दक्षिणकालीमा सुर्यध्वजा फहराउँदै शशि शर्मा

प्रकाशित मिति :2017-05-11 11:11:32


काठमाडौं 

काठमाडौंको दक्षिणी नाकामा अवस्थित दक्षिणकाली नगरपालिका सूर्य ध्वजावाहक उम्मेदवार शशि शर्मा अर्याल जनताका घर दैलो धाउँदै हुनुहुन्छ।
साविकका ६ वटा गाविस मिलेर बनेको दक्षिणकाली नगरपालिकामा मेयर पदका उम्मेदवार शर्मासँगै उप मेयरकी उम्मेदवार मिरा आचार्य महर्जन पनि मैदानमा हुनुहुन्छ।

१७ हजार मतदाता रहेको दक्षिणकाली नगरपालिका प्रत्येक मतदातासँग भेटघाट गर्ने अभियानलाई उहाँहरूले तीव्रता  दिइरहनुभएकाे छ । ‘हामी आफ्ना प्रतिबद्धतासहित जनतामा गैरहेका छौं, जनताले हामीलाई भोट दिएपछि गुनासो गर्न अवसर दिने छैनौं, मतको कदर गर्नेछौं’, उप मेयरकी उम्मेदवार मिरा आचार्य महर्जनले भन्नुभयाे ।

उहाँहरूले नगरबस सञ्चालन गर्ने, खेत खेतमा जेटिएको व्यवस्था गर्ने, नगरपालिकालाई पर्यटनको हब बनाउँदै भ्यु टावर निर्माण गर्ने, २ वर्षभित्रै एक घर एक धाराको व्यवस्था गर्ने, नगर एफएम सञ्चालन गर्ने, ५०० जना क्षमताको सभागृह निर्माण गर्ने, स्नातकोत्तर क्याम्पस सञ्चालन गर्ने लगायतका प्रतिबद्धता जनाउनुभएकाे छ ।

त्यस्तै, प्रत्येक नागरिकको स्वास्थ्य बिमा गराउने, नासपति र लप्सीको उत्पादन प्रवद्वनमा विशेष योजना ल्याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएकाे छ ।

उनीहरूले २०५४ सालको स्थानीय निकाय निर्वाचनको नजितालाई पुनः दोहोर्याउनेमा ढुक्क हुनुहुन्छ ।  सो निर्वाचनमा हालको दक्षिणकाली नगरिपालिकामा पर्ने ६ वटा गाविसमध्ये ५ वटामा एमालेले विजय हासिल गरेको थियो । शर्माले तत्कालीन शेषनारायण गाविसबाट अध्यक्षको निर्वाचन जित्नुभएकाे  थियाे । ‘हामी विजयको समिपमा छौं, जनताको उत्साहप्रद सहभागिताले विपक्षीहरूले हार स्वीकार गरिसकेका छन्’, शर्माले भन्नुभयाे ।

नारायण पाैडेल

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula