रामेछापमा एकछत्र सूर्य चिन्ह

प्रकाशित मिति :2017-05-11 17:13:22


शहिद गंगालाल, राणाविरोधी ‘मकैको खेती’ कविताका रचयिता कृष्णलालदेखि कम्युनिष्ट संस्थापक पुष्पलाललाई जन्माउने रामेछाप यसपालिको स्थानीय निर्वाचनमा एकछत्र सूर्यध्वजामय हुँदैछ ।
एकदिनमा तीन उम्मेदवार छान्दा पनि नेपाली कांग्रेसले मजबुत उम्मेदवार पाउन नसकेपछि मन्थली नगरपालिकामा एमालेको अभूतपूर्व लहर छाएको छ । ०५४ मा जिल्ला विकास समितिमा सभापतिका रुपमा काम गरी जनताको मन जितेका रमेश बस्नेतलाई यसपालि एमालेले नगर प्रमुखको उम्मेदवारका रुपमा खडा गरेको छ भने उच्च सामाजिक छवी निर्माण गरेकी माया कार्की उपप्रमुखकी उम्मेदवार बन्नुभएकाे छ ।
कांग्रेसले एकैदिन तीन उम्मेदवार फेर्नुपर्ने स्थितिका कारण त्यहाँका कांग्रेस कार्यकर्ता निराश छन् । शुरुमा अमेरिकी ग्रीनकार्ड होल्डर युवराज भट्टराई उम्मेदवार तय भए । उजुर पर्ने खतराका कारण मनोनयन दर्ता नगरी उनी पछि हटे । त्यसपछि पूर्वक्याम्पस प्रमुख तथा हाल पनि क्याम्पसको पदपूर्ति समितिमा रहेका गुञ्जबहादुर श्रेष्ठ लाभको पद नत्यागी उम्मेदवार बने । राजीनामा दिने ठाउँ नपाएपछि तीन घन्टाका लागि उम्मेदवार बनेर उहाँ  फिर्ता हुनुभयाे ।

त्यसपछि खडा गरिएका विनोद कार्कीलाई मन्थलीका सक्रिय कांग्रेसहरुले नै चिन्दैनन् ।
अहिले मन्थलीमा एमालेले प्रतिस्पर्धी भेटाउन सकेको छैन । त्यहाँ माओवादी केन्द्रले पूर्वसभासद तारानारायण श्रेष्ठलाई खडा गरेको छ ।
सांगठनिक रुपमा एमाले कमजोर भनिने रामेछाप नगरपालिकामा कांग्रेसका उम्मेदवारले नै एमालेको विजय सुनिश्चित भएको भन्दै बुधबारदेखि नै घरदैलोमा निस्कृयता देखाउन थालेका छन् ।
एमालेबाट नगर प्रमुखको उम्मेदवार बनेका रोशन पाख्रिन र उपप्रमुखकी उम्मेदवार शान्ता सापकोटा दुबैको जित सुनिश्चित भएको घोषणा कांग्रेससम्बद्ध कार्यकर्ताहरुले नै गरेका छन् । प्रमुखका उम्मेदवार पाख्रिन विगत लामो समयदेखि सामाजिक काममा सक्रिय छन् ।
रामेछाप जिल्लाका ८ स्थानीय निकायमध्ये एमालेले दुई बोहक सबै निकायमा आदिवासी, जनजाती समुदायका उम्मेदवार खडा गरेको छ । त्यसमध्ये दुई सुनुवार र चार तामाङ समुदायका उम्मेदवार छन् ।
एमालेले उमाकुण्ड गाउँपालिकाको प्रमुखमा शेरबहादुर सुनुवारलाई खडा गरेको छ । उनी ०५४ मा साविकको प्रिति गाविस अध्यक्षमा निर्वाचित भएका थिए । त्यहाँ एमाले र राप्रपाबीच चुनावी तालमेल छ । उपप्रमुखमा एमालेले राप्रपालाई सहयोग गरेको छ ।
गोकुलगंगा गाउँपालिका प्रमुखमा खड्गबहादुर सुनुवार उपप्रमुख राधिका श्रेष्ठ खडा हुनुभएकाे छ ।  प्रमुखका उम्मेदवार सुनुवार ०४९ र ०५४ को स्थानीय निर्वाचनमा साविकको रस्नालु गाविस अध्यक्ष निर्वाचित लोकप्रिय व्यक्ति हुनुहुन्छ ।
देशकै सबभन्दा बढी सुनुवार समुदायको बसोबास रहेको गोकुलगंगामा एमालेबाहेक कुनै पनि दलले सुनुवार समुदायबाट उम्मेदवार बनाएनन् । गाउँपालिकाभरिका एक्ला सुनुवार उम्मेदवार भएका कारण अहिले खड्गबहादुरको प्रचार गर्न पार्टी र विचार बिर्सिएर देशभरका सुनुवारहरु त्यहाँ जम्मा भएका छन् ।
सोही गाउँपालिकाका बासिन्दा हुनुहुन्छ, एमाले जिल्ला अध्यक्ष शान्ति पौडेल पनि ।
योग्य प्रतिस्पर्धी नपाएका कारण लिखु गाउँपालिकाका प्रमुखका सूर्यध्वजावाहक उम्मेदवार गोविन्द खड्कालाई विजयी भएको घोषणा गर्नमात्र बाँकी छ । गाउँमा एमालेको लहर देखेर कांग्रेस र माओवादी परित्याग गर्ने होडबाजी शुरु भएको छ ।
शालिन महिला अगुवाका रुपमा परिचित दीपशिखा दाहाल उप्रमुखको उम्मेदवार बन्नुभएकाे छ । उहाँकाे पनि जित सुनिश्चित छ ।
एमाले केन्द्रीय सदस्य तथा पूर्वसांसद देवशंकर पौडेल सोही गाउँपालिकाका बासिन्दा हुनुहुन्छ।
खाँणादेवी गाउपालिका प्रमुखका सूर्यध्वजाबहाक उम्मेदवार प्रेम तामाङको स्थिति मजबुत छ । उनी पार्टीको जिल्ला कमिटी उपाध्यक्ष हुनुहुन्छ। । उपप्रमुखकी उम्मेदवार मखमली श्रेष्ठ उत्तिकै मजबुत हुनुहुन्छ ।
एमाले नेताहरु कैलाश ढुंगेल, माधव ढुंगेल, होम बुढाथोकीहरु सोही गाउँपालिकाका बासिन्दा हुनुहुन्छ।।
खाँणादेवी तामाङ बाहुल्या गाउँ हो । त्यहाँ एमाले र कांग्रेसबीच प्रतिस्पर्धा हुँदैछ ।

माओवादीले आफ्नो आधारभूमिका रुपमा प्रचार गर्ने गरेको दोरम्बाका जनता यसपालि सूर्य चिन्ह बोकेर खडा भएका उम्मेदवारलाई मतदान गर्न आतुर छन् । एमालेले दोरम्बा गाउँपालिका प्रमुखमा प्रेम लामालाई उम्मेदवार बनाएको छ भने उपप्रमुखमा सुभद्रा पाठक हुनुहुन्छ।
एमाले र माओवादीबीचमै प्रतिस्पर्धा हुने सुनापाटी गाउँपालिकामा माओवादी कार्यकर्ताहरुको पार्टी परित्याग गर्ने क्रम बढेको छ । माओवादी परित्याग गरी एमाले प्रवेश गरेका प्रदीप योञ्जन नै एमालेको सूर्यध्वजाबाहक उम्मेदवार भएपछि त्यहाँ सूर्यका पक्षमा अभूतपूर्व जनलहर सिर्जना भएको छ । उपप्रमुखका रुपमा पासाङ डोल्मा तमाङ मजबुत उम्मेवारका रुपमा प्रस्तुत हुनुभएकाे छ ।
माओवादीले पार्टी पोलिट्ब्युरो सदस्य धावा लामालाई गाउँपालिका प्रमुखको उम्मेदवार बनाएको छ । तर, माओवादीका नेतैनेता भएका उक्ता गाउँपालिकामा सामाजिक प्रतिष्ठा आर्जन गरेका माओवादी नेताहरु सबै एमाले प्रवेश गरिसकेका छन् ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula