हाम्रो जित सुनिश्चत छ

प्रकाशित मिति :2017-05-09 12:17:35

मेयर लालमणि चौधरी, उपमेयर सुनिता थपलिया, खैरहनी नगरपालिका

चितवनको खैरहनी नगरपालिकामा नेकपा एमालेको विजय सुनिश्चित जस्तै छ । एमालेले मेयर र उपमयेरमा जसलाई उम्मेदवार बनायो त्यसका कारण पनि एमालेको जीत सुनिश्चित बनेको हो । मेयरका उम्मेदवार लालमणी चौधरी र उपमेयरकी उम्मेदवार सुनीता थपलिया स्थानीय तहमा लोकप्रीय नेता हुन् ।

चौधरी गाविस अध्यक्ष हुँदै २०६४ सालको अत्यन्तै प्रतिकूल अवस्थामा पनि संविधानसभा निर्वाचनमा विजयी हुनुभएको थियो । त्यस्तै उपमेयर पदका उम्मेदवार सुनिता थपलिया सामाजिक काममार्फत स्थानीय जनताबीच चर्चित हुनुहुन्छ ।  मेयर र उपमेयरमा निर्वाचित भएपछि खैरहनी नगरपालिका बनाउने योजना के छ भन्ने विषयमा केन्द्रित रहेर उहाँहरुसँग रातो सूर्यले गरेको संक्षिप्त कुराकानी ।

खैरहनी नगरपालिकाको विकासका लागि तपाईहरुको योजना के छ ?
खैरहनी कृषि, पर्यटन, व्यापार व्यवसायलगायत सबै किसिमको सम्भावना भएको नगरपालिका हो ।  यस नगरपालिकालाई कृषिमा आधुनिकीकरण गरी नगरवासीको आयआर्जनमा वृद्धि गरी समृद्ध नगर बनाउने योजना छ । त्यस्तै यस नगरपालिकाभित्र चितवन राष्ट्रिय निकुञ्ज पनि पर्छ । तसर्थ खैरहनी नगरपालिका पर्यटन विकासको हिसाबले अत्यन्तै संभावना बोकेको नगरपालिका हो ।

हामी पर्यटनको विकासबाट जनताको जीवनस्तर उकास्ने कुरामा पूर्ण रुपमा लाग्नेछौ ।
यसैगरी शिक्षाको हब बन्दै गएको चितवन पचहत्तरै जिल्लाका विद्यार्थीहरुको आकर्षणको केन्द्र बन्दै गएको छ । यसलाई व्यवस्थित गर्दै हामी स्वास्थ्य र शिक्षामा नेपालकै एक नम्बरको जिल्ला बनाउनेछौं । विशेष गरी हामीले राप्ती खोलाको बाँधलाई हामी केही वर्ष भित्रमै सौराहासम्म पु¥याउछौं र चितवनको जनतालाई ढुक्कसँग निन्द्रा लाग्ने वातावरण बनाउछौं । बाढी पहिरोबाट हुने क्षतीलाई पूर्णरुपमा निर्मूल पार्ने काममा पनि लागिरहेको छौं ।

तपाइहरुले स्मार्ट सिटीको कुरा गर्नुभएको रहेछ, केहो स्मार्ट सिटीको अवधारणा ?
हामी यो नगरपालिकालाई पाँच वर्षभित्रमा स्मार्ट सिटी बनाउनेछौं । स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, सरसफाई , खानेपानी, सिंचाई रोजगारीको अवसर लगायतका अत्यावश्यक आधारभूत आवश्यकताहरुको पूरा गर्दै स्मार्ट सिटी बनाउनेतर्फ हामी लागिरहेका छौं ।

विशेष गरी महिला, बालबालिकाको अधिकारको विषयमा यहाँको भनाई के छ ?
महिला अधिकारको विषय हामी नाराका लागि, क्षणिक लोकप्रीयताका लागि मात्र गर्दैनौं । हामीसँग महिलालाई अधिकार सम्पन्न बनाउने थुप्रै योजना छन् । त्यस्तै युवालाई आत्मनिर्भर बनाउने, बालबालिकाको स्वास्थ्य, शिक्षा, पोषणको सुनिश्चितता गर्ने कार्यक्रम पनि छन् ।

वृद्धवृद्धाका लागि हेरचाह केन्द्र बनाउनेदेखि महिलालाई स्वरोजगार र व्यावसायिक बनाउने कुरामा हामी लागिरहेका छौं र लाग्नेछौं । कृषिको उत्पादन वृद्धिका लागि मल विउबिजनको सुविधा, उत्पादित कृषि उपजलाई बजारको व्यवस्था र आधुनिक खेतीका लागि पनि हामी विशेष रुपमा लागेका छौं ।

जितको सुनिश्चिता कति छ ?
हाम्रो जित सुनिश्चित छ । हामी पुराना अनुभवी विभिन्न तह र तप्कामा रहेर काम गरिरहेका व्यक्ति हौं । हामी जनताको भावना बुझेका अनुभवी उम्मेदवार पनि हौं । हामी जनताले रुचाएका छौं । हामीले जितिसक्यौ भन्दा पनि हुन्छ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula