लुटिदै जान्छ, आदि इत्यादी ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula