‘एमालेको अजुर्नदृष्टि महानगरको समृद्धि’

प्रकाशित मिति :2017-05-09 16:54:35

पोखरा ।

स्थानीय तहको निर्वाचनमा आफ्नो पक्षमा मत माग्न नेकपा (एमाले) का उम्मेदवार यतिबेला घरदैलोका साथै चुनावीसभामा व्यस्त छनुहुन्छ ।

पोखरा महानगरपालिकामा एमालेबाट मेयर, उपमेयर, वडाध्यक्ष र सदस्य पदमा उम्मेदवारसहित नेता कार्यकर्ता सक्रियरूपमा मतदातासमक्ष मत माग्न पुगिरहनुभएकाे छ ।

ने मेयर पदका उम्मेदवार मानबहादुर जिसी र उपमेयर पदका उम्मेदवार मञ्जुदेवी गुरुङ चुनावी तालिका बनाएर भोटमाग्न व्यस्त हुनुहुन्छ ।

सोमबार उनाँहरूले वडा नम्बर २, २४, १८ र ४ नम्बर वडामा पुगेर एमालेलाई जिताउन आग्रह गर्नुभयो ।

पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार मानबहादुर जिसीले मयेर पदमा विजयी भएपछि अर्जुनदृष्टि लगाएर महानगरलाई समृद्ध बनाउन लागिपर्ने बताउनुभयो ।

‘एमालेको अर्जुनदृष्टि पोखरा लेखनाथको समृद्धि’, उहाँले भन्नुभयो, ‘विकासको असमानता भएको हाम्रो महानगरमा समानुपातिक विकास आवश्यक छ, त्यसका लागि योजना बनाएरै काम गर्छु ।’

चुनावी प्रचारप्रसार कार्यक्रम अन्तर्गत पोखराको वडा नं. २४ र १८ मा भएका सभा तथा घरदैलो कार्यक्रममा उहाँले पोखरा महानगरमा भगौलिक चुनौती रहेकाले गाविसबाट सिधै महानगरका वडा बनेका ठाउँमा आधारभूत आवश्यकताका पूर्वाधार निर्माण गरी महानगरको सेवा अनुभूति हुनेगरी काम गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

कास्कीकोट र सराङकोटमा पर्यटनको प्रचुर सम्भावना भएकाले पर्यटक एरिया बनाएर पर्यटनको पूर्वाधार निर्माणमा जोड दिने बताउने उहाँले पोखरालाई आगामी २५ वर्षमा अन्तर्राष्ट्रिय सहर बनाउने एमालेको घोषणालाई महानगरबासीले साथ दिनेमा आफू विस्वस्त रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा उपमेयरका उम्मेदवार मञ्जुदेवी गुरुङले पोखराका सबै वडालाई सडक सञ्जालले जोड्न प्राथमिकता दिने जानकारी दिँदै नेकपा एमालेले अघि सारेको ‘समृद्ध देश र सुखी जनता’ को नारालाई साकार पार्न मतदाताले आफूलाई मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

आफू पोखराको विकास र समृद्धिका लागि समर्पित रहेको र यस महानगरपालिकालाई नेपालमै उदाहरणीय बनाउने उहाँले बताउनुभयो ।

‘हाम्रो महानगरपालिका सबैभन्दा ठूलो हो’, उहाँले भन्नुभयो, ‘समानुपातिक विकास योजना तय गरेर उत्कृष्ट महानगरपालिका बनाउन आवश्यक छ ।’

उहाँले पार्टीले तयार पारेको पोखरा महानगरपालिकाको घोषणापत्रमा समेटिएका विषय र योजनालाई लागू गराउने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो– ‘महिला, बालबालिका, युवा सबैलाई समेटेर विकासमा लाग्ने छु, महानगरको विकासका लागि कुनै कसर बाँकी राख्नेछैन ।’

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सीता गिरी ओलीले स्थानीय तहको योजनाबद्ध विकासको खाका एमालेसँग मात्र रहेको दाबी गर्दै एमालेका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । उहाँले जनतालाई सुशासनको प्रत्याभूति दिलाउनेगरी एमालेले काम गर्ने बताउनुभयो ।

एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले विश्वका नाम चलेका सहर जस्तै पोखरालाई व्यवस्थित बनाउने महत्वकांक्षा राखेर काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

त्यस अवसरमा वडा नम्बर २ का अध्यक्षका उम्मेदवार दीनानाथ सुवेदी, १८ का अध्यक्ष रणबहादुर थापा, २४ का अध्यक्ष ओमप्रसाद सुवेदी र ४ का अध्यक्ष कृष्णप्रसाद पराजुली ढाकामोहनले वडाको विकासमा लागिपर्ने प्रतबद्धता व्यक्त गर्नुभयो ।

चुनावी प्रचार अभियानमा एमाले प्रदेश कमिटीका सदस्य श्रीनाथ बराललगायतका नेता, कार्यकर्ता पनि उम्मेदवारसँगै सहभागी हुँदै आउनुभएको छ । जिसी र गुरुङले मंगलबार ५, ७, ८, ९, र १० नम्बर वडाका चुनावी कार्यक्रममा सहभागी हुनुहुनेछ । उहाँहरूसँगै सम्बन्धित वडा अध्यक्षका उम्मेदवार, सदस्यका उम्मेदवार र नेता, कार्यकर्ता पनि प्रचारप्रसारमा हिड्ने छन् ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula