महाअभियोग फिर्ता लिन ओलीको आग्रहमा देउवा सकारात्मक

प्रकाशित मिति :2017-05-10 16:15:29

काठमाडौं : प्रधानन्यायाधिश सुशिला कार्कीमाथिको महाअभियोग प्रस्ताव फिर्ता लिन एमाले अध्यक्ष केपी ओलीले गर्नुभएको सुझावमा आफु सकारात्मक भएको कांग्रेस सभापति शेरबहादुर देउवाले बताउनुभएको छ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न देउवा बुधबार ओली निवास बालकोट पुग्नुभएको थियो ।

महाअभियोग प्रस्ताव फिर्ता लिए राजनीतिक वातावरण सहज बन्ने ओलीको सुझाव थियो । सत्तारुढ दलहरुका अदुरदर्शी निर्णय र प्रस्तावले राजनीतिक वातावरण बिग्रिएको ओलीको भनाई थियो । प्रतिपक्षी दलको असहमतिका वाबजुद सरकारले असंवैधानिक ढंगले संविधान संसोधन प्रस्ताव ल्याएको र पछि आफै ‘ब्याक’ हुनुपरेको ओलीले देउवालाई संस्मरण गराउनु भएको थियो ।

‘हामीले संसोधन नल्याउनुस, असंवैधानिक हुन्छ भनिरहेकै थियौं, तपाईंहरुले जबर्जस्ती ल्याउनु भयो, चार महिनासम्म त्यसमै हल्लिएर पछि आफैं फिर्ता गर्नु भयो’ ओलीले देउवासँग भन्नुभयो, ‘फेरि पछि अर्काे संशोधन प्रस्ताव ल्याउनु भो, मतदानमा लगेर बहुमतबाट पास गरेर देखाउँछौं पनि भन्नु भयो । तर, मतदान गर्ने दिन आएर रोक्नु भयो ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेसले राजनीतिक सुझबुझ नपु¥याएका कारण पटक–पटक यस्ता घटना दोहरिरहेको ओलीको भनाई थियो ।

पछिल्लो पटक प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्ध महाअधियोग ल्याएर सरकारले अर्को दुर्घटना निम्त्याएको ओलीको भनाई थियो । महाअभियोगले नेपालप्रति संसारमै नराम्रो सन्देश गएको हुँदा त्यसप्रति सजग हुन उहाँले देउवालाई आग्रह गर्नुभएको थियो । महअभियोग फिर्ता लिएर स्थितिलाई सहज बनाउन ओलीको आग्रह थियो । ‘प्रधानन्यायाधीशविरुद्ध असान्दर्भिक र अनावश्यक ढंगले महाभियोग ल्याउनु भयो, यसले अन्तर्राष्ट्रिय रुपमा नेपालप्रति राम्रो सन्देश गएको छैन् । सजग हुनुहोस, महाअभियोग फिर्ता लिएर स्थिति सामान्य बनाउनुहोस’, ओलीको आग्रह थियो ।

धेरैबेर कुरा सुनेर बसिरहेका देउवाले ओलीको कुरा काट्न सक्नुभएन् । उहाँले महाअभियोग फिर्ता लिने विषयमा आफु सकारात्मक रहेको बताउनुभयो । ‘महाअधियोग फिर्ता लिने विषयमा म सकारात्मक छु, कसरी के गर्ने विस्तृत छलफल गरेर अगाडी बढ्न सकिन्छ’, स्रोतका अनुसार देउवाको भनाई थियो ।
दुई नेताबीच एमाले कार्यकर्ताहरुमाथि भएका आक्रमण, दोस्रो चरणको निर्वाचन, मतगणना लगायतका विषयमा पनि छलफल भएको ओलीको सचिवालयले जनाएको छ । भेटमा अध्यक्ष ओलीले दोस्रो चरणको निर्वाचन बजेट अगावै ल्याउन पनि आग्रह गर्नुभएको थियो । ओलीलाई भेट्न देउवा बिहान ११ बजे ओली निवास पुगेका थिए ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula