मधेसको तथाकथित झन्डा बोकेर काठमाडौंमा सत्ताको दलाली नगर : सचिव भट्टराई

प्रकाशित मिति :2017-05-10 20:20:21

काठमाडौं

नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेसको तथाकथित झन्डा देखाएर काठमाडौंमा सत्ताको दलाली एमालेलाई अस्वीकार्य भएको बताएका छन् । उहाँले  मधेसका समस्यालाई बेवास्ता गर्दै सत्ता प्राप्तीका लागि बार्गेनिङ नगर्न चेतावनी दिनुभयो ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ गोठाटारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भट्टराईले एमालेलाई दश वर्ष सरकार चलाउन दिए मुलुकको कायापलट गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई दश वर्ष सरकार चलाउन दिनुस्, हामीले गरेका सबै प्रतिबद्धता पुरा गर्छौं र मुलुकको कायापलट गर्छौं” । देशमा विकासको लहर र जनतामा उत्साहको सञ्चार एमालेले नै गरेको उहाँले बताउनुभयो । वृद्ध, महिला, दलित, जनजाति तथा सबै वर्ग र समुदायको प्रतिनिधित्व एमालेले मात्रै गर्ने उल्लेख गर्नुृभयो ।

स्वाभिमान र स्वतन्त्रताको प्रतिनिधित्व एमालेले मात्रै गर्ने गरेको बताउँदै  उहाँले जनताको भावनाको कदर गर्दै देश बचाउन एमाले मियो बनिरहने प्रतिवद्धता जनाउनुभयो । कठिन परिस्थितिमा  देश बचाउने एमालेलाई जनताको साथ रहिरहेको बताउनुभयो ।

उहाँले हिमाल र पहाड छुट्याउने षड्यन्त्र एमालेले कहिल्यै पुरा हुन नदिने बताउनुभयो । काँग्रेस माओवादीको त्यस्तो योजना विफल बनाउन र स्वभिमान कायम गर्न एमालले कुनै कुरामा सम्झौता नगर्ने दोहोर्याउनुभयो ।

वर्तमान समयमा राष्ट्रियता र स्वाभिमान सङ्कटमा परेकोले त्यसलाई बचाउन एमाले नभई नहुने भट्टराईले बताउनुभयो । संविधान संशोधनका नाममा प्रचण्ड र देउवाले देशलाई विखण्डनको दिशातर्फ अघि बढाएको उहाँको भनाई थियो । “हिमाल पहाडबाट तराई अलग गरेर कस्तो देश बनाउनु खोज्नुभएको हो ?” भट्टराईको प्रश्न थियो । विखण्डनकारी शक्तिलाई साथ दिने प्रचण्डको भूमिकाले देश सङ्कटमा परेको बताउँदै माओवादी कार्यकर्ताले सचेत हुने बेला अएको बताउनुभयो । एमाले रहुञ्जेल मधेस पहाड छुट्याउन नदिने सचिव भट्टराईले स्पष्ट पार्नुभयो ।

देशमा पहिलोपटक महिला प्रधानन्यायधिश भएको पनि काँग्रेस -माओवादीले देखिनसहेको उहाँले बताउनुभयो । देशलाई अहिलेको जस्तो अवस्थामा ल्याउन सबैभन्दा धेरै काँग्रेसको जिम्मेवारी रहेको उहाँको भनाई थियो । काँग्रेसले बेचेका देशका ठुला र प्रतिष्ठित उद्योग कलकारखानाको उदाहरण दिँदै देशलाई गरिबीतर्फ धकेल्ने र युवाहरूलाई प्रचण्ड गर्मीमा मजदुरीका लागि खाडी पठाउन बाध्य काँग्रेसले बनाएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “एमालेले नौ महिना सरकार चलाउदा देशमा विकासको ढांचा र नेपालीको सामाजिक सुरक्षाको क्षेत्रमा उल्लेख्य काम गरेको छ । हामी यो देशको काँचुली फेर्छौं ।”

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकामा एमालेकातर्फबाट मेयरका उम्मेदवार कृष्णहरी थापाले एमालेले कागेश्वरी मनोहरा नगरपालिकालाई नमुना नगर बनाउने र यहाँका बासिन्दाको आर्थिक र समाजिक रूपान्तरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula