चितवन काँग्रेस  हंगामा 

प्रकाशित मिति :2017-05-11 20:35:19

भरतपुर
प्रचण्डको छोरीलाई मेयर बनाउन पार्टीले तालमेल गरेकोमा आक्रोशित हुदैं नेपाली काँग्रेस चितवनका अगुवा कार्यकर्ताहरुले पार्टीको आन्तरिक बैठकमा हंगामा गरेका छन् ।
काँग्रेस जिल्ला समितिले महानगरका सबै वडाका अध्यक्ष उम्मेदवार सहित भरतपुरको आईल्याण्ड होटलमा आयोजना गरेको बैठकमा तालमेलले पार्टीलाई ध्वस्त बनाएको भन्दै नारावाजी र नेतृत्वलाई बैठक स्थलमै घेराउ गरेका हुन् ।

जिल्ला सभापति जीतनारायण श्रेष्ठको उपस्थितीमा भएको बैठक चल्नासाथ रुख चिन्ह सहितको टिसर्ट र टोपी लगाएका अगुवा कार्यकर्ता नारावाजीमा उत्रिएका थिए ।

उनीहरुले “यो कस्तो तालमेल ? , आफैलाई सिध्याउने षडयन्त्र हुदा समेत के हेरेर बसेको ?, हसिया हथौडामा कुनै हालतमा भोट हाल्न सकिदैन ” भन्दै हंगामा गरेका थिए ।
नारावाजीमा उत्रिएका मध्ये एक काँग्रेस चितवनका पूर्व कोषाध्यक्ष सुरवीर पोख्रेलले पार्टीका सच्चा कार्यकर्ताले हसिया हथौडामा भोट हाल्न नसक्ने भन्दै आक्रोश पोखे ।

बैठकमा सहभागी चितवन काँग्रेसका पाका कार्यकर्ता भक्ति तिमिल्सिना लगायत बेकारको तालमेल भन्दै बाहिरिए ।

बैठक अत्यन्त गोप्य गरिएको थियो । तर, माओवादीसंगको तालमेलले रुष्ट बनेका स्वयम् बैठकमा सहभागी अगुवा कार्यकर्ताले नै मोवाईलमा खिचेको भिडीयो युट्युवमा सार्वजनिक भएको छ ।

साँझको समयमा बैठकमा देखिएको असन्तुष्टि सहन नसकेपछि काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले रुवावासी गरेका थिए ।

यस वारे नाम नखुलाउने सर्तमा बैठकका एक सहभागीले दिएको जानकारी अनुसार सभापति श्रेष्ठले रुदैं बैठकमा भने– “म अहिले ३८ बर्षको भए म जस्तो युवालाई त चरम पिडा छ पाका पुराना काँग्रेस नेता कार्यकर्तालाई मैले कसरी भनौं हसिया हथौडामा भोट हाल भनेर । ” अव असन्तुष्टि मत्थर भयो भन्दै आशावादी बनेका माओवादी पंक्तिलाई यस घटनाले छाँगोवाट खसेझै बनाएको छ । तल्लो तहमा रहेका काग्रेस समर्थक र कार्यकर्ताको असन्तुष्टि झनै चुलीमा छ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula