भौतिक विकासको मुख्य आधार, बुढानीलकण्ठका सवै सडक सुधार

प्रकाशित मिति :2017-05-09 09:45:05

काठमाडौं ।
नेकपा (एमाले) का तर्फबाट बुढानीलकण्ठ नगरपालिकाको मेयर पदका उम्मेद्ववार उद्धव खरेल साधारण जीवनशैली र सृजनशील ब्यक्तित्वका रुपमा चिनिन्छन् । लामो समय जनप्रतिनिधिका रुपमा जनसेवा गरेका खरेल अन्य दलका प्रत्यासी भन्दा अनुभवी र सक्रिय ब्यक्ति हुन् ।

१६ बर्ष शिक्षण पेशा गरी २०५४ मा चपली गाउँ विकास समितिको अध्यक्ष भएर सफल जनप्रतिनिधिको भूमिका पूरा गर्नुभएका खरेललाई एमालेले बुढानीलकन्ठ नगरपालिकाको मेयरका रुपमा अगाडि सारेको छ । जनप्रतिनिधिको रुपमा काम गरेका खरेललाई एमालेले मेयरका रुपमा अगाडि सारेको छ तर अरु पार्टीका उम्मेदवारसँग जनप्रतिनिधिको अनुभव छैन । उपमेयरमा एमालेले रमा राईलाई उम्मेदवार बनाएको छ । राई शिक्षा क्षेत्रमा लामो समय क्रियाशील रहेकी महिला हुनुहुन्छ ।

उपमेयरमा अरु उम्मेदवारको तुलनामा उहाँ सक्षम मानिनुहुन्छ । नेपालको इतिहासमा पहिलोपटक सम्पन्न हुन गईरहेको स्थानिय तहको निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकामा नेकपा एमालेको स्थिती निकै मजबुत देखिएको छ । नेकपा एमालेले छनौट गरेका उम्मेदवारहरुको छवि, क्रियाशिलता, विगतको भूमिका र आगामी दिनमा गर्ने कार्यको स्पष्ट खाकाको प्रस्तुतीले नेकपा एमालेलाई विजयको नजिक पु¥याएको छ ।
विभिन्न वडाहरुको स्थलगत अवस्थाको अध्ययन गर्दा १३ वटै वडाहरुमा नेकपा एमालेले विजय प्राप्त गर्ने देखिएको छ । यस नगरपालिकाको करिब एक तिहाई मतदाता रहेका वडा नं. १०, ११ र १२ मा वडाध्यक्षका उम्मेदवारहरु नवराज भट्टराई, राजु अधिकारी र शम्भु भट्टराई निकै अगाडी देखिएका छन् भने वडा नं. १३ मा श्रीकृष्ण श्रेष्ठको जीत निश्चित प्रायः छ । नेकपा एमालेले कपनबाट बौद्धिक एवम् सक्रिय महिला रमा राईलाई उपमेयर पदमा उम्मेदवार बनाउनु पनि एमालेको बुद्धिमतापूर्ण निर्णय देखिन्छ ।

अन्य वडाहरुमा पनि नेकपा एमालेका उम्मेदवारहरु निकै अगाडी देखिएका छन् । जसले गर्दा नेकपा एमाललेले मेयर, उपमेयरसहित बहुमत वडाहरुमा विजय प्राप्त गर्ने निर्वाचन परिचालन कमिटीका संयोजक सुन्दर पुर्कुटीले बताउनुभयो ।  स्थानीय तहको निर्वाचनको चर्चा चलेदेखि नै उनले नगर विकासका लागि आफ्नो सोच सर्वजनिक गर्दै आएका थिए ।

छिटोछरितो सेवा पारदर्शी प्रशासन भन्ने नारा उहाँले अगाडि सार्नुभएको छ । एमालेको पहिलो काम जनतालाई सुशासन दिने हुनेछ । नगरपालिकाका कार्यालयहरूबाट दैनिक रुपमा जनतालाई प्रदान गरिने सबै खालका प्रशासनिक सेवा, सिफारिस, सुनुवाई, राजस्व कारोबार, मुस्कानसहितको सेवाप्रवाह दिनदिनमा हैन, छिनछिनमा गर्ने छ, खरेल भन्नुहुन्छ ।

नगर विकासको मुख्य आधार, दिगो योजनासहितको भौतिक पूर्वाधार अन्तर्गत बुढानीलकन्ठ नगरपालिका विकासको लागि आवश्यकता अनुसार गरिने भौतिक पूर्वाधार निर्माण जस्तैः घर, भवन, सडक, पुल, मठ, मन्दिर, ढल निकास व्यवस्था, विकास आयोजना, वस्ती व्यवस्थापन योजना, बजार, सार्वजनिक निर्माण कार्यहरू, दीर्घकालीन सुरक्षा, दिगो संरक्षण, पछिल्ला विकासमा समस्या नहुने, दिगो र दीर्घकालिन सोंचसहित दिगो मापदण्ड, नगर विकासको गुरुयोजना निर्माण गरी साधनस्रोतको उपलब्धता र प्राथमिकताको आधारमा क्रमशः दु्रत गतिमा संचालन गर्ने नीति लिइनेछ ।

भौतिक विकासको पहिलो नारा, जतिसक्दो छिटो घरघरमा धारा अभियान खरेलले अगाडि सारेका छन् । भौतिक विकासको पहिलो शर्त पिउने पानीको व्यवस्था हुनुपर्दछ भन्ने कुरालाई मनन गर्दै पानी विना मानिसको जीवन र विकास कल्पना गर्न सकिंदैन । स्थानीय तह निर्वाचनपछि सबैभन्दा पहिलो पूर्वाधार विकासको काम पानीको आवश्यकता, स्रोतको पहिचान, वितरण प्रणाली र बजेटको व्यवस्था सहितको योजना बनाई पिउने पानीको समस्या न्यूनीकरण गर्दै ५ वर्ष्भित्र जनसहभागिता समेतमा नगरको हरेक घर घरमा पिउने पानी व्यवस्था मिलाउनु नगरपालिकाको दोस्रो मुख्य काम हुनेछ ।

यसका अतिरिक्त नगर विकासको मुख्य आधार, सबै वडामा दिगो र फराकिलो सडक सुधार अन्तर्गत नगरका ६ वटै गाउँ जोड्ने चक्रपथ बनाउने योजना पनि अगाडि सारिएको छ । तीन वर्षभित्र नगरबस चलाउने खरेलको योजना छ ।

नेपालको राजधानी काठमाडौं महानगरसँग जोडिएको यस नगरपालिकाको वडाहरुको हरेक भुगोलमा आवश्यकता र सडक गुरुयोजना र मापदण्डअनुसार सडकको योजना निर्माण गरी केन्द्र र संघीय सरकार समेतको सहयोगमा आवश्यकता र प्राथमिकताको आधारमा क्रमशः सडक निर्माण र विकास गरिने नीति लिइनेछ । नगरको पूर्वी भेग वडा नं. ११, १२ देखि वडा नं. ४, ५ र ६ जोड्ने तेर्साे सडक र उत्तर दक्षिण जोड्ने सडक मार्ग विकास गर्नेछ । उद्यमशिलता, स्रोतको सदुपयोग, कृषि उत्पादन र बजार आयमूलक पर्यटन पूर्वाधार, समृद्धिको मुख्य आधारको नारा खरेलको छ ।

नगरभित्र रहेका परम्परागत हरियालीलाई स्थानीय नगरबासीको सहयोग र सक्रियता जुटाउने नीति बनाई बाँकी रहेका सार्वजनिक जग्गाहरुमा रुख विरुवा लगाउने, संरक्षण गर्ने र आवश्यकता अनुसार उपयोग समेत गर्नसक्ने कार्यक्रम लागू गर्ने नीति बनाइने छ । नगरभित्रका सार्वजनिक जंगल संरक्षण गरी जथाभावी स्वीकृति बिना रुख काट्ने कुरामा कडा नीति अवलम्बन गरिने छ । नगरको वडा नं. ९, १०, ११ मा हरियाली क्षेत्र केही कम भएतापनि बाँकी ९ वटा वडामा रहेका प्रशस्त सार्वजनिक जग्गाहरुमा धेरै भन्दा धेरै हरियालीका योजना बनाई कार्यान्वयन गरिने छ । सार्वजनिक जग्गा नभएको वडामा एक घर कम्तीमा दुई रुख लगाउने नीति लागू गरिने छ ।

समृद्धिको मुख्य आधार पर्यटन विकासको पूर्वाधारको अभियान पनि खरेलले सुरु गर्ने भएका छन् । बुढानीलकण्ठ राजधानी काठमाडौंको शीर अग्ला भिराला रमणीय क्षेत्र भएकाले यसलाई काठमाडौंकै पर्यटकीय शहरको रुपमा विकास गरी समृद्धिको आधार बनाउन हिन्दु धर्म सम्बन्धी धार्मिक क्षेत्रहरु बुढानिलकण्ठ मन्दिर, विष्णुमतिको शिर विष्णुपादुका क्षेत्र, शिवपुरी शिखर क्षेत्र, बागद्वार क्षेत्र, रुदे्रश्वर, नौलिङ्गेश्वर भद्रकाली क्षेत्र प्रवद्र्धन र प्रचारप्रसार गरिनेछ ।

नगरभित्र रहेका ऐतिहासिक गुम्बा क्षेत्रको बारेमा प्रवर्धनात्मक कार्य र प्रचारप्रसार गरी आन्तरिक र बाह्य पर्यटक वृद्धि गर्नेछ । यस क्षेत्रमा आउने पर्यटकहरुलाई बस्ने र रमाइलो लिनसक्ने पूर्वाधार होटल, रिसोर्ट, होमस्टेको निर्माणमा निजी क्षेत्रलाई विशेष आकर्षण र सहुलियतसहित योजना लागू गर्नेछौं । नगरपालिकाभित्र दमकल, अग्नी नियन्त्रक, एम्बुलेन्स साथै राहत उद्धारसहितको औजार मेशिन र सामग्रीहरुको भण्डारण, विपद व्यवस्थापन कोष व्यवस्था, सचेतना अभियान सहितको विपद् व्यवस्थापन र दक्ष स्वयंसेवक समूह निर्माण गरी कुनै पनि बेला उद्धारमा खटाउन सकिने योजना बनाई लागू गरिनेछ । विष्णुमति, धोवीखोला, रुद्रमति लगायतका खोलाहरुमा ढल निकाससहितको कोरिडोरको मापदण्ड तोकी निर्माण कार्य अघि बढाइनेछ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula