ललितपुरका नगरपालिका तथा गाउँपालिका भयो एमालेमय

प्रकाशित मिति :2017-05-11 09:17:27

गोदावरी नगरपालिका श्यामकृष्ण सिलवाल, मेयरका उम्मेदवार तारा घिमिरे, उपमेयरका उम्मेदवार

ललितपुर जिल्लामा रहेका गोदावरी र महालक्ष्मी नगरपालिकाका उम्मेदवारले आफूले जनाएका प्रतिबद्धताअनुसार काम गर्ने बताउँदै घरदैलो अभियानलाई तीव्रता दिनुभएको छ ।

स्थानीय निर्वाचनका लागि नेकपा (एमाले) बाट दुई नगरपालिका र तिन गाउँपालिकामा उम्मेदवारले जिल्लाको समग्र विकासका लागि काम गर्दै जाने बताउनुभएको छ । गोदावरी नगरपालिकाको मेयरमा उम्मेदवार श्यामकृष्ण सिलवाल र महालक्ष्मी नगरपालिकाका मेयरका उम्मेदवार रामेश्वर श्रेष्ठ ले आफूले सार्वजनिक गरेको योजनाअनुसारको काम गर्दै जाने जनाउनुभएको छ । दुई नगरपालिकामा एमालेको बहुमत देखिएको छ ।

जित्ने प्रायः निश्चित भएपछि स्थानीय एमाले उम्मेदवारको प्रचारमा अघि बढेका छन् । उम्मेदवारहरूले आफ्नो प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । गोदावरी नगरपालिकाका मेयर सिलवालले १६ योजना सार्वजनिक गर्नुभएको छ ।

 

गोदावरी नगरपालिका क्षेत्रलाई बहुउद्देश्यीय पर्यटकीय तथा शैक्षिक केन्द्रका रूपमा विकास गरेर देशकै नमुना स्मार्ट सिटी बनाउने, नगरपालिका क्षेत्रका सबै बस्तीमा सरकारको मापदण्डअनुसार कालोपत्रेसहितको स्तरीय सडकको पहुँच पु¥याइने, उनले आफ्नो चुनावी प्रतिवर्ष प्रारम्भिकदेखि उच्च तहसम्म निःशुल्क शिक्षासहित शारीरिक तथा बौद्धिक आवश्यकताअनुसारको सुविधा प्रदान गरिने, ‘नगरपालिका क्षेत्रभित्रका दलित, असहाय, सीमान्तकृत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न छात्रवृत्ति कोषको स्थापना गरिने, बज्रबाराही सामुदायिक अस्पताललाई सुविधासम्पन्न ५० शैयामा स्तरोन्नति गर्नुका साथै टौखेल र छम्पीमा २५–२५ शैयाको सामुदायिक अस्पताल निर्माण गरिने, अत्याधुनिक सुविधासम्पन्न व्यायामशाला, ध्यान तथा योग केन्द्र स्थापना गरिनेलगायतका योजना सार्वजनिक गरेका छन् ।

त्यस्तै, धार्मिक वन फूलचोकी, बज्रबाराही, सन्तानेश्वर र लेले मनकामनालाई संरक्षणको नीतिमार्फत पर्यटकीय र धार्मिक गन्तव्यका रूपमा विकास गरिने, ‘नगरका पर्यटकीय स्थलहरूमा सम्भाव्यता अध्ययन गरी केबलकार र व्यक्तिगत तथा सामुदायिक होमस्टे, सुविधासम्पन होटेल तथा रेस्टुरेन्टहरू निर्माण गरी पर्यटनमैत्री बनाउने उल्लेख गरिएको छ । बालबालिका, अल्पसंख्यक, दलित, आदिवासी जनजाति, सीमान्तकृतलगायतको विकासका लागि विशेष कार्यक्रम सञ्चालन गरिने, नगरपालिकाका मुख्य क्षेत्रलाई निःशुल्क वाइफाई जोन बनाउने, ५० प्रतिशतभन्दा बढी स्थानीय कच्चा पदार्थ र रोजगारीमा आधारित सेवा तथा उत्पादन उद्योगलाई छुटको व्यवस्था मिलाउने, ठेचोको नवदुर्गा जात्रा, गोदावरीको कुण्ड मेलाजस्ता १२ वर्षे मेला र स्थानीय जात्रा व्यवस्थापन र संरक्षणमा विशेष नीति बनाएर लागू गर्न पहल गर्ने योजना पनि रहेका छन् ।

माहालक्ष्मी नगरपालिका
रामेश्वर श्रेष्ठ, मेयरका उम्मेदवार
निर्मला थापा, उपमेयरका उम्मेदवार

महालक्ष्मी नगरपालिकाका मेयरका उम्मेद्वार रामेश्वर श्रेष्ठले सार्वजनिक गरेको योजनाअनुसार नगरलाई ‘ग्रिन क्लिन’ नगरका रूपमा विकास गर्ने, मुख्य सडकहरूलाई दुई वर्षभित्र कालोपत्रे गर्ने, नगरपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयको स्तरोन्नति गर्ने र भौतिक संरचना विकास र विस्तार गरी उच्च माविमा परिणत गर्ने, ई–लाइब्रेरी स्थापना गर्ने, सम्पूर्ण विद्यार्थीलाई पाठ्यपुस्तकका साथै क्रमशः ल्यापटपसमेतका अध्ययन सामग्रीका रूपमा उपलब्ध गराउने योजना रहेका छन् ।

प्रौढ महिला, दलित र अल्पसंख्यक जातजातिलाई निःशुल्क शिक्षाको प्रबन्ध मिलाउनुका साथै सीपमूलक, प्राविधिक एवं व्यावसायिक शिक्षाका लागि प्राविधिक शिक्षालय (पोलिटेक्निकल कजेल) स्थापना गरिने, दुई वर्षभित्रमा अत्याधुनिक एवं सुविधासम्पन्न नगरपालिका भवन, सबै वडा कार्यालय भवन, अस्पताल, सामुदायिक सेवा भवन र आवश्यक सुरक्षा चौकीहरू निर्माण गर्ने योजना रहेका छन् ।

महालक्ष्मी नगरपालिकामा १० वटा वडा रहेका छन् । सबै वडामा एमलेको जित प्रायः सुनिश्चित भएको छ ।

सबै वडामा बालगृह, ज्येष्ठ नागरिक आश्रम, तालिम केन्द्र, खेलकुद मैदान तथा प्रत्येक वडामा कम्तीमा एउटा पुस्तकालयको स्थापना गरिने, इमाडोल, टीकाथली, सानागाउँ, लुभु र लामाटारमा २५ शैयाको अस्पताल, दक्ष जनशक्तिको व्यवस्थापन, विपन्न वर्गका लागि निःशुल्क औषधि उपचार, वृद्धवृद्धालाई प्रत्येक तीन महिनामा नियमित र निःशुल्क स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिने योजना सार्वजनिक गरिएको छ ।

त्यस्तै, लामाटार लाकुरी भन्ज्याङलाई केन्द्रबिन्दु बनाएर आन्तरिक र बाह्य पर्यटकका लागि पार्क एवं होमस्टे सञ्चालन गर्नुका साथै लाकुरी भन्ज्याङमा भ्युटावर निर्माण गरिने योजना रहेको छ ।

बाग्मती गाउँपालिका
दुर्गा घिमिरे, प्रमुखका उम्मेदवार
डोमाकुमारी स्याङ्तान, उपप्रमुखका उम्मेदवार
वागमाती गाउँपालिकाले महिला उम्मेदवार बनाएपछि सो क्षेत्रमा सबै एमालेमा हौसला बढेको छ । गाउँगाउँमा महिलादेखि वृद्धवृद्धा सबैले महिला उम्मेदवारलाई विजयी गराउन घरदैलो अभियानलाई तीव्रता दिएका छन् । सात वटा वडा रहेको सो गाउँपालिकामा विकासका अनगिन्ति योजना रहेका छन् । जिल्लाको दुर्गम क्षेत्रमा पर्ने गाउँपालिका भएकाले यो क्षेत्रलाई कृषि र पर्यटकका आधारशिलाका रूपमा विकास गरिने योजना रहेको छ । खानीखोला र बाग्मतीलाई मिलाएर हाइड्रोपावर निर्माण गर्ने, बाग्मती किनाराको क्षेत्रमा मसलाजन्य नगदेबालीको विकास गर्ने, बिदेसिएका युवालाई आफ्नै भूमिमा रोजागारीको सिर्जना गर्ने, बाटोघाटोको विस्तार गर्ने, नजिकको जिल्लासँग हसकार्य गर्ने, वैदेशिक रोजागारीमा गएका युवालाई कृषिमा आधारित रोजगारीको व्यवस्था गर्नेलगायतका योजना रहेको प्रमुख उम्मेदवार दुर्गा घिमिरेले जानकारी दिनुभयो ।

महांकाल गाउपालिका
रामचन्द्र दाहाल, प्रमुखका उम्मेदवार
कमला तामाङ उपप्रमुखका उम्मेदवार
‘हामी जे गर्छौं त्यो भन्छौं ः सेवा गर्ने अवसर दिनुहोस् ः समृद्ध गाउँको अनुभूति लिनुहोस्’ भन्ने मूल नाराका साथ अघि बढेको एमालेको चुनावी प्रचार तीव्र बढेको छ । गाउँपालिका क्षेत्रभित्रका सम्भावना र उपलब्ध अवसरलाई लागू गराउन लागिपरेको उम्मेदवारले जनचाहनाअनुसार काम गर्दै लैजाने बताउनुभएको छ । जिल्लाको समग्र विकासका लागि अहोरात्र खटिँदै आउनुभएका दाहाल एमालेको सक्षम नेताका रूपमा चिनिनुभएको छ ।

२० योजना सार्वजनिक गर्नुभएका मेयर उम्मेदवार दाहालसँग भौतिक पूर्वाधार, पर्यटन, खानेपानी, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि तथा पशुपालन, सञ्चार, खेलकुद, सिँचाइ, धर्म–संस्कृति, सामाजिक सुरक्षा, उद्योग व्यवसाय, विद्युत्, वन तथा वातावरण, कानुन, नियम, नीति निर्माण तथा न्याय सम्पादन, कला साहित्य, प्रहरी, आयस्रोतलगायतका योजना रहेका छन् । महांकाल गाउँपालिकाको मानीखेल, कतुवनबाट, कालेश्वर हुँदै काभ्रे जोड्ने मोटरबाटो कालोपत्रे गरिने, सम्पूर्ण वडाको सम्पूर्ण टोलमा यथाशीघ्र सडक पहुँच पु¥याउने, गोटीखेलको वैतरणीधाम, महांकालस्थान, कालेश्वर महादेवस्थानदेखि कालेश्वरको लोङतुक गुम्बा र मानीखेलसम्मका धार्मिक महत्वका स्थलहरूको एकीकृत धार्मिक पर्यटन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने, चन्दनपुरको गढी, ठूला दुर्लुङको चमेरे गुफा, डढेखोर र खोरभन्ज्याङ तथा कालेश्वरको मृगबिसौना करियाथलीलगायतका प्राकृतिक पर्यटकीय स्थलहरूलाई भ्यु प्वाइन्टका रूपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने, एक गाउँ एक होमस्टे बस्ती निर्माण गर्ने र कम्तीमा पाँच घर होमस्टे भएका स्थानहरूमा फ्री वाइफाई सेवा उपलब्ध गराउने, गाउँपालिकाभित्रका सम्पूर्ण नागरिकहरूलाई स्वच्छ पिउने पानीको व्यवस्था गरिनेछ । गाउँकार्यपालिका क्षेत्रभित्र सामुदायिक विद्यालयका आधारभूत तह (कक्षा १–८ सम्म) अनिवार्य अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गरिने योजना रहेको छ ।

‘एक विद्यालय एक पुस्तकालय’ को अवधारणाअन्तर्गत सबै विद्यालयहरूमा पुस्तकालय स्थापना गरिनेछ र भएकालाई थप व्यवस्थित गराइनेछ । अन्य योजनाहरूमा गाउँपालिकाभित्र २५ शैयाको सुविधासम्पन्न अस्पताल निर्माण गरिने, गाउँपालिकाले संरक्षण र व्यवस्थापन गर्ने अधिकार क्षेत्रभित्र रहेका सार्वजनिक जग्गाहरूमा समेत सम्भावनायुक्त कृषि वस्तुको खेती गरी आम्दानी वृद्धि तथा रोजगारी सिर्जना गरिनेलगायत रहेका छन् ।

त्यस्तै, कागतीलगायतका फलफूलको सम्भावना पहिचान गरी फलफूलको पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिने, चिया, कफी, जडीबुटीलगायतका सम्भावनायुक्त कृषि वस्तुको खेतीमा विशेष सहयोग गरिनेछ । एक गाउँ एक जेटीए तथा पशु चिकित्सकको व्यवस्था गरिने, कृषकहरूलाई पेन्सन दिने नेपाल सरकारको कार्यक्रमलाई यस गाउँपालिका क्षेत्रभित्र विशेष प्राथमिकताका साथ लागू गरिने, साथै उक्त पेन्सनमा थप १० प्रतिशत दिइनेछ । गाउँपालिका क्षेत्रभित्र सञ्चालित सञ्चार माध्यमहरू तथा सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि, विकास र दिगोपनाका लागि सञ्चार संस्थाहरूसँगको समन्वयमा आवश्यक नीति निर्माणमार्फत सञ्चार माध्यम र नागरिक सम्बन्धलाई निकट बनाइनेछ ।

स्थानयि भाषामा समेत नगर तथा वडाका सूचना एवं गतिविधिहरू पु¥याइने, गाउँपालिका क्षेत्रभित्र अप्टिकल फाइबरको व्यवस्थापन गरिने, सहज सिँचाइ सुविधा नपुगेका खेतीयोग्य जग्गाहरूमा लिफ्ट सिँचाइ प्रणालीमार्फत सिँचाइ गरी कृषकहरूलाई आत्मनिर्भर बनाइने, पवित्र धार्मिक स्थल वैतरणी धाममा सुविधासम्पन्न विश्राम घर निर्माण गरिनेछ । ज्येष्ठ नागरिकहरूले तीर्थ, व्रत तथा अन्य धार्मिक कार्यमा आउँदा अल्पकालीन बासको व्यवस्थाका रूपमा विश्राम घर रहने, हरेक टोलमा ज्येष्ठ नागरिक मनोरञ्जनस्थलको निर्माण गरिनेछ । सहकारी तथा कम्पनीको माध्यमबाट सामूहिक बाख्रापालन, गाई, भैंसी पालन, कुखुरा पालन र व्यावसायिक तरकारी खेतीतर्फ बेरोजगार युवाहरूलाई आकर्षित गरी महांकाल गाउँपालिका क्षेत्रलाई आगामी पाँच वर्षभित्र दूध, मासु र १० गुणा आर्थिक वृद्धि गर्ने अवस्थामा पु¥याइनेछ ।

गाउँपालिका क्षेत्रभित्र पर्ने दुर्लुङखोला जलविद्युत् आयोजनालाई स्थानीय समुदायको स्वामित्व रहने गरी सहकारी वा पब्लिक कम्पनी मोडलबाट सञ्चालन गरिने, महांकाल गाउँपालिका क्षेत्रको महाभारत क्षेत्रसँग जोडिएको ठोट्नेखोलामाथिको जंगल, उन्यूचौर, डढेखोर, करियाथली, मृगबिसौना, गढीलेक, सिसवन, कालेश्वर लेकलगायतका जंगल, पर्यटकीय स्थलका रूपमा स्थापित गर्न सकिने सम्भावित स्थान असपासका जंगल, जैविक विविधता, वातावरण एवं जडीबुटी संरक्षणका लागि महत्वपूर्ण रहेकाले सामुदायिक वन उपभोक्ता समूहहरूसँगको सहकार्यमा विशेष वन क्षेत्रका रूपमा विकास गर्दै पर्यापर्यटनको प्रवद्र्धन गरिनेछ । साहित्य, कला र संस्कृतिको जगेर्ना गर्न नेवार, गुरुङ, मगरलगायतका समुदायमा प्रचलित लाखे नाच, रोदी, घाटु नाच, देवी नाच, भजन–कीर्तनको संरक्षण गर्न उचित बजेटको व्यवस्था गरिने, गाउँ सभाले कानुन निर्माण गर्दा हरेक वडाहरूका सबै समुदाय र वर्गका मानिसहरूको भेलाबाट आएका रायसुझावका आधारमा गरिनेछ । समुदाय तहमा हुने विवाद, कलझगडा र मुद्दा मामिलाका सम्बन्धमा विवादको स्थायी रूपले समाधानका लागि सामुदायिक मेलमिलापको नीति अवलम्बन गरिनेछ । त्यस्तै, गाउँपालिकाको आवश्यक सुरक्षार्थ ‘गाउँपालिका प्रहरी संगठन’ निर्माण गरिनेलगायतका योजना सार्वजनिक गरिएको छ ।

कोन्ज्योसोम गाउँपालिका
कृष्णमान लामा, प्रमुखका उम्मेदवार
सुस्मिता दुलाल घिमिरे, उपप्रमुखका उम्मेदवार
पाँच वटा वडा रहेको कोञ्ज्योसोम नगरपालिकामा एमालेको विजय सुनिश्चित देखिएको छ । तामाङको बाहुल्य रहेको सो गाउँपालिकामा एमाले गाउँपालिका प्रमुखका रूपमा रहनुभएका कृष्णमान लामाले आफूले घोषणा गरेको योजना कार्यान्वयन गरेरै छाड्ने बताउनुभयो । थुम्का र तामाङ बस्तीका रूपमा रहेको पर्यटकीय क्षेत्रलाई सांस्कृतिक संग्रहालय निर्माण गर्ने, जंगल, प्राकृतिक स्रोत र साधन उपयोग गरी उद्योग स्थापना गर्ने, गाउँपालिकामा रहेका तामाङ बस्तीका बालबच्चालाई अनिवार्य रूपमा विद्यालय पठाउने, निःशुल्क शिक्षा, खानेपानी मोटरबाटोको व्यवस्था गर्नेलगायत योजना उहाँको रहेको छ ।

 

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula