काठमाडाैंका लोकप्रिय युवानेता सानुराजा शाक्य एमालेमा

प्रकाशित मिति :2017-05-08 13:22:03

काठमाडौं ।

संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा उपत्यकाको नेवार समुदायका सुपरिचित नेता सानुराजा शाक्य एमालेमा प्रवेश गर्नुभएको छ । 


एमालेका काठमाडौं महानगरपालिकाका प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यको सोमबार बिहान सुरु भएको बृहत् घरदैलो कार्यक्रमको लगनबाट आरम्भ गर्ने कार्यक्रममा नेता शाक्य एमालेमा फर्कनुभएको हो ।

लामो समय एमालेमै रहेर राजनीति गर्नुभएका काठमाडौं महानगरपालिका वडा नम्बर २१ का बासिन्दा शाक्यलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा ओढाई पार्टी प्रवेश गराउनुभयो ।

करिब चार वर्षअघि अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा लाग्नुभएका शाक्य हाल संघीय समाजवादी फोरममा हुनुहुन्थ्यो । लोकप्रिय युवा नेता शाक्य संघीय समाजवादी फोरमबाट महानगरपालिकाको प्रमुखमा उम्मेदवार बन्ने चर्चामा हुनुहुन्थ्यो ।

बिहान लगनमा आयोजित कार्यक्रममा नेता शाक्यले एमालेमा आफ्नो हक रहेको बताउँदै बिनासर्त एमालेमा फर्केको बताउनुभयो ।

काठमाडौं महानगरपालिकाको प्रमुखमा विद्यासुन्दर शाक्यलाई उम्मेदवार बनाएपछि अब एमालेसँग आफ्नो कुनै गुनासो नभएको उहाँले बताउनुभयो ।

सो अवसरमा एमाले अध्यक्ष ओलीले शाक्यलाई एमालेको निर्वाचन चिह्न सूर्यको झन्डा हस्तान्तरण गरी निर्वाचनमा एमालेको विजयका लागि प्रचारमा लाग्न आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले महानगरको निर्माण र नवनिर्माणका लागि विगतमा वडाध्यक्ष निर्वाचित भई अनुभव हासिल गरिसक्नुभएका विद्यासुन्दर शाक्यलाई एमालेले उम्मेदवार बनाएकाले उहाँलाई जिताउने अभियानमा अन्य दलमा रहेका नेता कार्यकर्तालाई समेत लाग्न, एमालेमा आउन आह्वान गर्नुभयो ।

आफू घर फर्केको बताउन चाहने सानुराजा शाक्यले अब विद्यासुन्दर र देशभरका एमाले उम्मेदवार लागि निर्वाचनमा विजयी बनाउने अभियानमा लाग्ने बताउनुभयो ।

(तस्वीर -अानन्दराम डंगाेल)

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula